• २१ पुस २०८१, आइतबार

बबई नदीमा १० हजार माछाका भुरा छाडिए

blog

बबई नदीको भादा घाटमा माछाका भुरा छोडिंदै । तस्विरः सिराज खान

सिराज खान 

नेपालगञ्ज, मंसिर ९ गते । बर्दियाको बबई नदीको भादा घाटमा १० हजार माछाका भुरा छाडिएका छन् । विश्व मत्स्य दिवस २०८१ को अवसरमा “मत्स्य क्षेत्रमा लगानी वृद्धिः खाद्य सुरक्षा, दिगो विकास र समृद्धि” भन्ने मूल नारासहित आयोजना गरिएको कार्यक्रममा बबई नदीको भादा घाटमा १० हजार माछाका भुरा छाडिएका हुन् ।

परम्परागत र स्थानीय माछा आयातित प्रजातिका कारण लोप हुने जोखिम बढेपछि एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दिया र भेटेरीनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र बाँकेको संयुक्त आयोजनामा रोहु, नैनी र भाकुर जातका माछाका भूरा बबई नदीमा छाडिएका हुन् ।

बबई नदीमा रोहँ्, नैनी, भाकुर, पढ्नी, र बामजस्ता स्थानीय जातका माछा पाइने गरेको भए पनि पछिल्लो समय ती लोप हुँदै गइरहेकाले थप भुरा छोड्नु परेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमुख सागर ढकालले बताउनुभयो । 

उहाँले पछिल्लो समय मत्स्य अनुसन्धान केन्द्र, प्रदेश र स्थानीय सरकारको सहयोगमा स्थानीय प्रजातिका माछा संरक्षणमा सहयोग भइरहेकाले तिनीहरूको संख्या बढ्दै गएको जानकारी दिनुभयो ।

प्रमुख ढकालका अनुसार बर्दियामा हाल ४३६ हेक्टर क्षेत्रमा माछा पोखरी छ, जहाँ वार्षिक २ हजार २३४ मेट्रिक टन माछा उत्पादन हुन्छ । तर, पोखरी र नदीमा भुरा छोड्दा बकुल्ला र सर्पले खाने जोखिम रहने भएकाले कम्तीमा १०–१५ ग्रामका माछा छोड्दा उपयुक्त हुने ढकालको सुझाव छ ।

स्थानीय माछा प्रजातिको संरक्षण र जलारी समुदायको जीवनस्तर सुधारका लागि माछा पालनका लागि केज हस्तान्तरण, भूरा छोड्ने कार्यक्रम र व्यावसायिक माछापालन प्रवर्धनजस्ता गतिविधि बर्दियामा अघि सारिएको छ । ती कार्यक्रमले बर्दियालाई दुध, माछा, मासु र अण्डामा आत्मनिर्भर बनाउने योजना सफल बनाउन मद्दत पुग्ने लक्ष्य लिएको छ ।