• १६ साउन २०८२, शुक्रबार

रङ्गमञ्चमा आकर्षित बन्दै चलचित्र कलाकार

blog

काठमाडौँ, साउन १५ गते । नेपालका हलमा दर्शकको चाप फेरि घट्न थालेको छ । नेपाली नाटक मञ्चन हुने ‘थिएटर’ मा भने दर्शक भरिभराउ छन् । पछिल्लो समय थिएटरले राम्रो बाटो समातेको छ भन्दा खासै फरक नपर्ला । यति मात्र होइन अहिले चलचित्रका धेरै कलाकार रङ्गमञ्चमा रुचि राख्न थालेका छन् । चलचित्रमा मात्र नभई नाटकमा पनि ‘स्टार’ को अनुहारलाई दर्शकले रुचाउन थालेका छन् । 

केही वर्षयता चलचित्रका कलाकारले थुप्रै नाटकमा अभिनय नगरेको भने होइन । २०७० सालमा महानायक राजेश हमाल पहिलो पटक नाटकमा देखिनुभयो । उहाँले अनुप बराल निर्देशित नाटक ‘कोर्ट मार्सल’ मा अभिनय गर्नुभएको थियो । बराल निर्देशित उक्त नाटकले राम्रो चर्चा बटुलेको थियो । यसै गरी विमल सुवेदीले २०७० सालमै नाटक ‘चारुमती’ बाट केकी अधिकारीलाई पहिलो पटक स्टेजमा अभिनय गराउनुभएको थियो । यसै गरी निर्देशक सुवेदीले नै ‘यार्मा’ मा नम्रता श्रेष्ठलाई, ‘ह्याम्लेट’ मा मिस नेपाल सृष्टि श्रेष्ठसहित अर्पण थापालाई अभिनय गराउनुभएको थियो । उहाँ आफ्नो नाटकमा धेरै जसो चलचित्रका कलाकारलाई अनुबन्धन गराउने निर्देशकमा पर्नुहुन्छ । 

लेखक तथा निर्देशक घिमिरे युवराजले कलाकार नीर शाहलाई नाटक ‘बाथटब’ मा अभिनय गराउनुभएको थियो । कुमार नगरकोटीले लेख्नुभएको नाटकमा हरिहर शर्मासहित भूषिता वशिष्ठको अभिनय रहेको थियो । त्यस्तै शिल्पीमै मञ्चन भएको नाटक ‘ट्रान्जिट’ मार्फत शिल्पा मास्के पनि पहिलो पल्ट रङ्गमञ्चमा देखिनुभएको थियो । अभिनेतृ मलिका महतले पनि ‘पगला घोडा’ मार्फत रङ्गमञ्चमा ‘डेब्यु’ गर्नुभएको थियो भने त्यस्तै अभिनेतृ सुरक्षा पन्त पनि ‘क्लेशा’ मार्फत पहिलो पल्ट नाटकमा देखिनुभएको थियो ।

रङ्गकर्मी अशेष मल्लका अनुसार केही वर्षअघिसम्म पत्रिका पसल भारतीय पुस्तकले भरिन्थे तर अहिले त्यो अवस्था हराएको छ । उहाँले भन्नुभयो, “त्यस्तै चलचित्रमा पनि बलिउडको दुष्प्रभाव परेको थियो जसमा आफ्नोपन पटक्कै थिएन । भाषा मात्र नेपाली हुन्थ्यो बाँकी उनीहरूकै कुरा हुन्थे । रङ्गमञ्चमा चलचित्रका कलाकार देखिनु भनेको चेतनाको स्तर बढ्दै जानु हो । अहिले चलचित्रका कलाकारलाई रङ्गमञ्चले एकदमै प्रभाव पारेको उहाँले बताउनुभयो । समाजमा चेतनाको स्तर बढ्दै जानुले पनि यो परिवर्तन आएको हो कि, उहाँले भन्नुभयो । 

अर्का रङ्गकर्मी केदार श्रेष्ठ रङ्गमञ्चका कलाकार चलचित्रमा देखिनु र त्यसको प्रभावले गर्दा चलचित्रका कलाकारलाई रङ्गमञ्चमा आकर्षण बढ्दै गएको हुन सक्ने उहाँले बताउनुभयो । “यो भनेको चलचित्रका कलाकार फैलिन चाहनुभएको हो ।” यसले रङ्गमञ्च र चलचित्रबिच सम्बन्ध झन् बलियो बनाउने उहाँको बुझाइ छ ।

केही महिनाअघि मात्र अभिनेतृ रेखा थापाले पनि नाटकमा पदार्पण गर्नुभएको थियो । उहाँले कान्तिपुर फिल्म एकेडेमीको ‘मीरा’ बाट नाटकमा डेब्यु गर्नुभएको हो । अमेरिका गएको १० वर्षपछि अभिनेता जीवन लुइटेल नाटकमार्फत अभिनयमा फर्कनुभएको छ । कान्तिपुर थिएटरले मञ्चन गर्न लागेको नाटक ‘शिरीषको फूल’ मा उहाँले अभिनय गर्नुभएको छ । नाटकको प्रमुख पात्र सुयोगवीरको भूमिकामा लुइटेलले अभिनय गर्दै हुनुहुन्छ । उक्त नाटकमा उहाँसँगै नायिका सनिशा भट्टराई सकम्बरीको भूमिकामा देखिँदै हुनुहुन्छ । 

चलचित्रका कलाकारलाई नाटकमा अभिनय गराउँदा दर्शकले नाटक पनि हेर्न पाउने छन् र कलाकारलाई पनि प्रत्यक्ष रूपमा देख्न पाउँछन् । त्यसैले पनि चलचित्रका कलाकार रङ्गमञ्चमा देखिनु राम्रो कुरा हो र त्यसले रङ्गमञ्चलाई नै माथि उठाउने काम गर्छ ।