• ९ असार २०८२, सोमबार

मुलुकमा अहिलेको सबैभन्दा ठुलो खाँचो सिस्टमको हो: माधव सापकोटा

blog

काठमाडौँ, असार ८ गते । नेकपा (माओवादी केन्द्र) का नेता माधव सापकोटाले मुलुकमा सबैभन्दा ठुलो खाँचो सिस्टमको भएको बताउनुभएको छ ।

आइतबार ललितपुरमा आयोजित सद्गमय सिजन–२ समापन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सार्वजनिक यातायातदेखि अस्पतालदेखि सिंहदरबारभित्रै विभिन्न जटिलता, समस्या र चुनौतीहरूको रहेको बताउँदै मुलुकमा सिस्टमको खाँचो रहेको बताउनु भयो । उहाँले विदेशी राष्ट्रहरूले गरेका प्रगति र उन्नतिसँग तुलना गर्दा धेरै निराश हुनुपर्ने स्थिति नरहे पनि सिस्टम भने नभएको जिकिर गर्नुभयो । उहाँले एउटा नागरिकले सहजतापूर्वक अस्पतालमा गएर उपचार गर्न सक्ने अवस्था बनाउन नसकिएको बताउनु भयो ।

उहाँले नेपालमा केही नभएको भन्ने बुझाइ गलत भएको बताउँदै पछिल्लो १० वर्षको अवधिको पूर्वाधार निर्माणदेखि मानव विकास सूचकाङ्कसम्म हेरेको खण्डमा फरक पाउने बताउनु भयो । उहाँले बिस्तारै क्रमिक रूपमा विकासहरू हुँदै गएको दाबी गर्नुभयो ।  

उहाँले भन्नुभयो, “ नेपालमा केही नभएको त्यस्तो कुरा पनि होइन । हिजो भर्खरै प्रधानमन्त्री ज्यूको उपस्थितिमा नयाँ संरचनाको उद्घाटन भएको छ । यसले हाम्रो समाजमा नयाँ रक्तसञ्चार गरेको छ ।  हामीले   १० वर्षको बिचको समग्र पूर्वाधार निर्माण, मानव विकास सूचकाङ्कसहित अरू सबै कुराको हे¥यौ भने फरक पाउँछौँ । बिस्तारै क्रमिक रूपमा विकास सुधार हुँदै गएका छन् । तर, आजको समस्या के हो भने सार्वजनिक यातायात चढ्यो भने त्यो चढी साध्य छैन ।  त्यसको जटिलता, समस्या र चुनौतीहरूको बारेमा, हस्पिटल गयो भने अरू प्रकारका चुनौतीहरू छन् ।

सिंहदरबारभित्रकै कुरा गर्ने हो भने अरू चुनौतीहरू छन्, सबै भन्दा ठुलो खाँचो भनेको हाम्रा देशमा सिस्टमको हो । विदेशी राष्ट्रहरूले गरेका प्रगति र उन्नतिसँग हामीलाई तुलना गर्दा धेरै निराश हुनुपर्ने स्थिति छैन । तर, हामीकहाँ सिस्टम छैन । एउटा नागरिकले सहजतापूर्वक अस्पतालमा गएर लाइन बसी कुपन लिएर उपचार गर्न सक्ने अवस्था हामीले बनाउन सकिरहेका छैनौँ । यहीँबाट हाम्रो कमजोरी छ ।” 

उहाँले कसरी विधिमा बस्ने र विधिको विकासलाई संस्थागत गराउने विषयमा बहस हुनु जरुरी रहेको बताउनु भयो ।