ठाकुरप्रसाद आचार्य
म्याग्दी, असार २९ गते । गाउँको सडक कालोपत्रे र ढलान भएर यात्रा सहज भएसँगै बेनी नगरपालिका ६ की ९५ वर्षीय जनकुमारी बरुवालको मुहारमा खुसी छाएको छ । बेनी नगरपालिका ६ स्थित छापकी स्थानीयवासी बरुवाललाई अहिलेनै घर आँगनमा पक्की सडक आउँछ भन्ने विश्वास लागेको थिएन ।
उहाँले भन्नुभयो, ‘‘कच्ची सडकका कारण वर्षौसम्म सास्ती भोगियो । नगरपालिका भए पनि हाम्रो वस्तीमा राम्रो सडक नभएका कारण विकट जस्तै थियो । स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि नगरका ग्रामीण वस्तीहरुमा पनि पक्की सडक निर्माण हुनथालेका छन् । थोरै मात्रामा सडक स्तरोन्नती भए पनि स्थानीयलाई खुसी बनाएको छ ।’’
चालु आर्थिक वर्षमा बेनी नगरपालिकाले ग्रामीण सडक स्तरोन्नतिका लागि पाँचवटा गौरवका आयोजना छनोट गरी कालोपत्रे र आरसीसी ढलान गरेको छ । बेनीदेखि ग्रामीण भेग जोड्ने सडक स्तरोन्नति योजनालाई प्राथमिकतामा राखेर विगत तीन वर्षदेखि पक्की सडक निर्माण थालिएको नगरप्रमुख सुरत केसीले बताउनुभयो ।
स्थानीय तह कार्यान्वयन आएसँगै बेनी नगरपालिकामा जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि सडक पूर्वाधार विकासले फड्को मारेको छ । स्थानीय सरकार, प्रदेश र संघीय सरकारको बजेटबाट नगरका ग्रामीण बस्तीहरु पक्की सडकले जोडिन थालेका छन् ।
बेनी महारानीथान–छाप–डाँडाखेत–ठुलोखोला सडक, बेनी–पुलाचौर सडक,बेनी–अर्थुङ्गे–तोरीपानी–घतान हुँदै पाखापानी जोड्ने सडक,बेनी–हाँडेभिर–बगरफाँट हुँदै भकिम्ली जोड्ने सडक र वडा नम्बर १ रत्नेचौर देखि ज्यामरुककोट–भकुण्डे सडक नगरभित्रका ठूला योजनाहरु हुन् ।
बर्षौ अघि ट्रयाक खोलेका सडकहरु स्थानीयतह कार्यान्वयनमा आएसँगै संघ, प्रदेश र स्थानीय तहको बजेटबाट धमाधम स्तरोन्नति हुनथालेका छन् । सडक फराकिलो, नाली निर्माण, मेशनरी वाल, घुम्ती सुधार, ग्रेड सुधार, ग्राभेल, कालोपत्रे र अरसीसी ढलान भएपछि ग्रामीण भेगका सर्वसाधारणहरुलाई आवतजावतमा सहज हुनथालेको छ । सडकको यात्रा सहज भएसँगै कृषि उपजको बजारीकरण, निर्माण समाग्री र दैनिक उपभोग्य सामाग्री ढुवानी गर्न नगरवासीहरुलाई सहज भएको बेनी नगरपालिका ६ छापका लालबहादुर खत्रीले बताउनुभयो ।
नगरपालिकाले ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालन गर्ने गरी सडक स्तरोन्नतिलाई प्राथमिकतामा राखेको नगरप्रमुख सुरत केसीले बताउनुभयो । बेनीदेखि वडा तहसम्म पक्की सडक पुर्याउने लक्ष्यका साथ नगरपालिका, सङ्घीय सरकार र प्रदेश सरकारबाट सडकका विभिन्न योजना अघि बढेको उहाँले बताउनुभयो ।
चालु आर्थिक वर्षमा बेनी नगरपालिका आफैँले पाँचवटा सडकका ठुला आयोजनामार्फत सडक ढलान र कालोपत्रे गरेको नगरप्रमुख केसीले बताउनुभयो । आयोजनाहरुबाट २५ सय पाँच मिटर सडक आरसीसी ढलान र आठ सय ४६ मिटर सडक प्रिमिक्स कालोपत्रे गरिएको नगरप्रमुख केसीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘अबको तीन वर्षभित्र हामीले नगरको केन्द्र बेनीदेखि दशवटै वडाका केन्द्र सम्म पक्की सडक पुर्याउछौं ।’’
बेनी महारानीथान–छाप–ठूलोखोला सडक
