• १५ असार २०८१, शनिबार

ज्योतिनगरको पहिरो उम्मेदवारको चुनावी एजेन्डा

blog

पविता पौडेल 

सैनामैना, कात्तिक २७ गते । बुटवल ज्योतिनगरको पहिरो प्रत्येक चुनावमा नेताहरूका लागि भोट माग्ने मुख्य एजेन्डा बन्ने गरेको छ। चुनावका बेला नेता तथा उम्मेदवारहरूले बोल्ने शब्द ज्योतिनगरको पहिरो रोकथाम नै हुने गरेको छ। 

चुनावी कार्यक्रम तथा घरदैलोमा जाँदा उम्मेदवारले बुटवलवासी मतदातासँग गर्ने प्रतिबद्धताको शब्द नै पहिरो रोकथाम हुन्छ। सोही पहिरो मुख्य एजेन्डा बनाएर यसै क्षेत्रबाट नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री  विष्णुप्रसाद पौडेल पटक पटक निर्वाचित हुनुभयो। तर पनि समस्या जस्ताको त्यस्तै रहेको स्थानीयवासी बताउँछन्। २०५५ सालमा ज्योतिनगरमा ठूलो पहिरो गयो, १५० घरमा पूर्ण रूपमा क्षति पुग्यो। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले केही घरपरिवारलाई रुपन्देही तामनगर सुकुम्बासी बस्तीमा व्यवस्थित गरेको थियो। 

उहाँले पहिरो रोकथामका लागि तारजाली तथा तटबन्धन गर्न निर्देशन दिनुभएको थियो। सोहीअनुसार काम पनि भयो तर पनि समस्या ज्युँका त्युँ नै रहेको छ। सो कामले पहिरोलाई दीर्घकालसम्म छेक्न सकेन।

२०७७÷७८ सालमा फेरि ठूलै पहिरो झ-यो र बस्ती डुब्यो। पहिरो रोकेर पनि नरोकिने भएकाले विस्थापितलाई सरकारले व्यस्थित गर्नुपर्ने तर्क गर्दै स्थानीय अमृत श्रेष्ठको छ। “त्यहाँ बस्ने स्थिति छैन बरू बसाइँ सरेर अन्यत्रै गएपछि राहत पाएको छु। नेताहरूले चुनावका बेला मात्र पहिरोपीडितलाई सम्झिन्छन् र व्यवस्थित गर्ने आस्वासन दिन्छन्” पहिरोपीडित श्रेष्ठले थप्नुभयो। २०७७/७८ मा नेकपा एमालेको नेतृत्वमा स्थानीय सरकार बन्यो। तत्कालीन बुटवल नगरपालिका प्रमुख शिवराज सुवेदीले निर्वाचनमा कबोल गरेका प्रतिबद्धता पूरा नगरेपछि पहिरो प्रभावितहरूले  उहाँमाथि हातपात नै गरेका थिए।

‘पहिरोपीडितको एउटै आवाज थियो हामीलाई झुटा आश्वासन चाहिँदैन।’ नेकपा एकीकृत समाजवादीका नेता चिनबहादुर गुरुङ पहिरो रोकथामका लागि केहीथान जालीले नपुग्ने बताउनुहुन्छ। पहिरोको नियन्त्रण डाँडाको  टुप्पोबाटै  गर्नुपर्छ, उहाँले भन्नुभयो पहिरोपीडितलाई सुकुम्बासी जग्गा दिएर व्यवस्थित बसोबास गर्नुपर्छ।