• २९ असार २०८२, आइतबार

एसइई नतिजा सुधारका मार्ग

blog

राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरिएको गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४७.८१ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएकोमा त्यतिबेला थुप्रै टिप्पणी सतहमा आएका थिए । धेरै जसो सरोकारवाला समूहले एसइईमा ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुनुको प्रमुख जिम्मेवार समूह शिक्षकलाई देखाएका थिए । यता ती शिक्षकहरूले विद्यालयमा शिक्षक तथा शैक्षिक सामग्री अभाव भएर, विद्यार्थी अनुपस्थिति भएर, अभिवावक सचेत नभएर, परिमार्जित पाठ्यक्रम अनुसार शिक्षकले तालिम नपाएर र शिक्षकको कक्षा अवलोकन नभएर एसइईमा धेरै जसो विद्यार्थी अनुत्तीर्ण भएको तर्क प्रस्तुत गरेका थिए । त्यस्तै कुनै शैक्षिक निकायले पाठ्यव्रmममा दिइएका पाठ्यवस्तु आवश्यकताभन्दा बढी र कठिन र विद्यार्थीको चाहना अनुरूप नभएको हुँदा धेरै जसो विद्यार्थी अनुत्तीर्ण भएका हुन् भन्ने तर्क प्रस्तुत गरिएको थियो । 

सरोकारवाला समूहले प्रश्नपत्र गाह्रो भएको, उत्तरपुस्तिका परीक्षण कडा भएको, समग्रमा परीक्षा प्रणालीमा नै त्रुटि रहेको भनेर राष्ट्रिय परीक्षा बोर्डलाई दोष दिएको थियो । विद्यालय अनुगमन नगरेको र विद्यालयको व्यवस्थापन कमजोर भएको कारण धेरै जसो विद्यार्थी अनुत्तीर्ण भएका हुन् भन्ने जस्ता टिप्पणी पनि आएका थिए । यी उल्लिखित कारणमध्ये कुन कुन कारणले गर्दा गत वर्षको एसइईमा ५२ प्रतिशतभन्दा बढी विद्यार्थी अनुत्तीर्ण भए भन्नेबारे अध्ययन भएको देखिँदैन । यस सन्दर्भमा प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा आउने वर्षमा एसइईमा विद्यार्थी उत्तीर्ण प्रतिशत ७० पु¥याउनुपर्ने र पुग्ने गरी सबै सरोकारवाला समूहले काम गर्नुपर्ने निर्देशन दिनुभएको थियो । सोही निर्देशन वा अन्य कारणले गत वर्षको तुलनामा यस वर्षको एसइईमा विद्यार्थी उत्तीर्ण प्रतिशत १४ अङ्कले वृद्धि भई ६१.८१ प्रतिशत पुगेको छ । एकै वर्षमा विद्यार्थी उत्तीर्ण प्रतिशत १४ प्रतिशतले वृद्धि भएकोमा सकारात्मक टिप्पणीको तुलनामा थुप्रै नकारात्मक टिप्पणी आए । गत वर्षको तुलनामा प्रश्नपत्र सजिलो बनाएको, गत वर्षको प्रश्न दोहोरिएको, उत्तरपुस्तिका परीक्षणमा परीक्षकले उदारता देखाएको, परीक्षकलाई उत्तरपुस्तिका परीक्षण गर्दा उदार हुन निर्देशन दिएका, परीक्षकले उत्तरपुस्तिका लापर्बाही तरिकाले परीक्षण गरेको, कृपामा अङ्क थपेको, वृद्धि उत्तीर्ण प्रतिशतले शैक्षिक गुणस्तर उकास्नमा नसघाउने, नतिजाको विश्वसनीयतामा शङ्का गर्ने ठाउँ रहेको र परीक्षा प्रणालीबारे नै अध्ययन गर्नुपर्ने आदि सञ्चार माध्यममा आएका छन् । 

सार्वजनिक परीक्षाको नतिजा धेरै संवेदनशील विषय हो । परीक्षामा उत्तीर्ण विद्यार्थीले प्राप्त गर्ने शैक्षिक प्रमाणपत्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा पाउने मान्यतामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा असर पार्न सक्ने सम्भावनालाई समेत ध्यानमा राखेर कुनै पनि सरोकारवाला व्यक्ति तथा संस्थाले तथ्यमा आधारित भएर टिप्पणी गर्नु उपयुक्त हुन्छ । विशेष गरी शिक्षाविद्बाट आउने टिप्पणी, तथ्य, प्रमाण र वस्तुगत तर्कमा आधारित हुनु पर्छ । यी टिप्पणीले अभिभावक तथा विद्यार्थीलाई मनोवैज्ञानिक रूपमा असर पार्छ । विद्यार्थीलाई आफूले पाएको अङ्कमा कृपामा अङ्क थपेको भएर मात्र उत्तीर्ण भएका हुन् भने सोच निर्माण गर्न बाध्य बनाउँछ । अतः सकारात्मक तथा नकारात्मक टिप्पणी हचुवामा गर्नुभन्दा अगाडि यस्ता घटना अन्य मुलुकको सार्वजनिक परीक्षामा वा नेपालमै पनि विगतका वर्षमा हुने गरिएको छ वा छैन, एसइईको नतिजामा सुधार ल्याउन सरोकारवालाबाट के कस्ता प्रयास गरियो, एसइईको नतिजा अन्य मुलुकको तुलनामा के कस्तो छ थाहा पाउनु जरुरी छ ।

