• ९ असार २०८२, सोमबार

‘जेन्जी पुस्ता, लोकतान्त्रिक विचार’

सबैको सम्पत्ति छानबिन गर्न आयोग गठन गरौँ : महामन्त्री थापा

blog

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा

काठमाडौं, असार ८ गते । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो तीन दशकमा पार्टीबाट सरकारमा गएका सबै जनप्रतिनिधिको सम्पत्ति छानबिन गर्न पूर्व न्यायाधीशको संयोजकत्वमा शक्तिशाली आयोग गठन गर्ने प्रस्ताव राख्नु भएको छ । 

आइतवार  ‘जेन–जी पुस्ता र लोकतान्त्रिक विचार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो प्रस्ताव  पार्टीको बैठकबाट पारित गर्न प्रस्ताव राख्नु भएको हो । भ्रष्टाचार र अनियमितताविरुद्धको स्पष्ट मापदण्ड स्थापित नगरी नयाँ पुस्ता (जेन–जी) को भरोसा जित्न नसकिने उहाँको भनाइ छ । 

उहाँले कुनै पनि दलप्रति पूर्वाग्रही नभएको  व्यक्तिलाई आयोगको नेतृत्व दिएर २०४६ सालपछिका सबै नेताको सम्पत्ति छानबिन गर्ने अधिकार दिनुपर्ने बताउनु भयो । 

उहाँले छानबिनका क्रममा जजसको नाम आए पनि आयोगको प्रतिवेदन स्वीकार्ने आँट पार्टीले गनसक्ने मात्रै जेन–जी पुस्ताले आफूहरुका कुरा सुन्ने जिकिर गर्नुभयो । उहाँले नयाँ पुस्ताको अपेक्षा भ्रष्टाचारमुक्त र सदाचारयुक्त राजनीतिप्रति केन्द्रित रहेको समेत उल्लेख गर्नुभयो । 


उहाँले भन्नुभयो, ‘‘२०४६ सालको अन्दोलनपछि नेपाली काँग्रेस सत्तामा आएको हो । नेपाली काँग्रेस पार्टी सत्तामा आएपछि वडाको सत्तादेखि केन्द्रको सत्तासम्म हामी जो–जोले जिम्मेवारी लिएका छौँ । वितेका ३० वर्षभन्दा लामो समयको संसदबाटै पूर्वन्यायाधीशको संयोजकमा छानबिन आयोग बनाउँ । देशले पत्याएको पूर्वन्यायाधीश छानौँ । निष्पक्ष काम गर्ने मान्छे छानौँ । यस्तो मान्छे छानौँ कि त्यो एमाले, काँग्रेस माओवादी केही पनि नहोस् ।  त्यो व्यक्तिलाई २०४६ सालपछिका जिम्मेवारीमा बसेका सबै नेताको सम्पत्ती छानबिन गर्न भनौँ । त्यो छानविन गराउँदै गर्दा जो जनो मान्छे पर्छ, जतिसुकै शक्तिशाली मान्छे परे पनि आयोगले जे कुरा लिएर आउँछ त्यो कुरालाई मान्छ भनेर हामी आँट गर्यौं भने बल्ल जेन–जी पुस्ताले हाम्रो कुरा सुन्छ । यो पुस्ताको गुनासो सम्बोधन नगरीकन अब हामी उनीहरुका बीचमा जान सक्दैनौँ । यो नेपाली काँग्रेसका लागि सबैभन्दा ठूलो चुनौती हो ।’’

‘जेन्जी पुस्ताको कुरा सुन्नैपर्छ’ 

सोही कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जेन्जी अर्थात् नयाँ पुस्ताको आक्रोश, असन्तोष र आशावादी दृष्टिकोणलाई समयमै सम्बोधन नगरे लोकतन्त्रप्रति वितृष्णा गहिरिने बताउनु भएको छ । 


नेविसंघ दोलखा काठमाडौं सम्पर्क समितिको आयोजनामा भएको ‘जेन्जी पुस्ता, लोकतान्त्रिक विचार’ विषयक छलफल कार्यक्रममा सम्बोधन गर्दै शिवाकोटीले भन्नु भयाे, “जेन्जी ‘डेमोक्रेसी’ सुन्छ, तर ‘डेलिभरी’ खोज्छ। जब त्यो देख्दैन, उनीहरूमा सिस्टमप्रति अविश्वास बढ्छ।”

उहाँले वर्तमान पुस्ताले संविधान, चुनाव र सरकार परिवर्तन सबै देखे पनि आफ्ना जीवनका आधारभूत पक्षहरू शिक्षा, रोजगारी, स्वास्थ्य र न्यायमा सुधार नदेखेकै कारण असन्तोष बढेको उल्लेख गर्नुभयो । 

शिवाकोटीले युवापुस्तासँग संवाद मात्र नभई सहकार्यको नयाँ संस्कृति निर्माण गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो, “अब समय संवादको मात्र होइन, सहकार्यको हो। हामीले उनीहरूको भाषा बुझेनौं, प्लेटफर्ममा पुग्न सकेनौं र रिसलाई सम्बोधन गर्न चुक्यौं।”

उहाँले पार्टीलाई आग्रह गर्दै टेक्नोलोजीप्रेमी जेन्जी पुस्तालाई ‘फेसबुक लिडर’ मात्र नभई उनीहरूलाई नीतिगत निर्णय प्रक्रियामा संलग्न गराउनु पर्छ भन्नुभयो । 

शिवाकोटीले नेपाली कांग्रेसको ऐतिहासिक नेतृत्वको गौरवपूर्ण भूमिकालाई स्मरण गराउँदै भन्नुभयो, “राणा, पञ्चायत, राजतन्त्रविरुद्धको आन्दोलनको नेतृत्व कांग्रेसले गर्‍यो। तर अब त्यो गौरव गुनगान मात्र गर्ने होइन, अवस्था परिवर्तनको आन्दोलन सुरु गर्ने बेला आएको छ।”