• ११ पुस २०८१, बिहिबार

काम खोज्दै आए, मालिक नै बने

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, मङ्सिर ९ गते । विसं २०५३ भदौ १३ गते १३ वर्षकै उमेरमा कामको खोजीमा मुस्ताङको घाँसामा पुग्नुभएका टङ्कलाल श्रेष्ठको अहिले बेनी नगरपालिका–९, गलेश्वरमा होटल ताजमहल लज एन्ड रेस्टुरेन्ट चलिरहेको छ । नमोबुद्ध नगरपालिका–५, काभ्रेका श्रेष्ठले गलेश्वरमा घर निर्माण व्यवसाय पनि थालेको तीन वर्ष भयो । 

मुस्ताङका पूर्वसांसद रोमी गौचनकहाँ साढे पाँच वर्ष काम गरेपछि बेनीस्थित होटल यतीमा २०५८ सालदेखि नौ वर्ष सहयोगी हुँदै ‘कुक’ बनेको उहाँ सम्झनु हुन्छ । बेनी नगरपालिका–९, गलेश्वरमा रहेको होटल रिभरसाइडलाई लिजमा लिएर २०६७ देखि २०७५ सम्म सञ्चालन गरेपछि चार वर्ष होटल मदरल्यान्ड पनि लिजमै सञ्चालन गर्नुभयो । २०७९ सालदेखि आफ्नै लगानीमा उहाँले सञ्चालन गर्नुभएको होटेल ताजमहलमा श्रेष्ठको परिवारका चार जनासहित ११ जनाले रोजगारी पाएका छन् । टङ्कलाल भन्नुहुन्छ, “मेरो छोरा, छोरी, श्रीमती, म र अरू सात जना स्टाफले होटलमा काम गर्दै आएका छौँ ।”

विसं २०६० को दशकमा नेपाली सेनाले बेनी–जोमसोम सडक खण्डको पाइलट ट्र्याक खोलेसँगै धेरै सम्भावना पनि खुल्दै आए । यही क्षेत्रमा काम खोज्दै आएकाहरू आफैँ मालिक बन्दै रोजगारी दिने हैसियतमा पुग्न सफल भएका छन् । दुई दशकअघिसम्म भरिया र खच्चडले सामान ढुवानी गर्नुपर्ने बेनीलगायतका क्षेत्रमा सडक, बिजुली र सञ्चार सुविधा पुगेपछि स्थानीयवासीको जीविकाका अनेक सम्भावना मात्र खुलेनन्, जागरुकहरूले लोभलाग्दो आर्थिक उपार्जन पनि गरेका छन् ।

२०५८ सालमा म्याग्दी सदरमुकाम जोड्ने पक्की पुल नबन्दै टोयटा ट्याक्सीका पार्टपुर्जा बोकाएर आउनुभएको थियो बागलुङ नगरपालिका–३ का मोहन केसी । पछि उहाँ जिप र बसको सहचालक बनेर काम गर्नुभयो । अहिले उहाँ म्याग्दी कोरला यातायात प्रालिको झन्डै ६० प्रतिशत सेयर मालिक हुनुहुन्छ । उहाँको कम्पनीमा ६२ जना कर्मचारी छन् । उहाँले मासिक सात लाख रुपियाँ तलब मात्रै बाँड्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “कम्पनीमा ६२ जनालाई रोजगारी सिर्जना गर्न पाएकोमा आफैँलाई खुसी लाग्छ ।”