अन्तर्राष्ट्रिय चित्र

सार्वजनिक परीक्षाको नतिजामा विद्यार्थीको उत्तीर्ण प्रतिशतमा कहिलेकाहीँ एकै पटक धेरै वृद्धि हुने र घट्ने स्थिति नेपालमा मात्र नभई अन्य मुलुकमा पनि भएको छ । उदाहरणका लागि चीनमा सन् १९९८ मा कक्षा १२ को अन्त्यमा लिएको परीक्षामा विद्यार्थीको उत्तीर्ण प्रतिशत ३३.८६ पाइएकोमा सन् १९९९ को परीक्षामा २१.५८ प्रतिशत बढेर सो अङ्क ५५.४४ प्रतिशत पुगेको थियो । बङ्गलादेशमा सन् २०२२ मा कक्षा १० को सार्वजनिक परीक्षामा ८७.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने सन् २०२३ को परीक्षामा विद्यार्थीको उत्तीर्ण प्रतिशत ८०.३९ मा झरेकोे थियो । भुटानमा कक्षा १० को सार्वजनिक परीक्षामा विद्यार्थीको उत्तीर्ण प्रतिशत सन् २०२० मा ९६ प्रतिशत पुगेकोमा सन् २०२१ मा ७० प्रतिशतमा झरेको थियो । नेपालकै सन्दर्भमा विसं २०६० मा एसएलसी परीक्षामा विद्यार्थीको उत्तीर्ण प्रतिशत ४६ प्रतिशत थियो भने विसं २०६१ मा यो अङ्क घटेर ३२ प्रतिशतमा झरेको थियो । यी उल्लिखित घटनाले के इङ्गित गर्छ भने कहिलेकाहीँ विभिन्न कारणले गर्दा विद्यार्थीको उत्तीर्ण प्रतिशतमा बढी लचकता आउँछ ।

हाम्रो उत्तीर्ण प्रतिशत

नेपालमा कक्षा १० को एसइईमा विद्यार्थीको उत्तीर्ण प्रतिशत गत वर्षको तुलनामा यस वर्ष १४ प्रतिशतले वृद्धि भई ६२ प्रतिशत पुगेको छ । यो अङ्कलाई दक्षिण एसियाली मुलुक र अन्य मुलुकको सन् २०२४ मा कक्षा १० को सार्वजनिक परीक्षाका विद्यार्थीको उत्तीर्ण प्रतिशतसँग तुलना गर्दा अझै सन्तुष्ट हुने ठाउँ छैन । जस्तो कक्षा १० को सार्वजनिक परीक्षामा विद्यार्थीको उत्तीर्ण प्रतिशत भारतमा ९३.६० प्रतिशत, भुटानमा ७४.५६ प्रतिशत, बङ्गलादेशमा ८३.०४ प्रतिशत, पाकिस्तानमा ६९.७५ प्रतिशत र चीनमा (सन् २०२३, कक्षा १२) ८४.९७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । त्यस्तै सिङ्गापुर र मलेसियामा क्रमशः ८७.७० र ९४.० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । अतः विभिन्न मुलुकको विद्यार्थीको उत्तीर्ण प्रतिशतको तुलनामा नेपालमा एसइईमा विद्यार्थी उत्तीर्ण प्रतिशत अझै कम रहेको छ । यस अर्थमा उत्तीर्ण प्रतिशत वृद्धि गर्न अझ बढी प्रयास गर्नु पर्छ भने देखाउँछ ।

नतिजा सुधारका प्रयास

एसइईको नतिजामा विद्यार्थीको उत्तीर्ण प्रतिशतमा सुधार ल्याउन प्रधानमन्त्री तथा तत्कालीन माननीय शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीले सम्बन्धित निकायलाई निर्देशन दिएका थिए । निर्देशनपश्चात् शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अनलाइन कक्षा सञ्चालन गरेको थियो भने राष्ट्रिय परीक्षा बोर्डले पालिकागत तथा विषयगत रूपमा नतिजा विश्लेषण गरी कमजोर पालिकाहरूलाई नतिजाप्रति सचेत गराउनुका साथै विभिन्न सरोकारवाला समूहलाई परीक्षा प्रणालीसँग सम्बन्धित तालिम सञ्चालन गरेको थियो । कुनै संस्थाले अध्ययन सामग्री तयार गरी वितरण गरेको थियो भने कतिपय पालिकाले आफ्नो पालिकाको नतिजा सुधार गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो । उदाहरणकै रूपमा काठमाडौँ महानगरपालिकाले अतिरिक्त कक्षाका साथै अन्य कार्यक्रम पनि सञ्चालन गरेको थियो । यसबाहेक कतिपय विद्यालय आफ्नो विद्यालयका विद्यार्थीको नतिजामा सुधार ल्याउन विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको थियो । यी सबै प्रयास भने सञ्चार माध्यममा आएका थिएनन् ।