बेनीका वडा नम्बर ४,५,६ र ७ नम्बर वडामा रहेका वस्तीहरुलाई सडक सुविधा पुर्याउन २०६५/०६६ मा ट्रयाक खुलेको यो सडक विगत दुई वर्षदेखि यता सडक स्तरोन्नति हुन थालेपछि स्थानीयहरु खुसी भएका छन् । बेनीदेखि नजिक भएपनि सडक राम्रो नहुँदा आवतजावतमा नगरवासीले सास्ती भोग्दै आएका थिए । सडक कालोपत्रे र ढलान भएर यात्रा सहज हुनथालेपछि गाउँ देखि बजार जान–आउन निकै सहजता भएको छापका स्थानीयवासी लालबहादुर खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘सडक कालोपत्रे हुनथालेपछि यहाँ जग्गाको मूल्य पनि बढेको छ । घडेरी खरिद गर्न आउन थालेका छन् । सडक आसपासमा बस्ती विकास हुनथालेको छ ।’’
नगरपालिकाले सडक कालोपत्रे र ढलान गर्न गण्डकी प्रदेश सरकारसँग लागत साझेदारीमा २०८२ असार मसान्तसम्म सम्पन्न गर्न गत मङ्सिरमा सक्षम ब्रोदर्श निर्माण कम्पनीसँग ७५ लाख ९७ हजार चारसय ५१ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । योजनामा चारसय ३० मिटर दूरीको सडक फराकिलो, नाली निर्माण, खोल्साहरुमा कल्भर्ट निर्माण गरेर प्रिमिक्स कालोपत्रे गरिएको बेनी नगरपालिका पूर्वाधार शाखाका सब–इन्जिनियर मिलन केसीले बताउनुभयो ।
यसैगरी आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नगरको ६० प्रतिशत र गण्डकी प्रदेश सरकारको ४० प्रतिशतको लागत साझेदारीमा सडक स्तरोन्नतिको योजनालाई निरन्तरता दिन एक करोड पचास लाख रुपियाँ बजेट विनियोजन भएको छ ।
बेनी–अर्थुङ्गे–तोरीपानी–घतान–पाखापानी सडक
बेनी नगरपालिका र रघुगंगा गाउँपालिका जोड्ने बेनी–अर्थुङ्गे–तोरीपानी–पाखापानी सडक अन्तर्गत बेनी–पाखापानी सडकको प्रवेश विन्दु,रातोपहिरो र बेनी नगरपालिका वडा नम्बर ९ देखि १० नम्बर वडा कार्यालय सम्मका विभिन्न पाँच ठाउँमा गरेर सातसय ४० मिटर सडक स्तरोन्नतिसहित आरसीसी ढलान गरिएको छ । साँघुरो सडकलाई पाँच मिटरको चौडाइमा फराकिलो पारेर नाली सहित सडक ढलान गरिएपछि आवतजावतमा सहज भएको छ ।
चालु आर्थिक वर्षमा सङ्घीय सरकारको समपुरक अनुदान एककरोड पचास लाख र बेनी नगरको एक करोड पचास लाख गरी तीन करोड रुपियाँ लागतमा सडक स्तरोन्नति गरिएको हो ।
यसैगरी, गण्डकी प्रदेश सरकारको बजेटबाट पूर्वाधार विकास कार्यालय म्याग्दीले सडकअन्तर्गत वडा नम्बर ९ को किराखोर देखि गलेश्वर मावि तोरीपानीसम्मको चार किलोमिटर सडक स्तरोन्नति गर्न गत वर्षदेखि बहुवर्षीय ठेक्का मार्फत योजना अघि बढाएको छ । यो योजनामा दुई किलोमिटर कालोपत्रे र पाँच सय मिटर सडक ढलान हुनुका साथै अन्य सडक ग्राभेल गरिने पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार २०८३ जेठ २० गतेसम्म निर्माण सम्पन्न गर्ने गरी २०८१ जेठ २० गते ११ करोड ७६ लाख १२ हजार रुपियाँमा मङ्गलादेवी सुवास कन्स्ट्रक्सन प्रालिसँग भ्याटबाहेक १० करोड १६ लाख एक हजार ३६४ रुपियाँमा ठेक्का सम्झौता भएको छ ।
बेनी–पुलाचौर सडक योजना
नगरपालिकाले चालु आर्थिक वर्षमा बेनीदेखि पुलाचौर जोड्ने सडक स्तरोन्नति योजनाअन्तर्गत एक सय ३० मिटर सडक ढलान र चार सय ३४ मिटर सडक कालोपत्रे गरेको छ । सडक स्तरोन्नति गर्न नगरपालिकाले सक्षम ब्रोदर्श निर्माण सेवासँग गत माघ महिनामा ६२ लाख ६७ हजार आठ सय ३८ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । योजनाअन्तर्गत वडा नम्बर ६ को लुलियामा सडक ढलान र वडा नम्बर ५ को अवैचौरमा कालोपत्रे गरिएको छ ।