२०६३ सालबाट होटल व्यवसाय थाल्नुभएका मङ्गला गाउँपालिका–१, पूर्णगाउँका ताराप्रसाद आचार्यले अहिले २४ जनाका लागि रोजगारी सिर्जना गर्नुभएको छ । उहाँले बेनी नगरपालिका–९, गलेश्वरमा होटल याक बेनी प्रालि सञ्चालन गर्नुभएको छ । आपूmसहित श्रीमती र २२ जना कर्मचारी यही व्यवसायमा संलग्न हुनुहुन्छ । आचार्यले भन्नुभयो, “दुई वर्ष भारत, दुई वर्ष कतार र चार वर्ष साउदीमा बिताएपछि २०६३ सालमा फर्केर नमस्ते होटल सुरु गरेको थिएँ ।” नमस्ते नामबाट मोबाइलसम्बन्धी काम थालेर पछि २०७० सालदेखि होटल याकलाई नै ब्रान्ड बनाएर व्यवसाय गरेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कुनै समय रोजगारीको खोजीमा विदेश पुगेको म अहिले परिवारसहित २४ जनालाई आफ्नै माटोमा रोजगारी दिन सकेको छु ।” बेनी जोमसोम सडक खण्डको स्तरवृद्धिसँगै व्यवसायले पनि थप उचाइ लिएको उहाँ बताउनुहुन्छ । 

बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका–३, भ्रकका महेन्द्र गुरुङले आफ्नो थातथलो छाडेको ३० वर्ष पुग्यो । दुई दाजुभाइमध्ये कान्छा छोरा महेन्द्रले २४ वर्षको उमेरमा बिहे गरेर आफ्नो घर छाडेर म्याग्दी आउनुभयो । घरबाट खाली हात निस्कनुभएका उहाँले म्याग्दीमा आएर व्यवसाय सुरु गर्नुभयो  । २०५२ देखि २०६० सालसम्म रघुगङ्गा गाउँपालिका–३ (साबिक पिप्पले गाविस) को घोडेढुङ्गामा होटल सुरु गर्नुभयो । २०६० सालपछि चमेरेमा व्यवसाय गर्नुभयो । गुरुङको चमेरे होटलमा मुस्ताङतिरका मात्रै ग्राहक थिए । २०६३/६४ सालतिर बेनी बजार क्षेत्रका लागि सुरु भएको बेनी खानेपानी आयोजनाको काम थालनी भएपछि उहाँको होटलमा म्याग्दीतर्फका ग्राहकको पनि गन्तव्य बन्यो । 

नेपाली चलचित्र नेपाली वीरको छायाङ्कन गलेश्वर तथा घुमाउने ताल अनि तिलकिनी क्षेत्रमा हुँदा त्यस चलचित्रका ‘नेगेटिभ’ भूमिकाका कलाकारको समूहले पनि महेन्द्रको होटलको प्रचार गरेका थिए । रैथाने कुखुराको मासु, टिमुरको चटनी, मुस्ताङको आलु चमेरे होटलमा आउने पाहुनाले रुचाउने परिकार हुन् । त्यही स्थानमा व्यवसाय गर्दै महेन्द्रले पोखराको जिरो किमीमा एउटा घर बनाउनुभयो । होटेलमा चार जनाले रोजगारी पनि पाएका छन् । 

यस्तै शिवपुरी गाउँपालिका–३, नुवाकोट घर भई बेनीमा लामा रेस्टुरेन्ट तथा लामा कुदाप सञ्चालन गर्नुभएका राजन लामाले आफूसहित १८ जनाका लागि रोजगारी सिर्जना गर्नुभएको छ । लामाकहाँ भान्सामा पाँच जना, सहयोगी तीन जना, वेटर पाँच जना र उहाँका परिवारका सदस्यले काम गर्दै आउनुभएको छ । २०६० सालमा बेनीको होटल डल्फिनमा कामको खोजीमा आउनुभएका उहाँ होटल तथा रेस्टुरेन्ट क्षेत्रमै सक्रिय भएर अहिले बेनीबजारको हस्पिटलचोकमा आफ्नै घरमा लामा कुदाप तथा बेनीकै गणेशटोलमा लामा रेस्टुरेन्ट एवं बेनी हस्पिटलमा चमेनागृह सञ्चालन गर्नुभएको छ । बेनी क्षेत्रमा तीन ठाउँमा व्यवसाय गर्दै १८ जनाका लागि रोजगारी सिर्जना गरेर उहाँ उदाहरणीय बन्नुभएको छ ।