• ९ मंसिर २०८१, आइतबार

दुई युवतीद्वारा आत्महत्या

blog

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), मङ्सिर ९ गते । कैलालीको घोडाघोडी नगरपालिकामा दुई युवतीले झुण्डिएर आत्महत्या गरेका छन् । फरक–फरक स्थानमा भएको आत्महत्याको कारण भने खुलेको छैन । 

घोडाघोडी नगरपालिका –७ कीर्तिपुर बस्ने १६ वर्षीय भावना बोहरा आइतबार झुण्डिएको अवस्थामा फेला परेकी छन् । इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक डिबी साउँदले घरनजिक जङ्गलको किनारमा घाँटीमा पासो लगाएर रुखमा झुण्डिएको अवस्थामा फेला परेको  जानकारी दिनुभयो । 

कक्षा ८ मा अध्ययनरत बोहरा तीन पटकसम्म फेल भएको परिवारबाट बुझिए पनि आत्महत्याको कारण भने खुल्न नसकेको प्रारम्भिक अनुसन्धानबाट बुझिएको प्रहरीको भनाइ छ ।

त्यसैगरी घोडाघोडी नगरपालिका वडा ५ वनखेत बस्ने २१ वर्षीय सबिता चौधरीले झुण्डिएर आत्महत्या गरेकी छन् । आफ्नै घरमा शनिबार दिउँसो झुण्डिएर आत्महत्या गरेको परिवारका सदस्यहरुको भनाइ छ । चौधरीको आत्महत्याको कारण खुलेको छैन । विवाहित चौधरीको घर र माइती पक्षबाट पनि आत्महत्याको कारण बारे खुलेको छैन ।