यसैगरी, पुरुण्डीमा सडक बोर्डसँगको साझेदारीमा सडक फराकिलो पारी दुई सय ३० मिटर ढलान र ७२ मिटर प्रिमिक्स कालोपत्रे योजना सञ्चालन गरिएको छ । उक्त योजना सम्पन्न गर्न भण्डारी निर्माण सेवाले ६८ लाख ७९ हजार चार सय ९८ रुपियाँमा ठेक्का सम्झौता गरेको छ । यो योजनामा यतिखेर पुरुण्डी गाउँमा सडक ढलानको काम भइरहेको छ ।
सडक ढलान र कालोपत्रे भएपछि बेनीदेखि पुलाचौर, डढुवा, चिप्लेटी र पूर्ण गाउँसम्म जान सहज भएको अवैचौरका प्रेम उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘कच्ची सडक हुँदा बेनीदेखि यहाँसम्म आउन एक घण्टाभन्दा बढी समय लाग्थ्यो । अहिले भने १० देखि १५ मिनेटमै आउन सकिने भएको छ । कच्ची सडक हुँदा धुलाम्य र हिलाम्य भएर सास्ती भोगेका थियौं । धुलो उडेर घरसम्म पुग्ने गरेको थियो । कालोपत्रे भएपछि यो समस्या हटेको छ ।’’
नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ मा पनि यो सडक स्तरोन्नति योजनालाई निरन्तरता दिएको नगरप्रमुख केसीले बताउनुभयो । उहाँका अनुसार सङ्घीय सरकारको ४० प्रतिशत र बेनी नगरपालिकाको ६० प्रतिशत लागत साझेदारी गरी एक करोड ६२ लाख ५० हजार रुपियाँ बजेट व्यवस्थापन गरिएको छ ।
बेनी–लभ्लिहिल–ज्यामरुककोट सडक योजना
बेनीदेखि पर्यटकीय स्थल लभ्लिहिल हुँदै ज्यामरुककोट जोडने सडक स्तरोन्नति गरिएको छ । नगरले बानियाँ निर्माणसँग २० लाख १७ हजार ७०६ रुपियाँमा गत मङ्सिरमा ठेक्का सम्झौता गरी एक सय सात मिटर सडक ढलान गरिएको छ ।
बगरफाँट–भकिम्ली सडक स्तरोन्नति योजना
गण्डकी प्रदेश सरकारको बजेटमा बेनीदेखि हाँडेभिर–बगरफाँट हुँदै भकिम्ली गाउँ जोड्ने ग्रामीण सडक स्तरोन्नतिको काम सुरु भएको छ । बेनी नगरपालिका वडा नम्बर ३ भकिम्ली र ४ नम्बर वडा बास्कुनामा उत्पादन भएका कृषि उपजलाई बेनीसम्म ल्याउन प्रयोग हुने यो सडक १७ वर्ष अघि ट्रयाक खुलेको थियो । बेनीदेखि बगरफाँट सम्मको सडक यसअघि नै कालोपत्रे गरिएको छ । बगरफाँटदेखि दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकलाई पूर्वाधार विकास कार्यालय म्याग्दीले बहुवर्षीय ठेक्कामार्फत सडक स्तरोन्नति योजना अघि बढाएको छ ।
बगरफाँटदेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर बढी सडकलाई फराकिलो बनाउने, नाली निर्माण गरी ग्राभेलसहित स्तरोन्नति गर्न थालिएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले बताउनुभयो ।
गत वर्ष गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत बहुवर्षीय योजनाको रूपमा छनोट भएको यस योजनामा पूर्वाधार विकास कार्यालयले पाँच करोड ५९ लाख रुपियाँमा सडक स्तरोन्नतिका लागि माछापुच्छ्रे हिमालयन जेभीसँग १८ महिनामा निर्माण सम्पन्न गर्नका लागि अघिल्लो वर्षको जेठमा ठेक्का सम्झौता भएको थियो । बगरफाँदेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर सडकलाई आठ मिटर फराकिलो बनाएर ग्राभेलसहित स्तरोन्नति गरिने र दूधेखोलादेखि भकिम्ली जोड्ने सडकको विभिन्न खण्डमा पाँचसय मिटर सडक ढलान गरेर स्तरोन्नति गरिनेछ ।