नतिजाका उत्साहजनक उदाहरण 

गत वर्ष एसइईको नतिजामा २० प्रतिशत विद्यार्थी उत्तीर्ण नभएका जिल्ला जम्मा आठ वटा (भोजपुर, ताप्लेजुङ, रोल्पा, प्युठान, मनाङ, दार्चुला, दैलेख र डोटी) थिए । ती जिल्लाका पालिकामध्ये २६ पालिकामा १० प्रतिशत विद्यार्थी नै उत्तीर्ण भएका थिएनन् । यस वर्षका एसइईमा ती २६ वटा पालिकामध्ये दुई वटा पालिकाबाहेक सबै पालिका अर्थात् २४ वटा पालिकामा विद्यार्थीको उत्तीर्ण प्रतिशत १० प्रतिशत नाघेको छ । यी पालिकामा गत वर्षको तुलनामा यस वर्षको एसइईमा विद्यार्थी उत्तीर्ण प्रतिशत १.५४ प्रतिशतदेखि ५५.४३ प्रतिशतसम्म वृद्धि भएको छ । यी २४ वटा पालिकामध्ये पनि करिब आधा जति पालिकामा उत्तीर्ण प्रतिशतको वृद्धि दर १० प्रतिशतभन्दा बढी छ । एक वर्षको दौडानमा उत्तीर्ण प्रतिशत एकै पटक वृद्धि हुँदा आशङ्का गर्नुभन्दा अगाडि कुनै विद्यालय वा पालिकाको उत्तीर्ण प्रतिशत एकै पटक वृद्धि हुनाका ठोस कारणहरू निम्न दुई वटा कुराबारे जानकारी राखी खोजी गर्नु जरुरी छ । 

एउटै विषयमा अधिकांश विद्यार्थी अनुत्तीर्ण भएर राष्ट्रिय तहमा विद्यार्थीको अनुत्तीर्ण प्रतिशत कम आएको छ भने उक्त कमजोर विषयको नतिजामा सुधार आएपछि राष्ट्रिय तहमा विद्यार्थीको उत्तीर्ण प्रतिशत उल्लेखनीय रूपमा वृद्धि हुन्छ ।

 विद्यार्थीको समग्र उत्तीर्ण प्रतिशत बढी (मानौँ ९० प्रतिशत) आइरहेकै अवस्थामा त्यत्तिकै मात्रामा प्रयास गर्दा विद्यार्थीको समग्र उत्तीर्ण प्रतिशत उल्लेखनीय रूपमा वृद्धि हुन्छ । सो नतिजालाई सुधार गर्न जति मात्रामा प्रयास गरिन्छ, कम प्रतिशत (मानौँ ४० प्रतिशत) आएको अवस्थामा । 

नतिजामा सुधार ल्याउन अबको बाटो

एसइईमा नेपालले विद्यार्थीको उत्तीर्ण प्रतिशत दक्षिण एसियाली मुलुकको हाराहारीमा पु¥याउन निम्न कार्य गर्नु पर्छ । 

विभिन्न सरोकारवाला समूहले यस वर्ष गरेका प्रयासलाई सूचीकृत गरी सो कार्यलाई निरन्तरता दिने ।

सम्बन्धित विषय विज्ञहरूको छलफलमार्फत बढी देखिएको पाठ्यवस्तु हटाउने र कठिन पाठ्यवस्तुलाई सरलीकृत गर्ने ।

सबै विधाका विद्यार्थीलाई उच्चशिक्षा अध्ययन गर्न आवश्यक नभएको विशिष्ट खालको विषयको ठाउँमा आवश्यक पाठ्यवस्तु समावेश गरी छुट्टै विषय निर्माण गर्ने ।

शिक्षकहरूलाई ‘क्यासकेड मोड’ मा पाठ्यक्रम कार्यान्वयनसम्बन्धी तालिम सञ्चालन गर्ने ।

परीक्षा सञ्चालन हुनुभन्दा तीन महिनाअगाडि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हरेक विषयमा कठिन खालका पाठ्यवस्तु पहिचान गरी अनलाइन कक्षाहरू सञ्चालन गर्ने ।

हरेक पालिकामा सम्बन्धित पदाधिकारीले कमजोर विद्यालय निरीक्षण गरी आवश्यक पृष्ठपोषण दिने ।

परीक्षा बोर्डले आन्तरिक मूल्याङ्कनलाई विद्यार्थीको सक्षमता, सिकाइमा सक्रियता, सिर्जनात्मक सोचाइ मापन गर्ने खालको मूल्याङ्कन प्रणालीसम्बन्धी शिक्षकलाई तालिम दिन सुरु गर्ने ।

परीक्षा बोर्डले पालिकागत, जिल्लागत तथा विषयगत रूपमा नतिजा विश्लेषण गरी सम्बन्धित नगरपालिकालाई पृष्ठपोषण दिने ।

विषयगत रूपमा शिक्षकको कक्षा अवलोकन गरी सम्बन्धित शिक्षकलाई पृष्ठपोषण दिने व्यवस्था गर्ने ।