शिवकुमार काशी
हेटौँडा, असार २९ गते। पश्चिम मकवानपुरको मनहरी ७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयमा बस सेवा सुरु भएको छ।
विद्यार्थीको आवतजावतका लागि बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा बस व्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद पौडेलले बताउनुभयो। गत आर्थिक वर्षमा विनियोजित रकम कार्यान्वयन गरी लामो प्रक्रिया पूरा गरी बस प्राप्त भएको उहाँले जानकारी दिनुभयो।
राजमार्ग छेवैमा रहेको विद्यालय आवत जावतका लागि यसअघि विद्यार्थीले अन्य सार्वजनिक सवारी साधन प्रयोग गर्दै आएकामा बस प्राप्त भएपछि त्यो बाध्यता हटेको पौडेलले बताउनुभयो।
बस प्राप्त भएपछि बस सञ्चालन खर्च बढ्ने भएकाले स्थानीय तहलाई बस व्यवस्थापनका लागि सहयोग माग गरिएको विद्यालयले जनाएको छ। नयाँ बस प्राप्त भएपछि मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, वडाध्यक्ष ठाकुरराम तितुङसहितका जनप्रतिनिधिले खुशी व्यक्त गर्नुभयो।
एक हजार दुई सय विद्यार्थी रहेको राष्ट्रिय रोटरी माध्यमिक विद्यालय पश्चिम मकवानपुरकै ठूलो र एसइई परीक्षामा राम्रो नतिजा हासिल गर्ने विद्यालय हो।