गलेश्वर–पुलाश्रम सडक स्तरोन्नति योजना सञ्चालन हुँदै
म्याग्दीका दुई प्रशिद्ध धार्मिकस्थल जोड्ने सडक स्तरोन्नति योजना सञ्चालनको तयारी गरिएको छ । बेनी नगरपालिका ९ स्थित गलेश्वर शिवालयदेखि वडा नम्बर ५ मा रहेको धार्मिक स्थल पुलाश्रम हुँदै जागन्नाथ जोड्ने सडक स्तरोन्नति योजना सञ्चालनको तयारी गरिएको हो ।
करिब एक दशक अघि ट्रयाक खुलेको गलेश्वर–काउलेगौडा–पुलाश्रम–जगन्नाथ सडक स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारले तीन करोड ६० लाख रुपियाँ बजेट सुनिश्चित गरेसँगै योजना कार्यान्वयनको प्रक्रिया अघि बढेको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । योजना हालै मात्र दुइ करोड २३ लाख रुपियाँमा ठेक्का सम्झौता भई कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । सडकको विभिन्न स्थानहरूमा गरेर सातसय मिटर सडक ढलान, टेवा पर्खाल, नाली निर्माण र दुई किलोमिटर दूरीमा सडक ग्राभेल गर्ने योजना रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । यो योजना एकवर्ष भित्रमा निर्माण सम्पन्न हुनेछ ।
रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक कालोपत्र योजना
बेनी नगरपालिका १ रत्नेचौर देखि वडा नम्बर २ ज्यामरुककोट हुँदै भकुण्डे–भकिम्ली, बरंजा सडक योजनाअन्तर्गत रत्नेचौरदेखि ज्यामरुककोट सम्मको सडक स्तरोन्नतिसहित कालोपत्रे सुरु भएको छ । ‘एक निर्वाचन क्षेत्र, एक रणनैतिक सडक’ कार्यक्रमअन्तर्गत सडक डिभिजन कार्यालय बागलुङले २०७९ भदौ ६ गते २०८१ फागुन ५ गतेभित्र योजना सम्पन्न गर्न निर्माण कम्पनी गजेन्द्र नयाँ बाटो जेभी स्याङ्जासँग करिब दस किलोमिटर सडक स्तरोन्नति सहित कालोपत्रे गर्न २६ करोड ४६ लाख ३९ हजार रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । यो सडक अहिले निर्माणधिन अवस्थामा छ । सडकलाई नौ मिटर फराकिलो बनाएर सात किलोमिटर डिबिएसडी प्रविधिमा कालोपत्र र दुई किलोमिटर आरसिसी ढलान गरिनेछ ।
रिङरोडले बदलिएको बेनीको मुहार
संघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले सङ्घीय सरकारको चार करोड पचास लाख रुपियाँ लागतमा कालिगण्डकी र म्याग्दी नदी किनारमा रिङरोड निर्माण गरिएको छ । नदी किनारमा निर्माण गरिएको रिङरोडले नगरवासीको मुहारमा खुसी ल्याएको छ ।
रिङरोडले बेनीको मुहार फेरिदिएको छ । बेनी संरक्षणका लागि बनाइएको तटबन्ध माथि आरसीसी ढलान गरेर सडक निर्माण गरिएको छ । कालिपुलस्थित कालिगण्डकी मोटरेबल पुलदेखि सुरु हुने यो सडक जिल्ला प्रहरी कार्यालयसम्म छ । रिङरोडलाई सौन्दर्यकरण गरेर आकर्षक बनाउने योजना नगरले अघि सारेको छ ।
रिङरोडलाई आकर्षक र सुरक्षित बनाउन बेनी नगरपालिकाका– ७ र ८ ले काम थालेका छन् । आगामी आर्थिक वर्षमा दुईवटा वडाले १५ लाख रुपियाँ बजेटको व्यवस्थापन समेत गरेका छन् । अहिले वडा नम्बर ८ ले कालिपुल देखि डिलतर्फ रेलिङ हाल्न थालिएको छ । सडक बत्ती राख्ने, सडक छेउमा सानो खालको फुटपाथ बनाउने र फूलहरु रोप्ने लगायतका कामहरु आगामी आर्थिक वर्षदेखि सुरु गरिने बेनी नगरपालिका ८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो ।