कीर्तिपुर, असार २९ गते। इनर ह्विल क्लबका काठमाडौँ अध्यक्ष कमला श्रेष्ठले महिला सशक्तीकरण भए मात्र समुदाय र देशको विकास हुने बताउनुभएको छ।
यहाँस्थित शनिबार आयोजित इनर ह्विल, कीर्तिपुर सेन्ट्रलको सातौँ स्थापना दिवसमा उहाँले सो कुरा बताउनुभएको हो।
यस्तै, केन्द्रीय प्रतिनिधि सर्सिज पालिखेले महिला सशक्तिकरणको लागि नेतृत्ववर्गले उदाहरणीय सेवा गरेर समाज परिवर्तनमा अहम् भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।
कीर्तिपुर सेन्ट्रलका निर्वतमान अध्यक्ष नुमा पाण्डेले महिला सशक्तीकरणको लागि धेरै काम गरेर सचेतना जागृत गर्न सफल भएको जानकारी दिनुभयो।
पदभार ग्रहण गरेपछि वर्तमान अध्यक्ष कल्पना अधिकारीले कीर्तिपुर क्षेत्रमा महिला हकअधिकारको लागि नयाँ कार्ययोजनासहित प्रतिबद्धता व्यक्त गर्नुभयो।
संस्थाका काठमाडौँका कार्यकारी सदस्य रञ्जना शाक्य महर्जनलाई सम्मान गरिएको कार्यक्रममा बालिका कृष्मा पन्थीले उत्कृष्ट नृत्य प्रस्तुत गर्नुभएको थियो।
मित्रता, सेवा र समझदारी विकास गर्ने उद्देश्यले अमेरिकामा जनवरी १०, सन् १९२४ मा ओलिभर गोल्डिङले इनर ह्विल क्लब स्थापना गरेका थिए।