• २९ असार २०८२, आइतबार

नागरिकता वितरणमा बेथितिः एउटै विवरणको नागरिकता दुई जनालाई

blog

एउटै नाम र नागरिकता नम्बर भएका दुई जना गणेशकुमार महतो । तस्बिर ः विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, असार २९ गते । धनुषाको बटेश्वर गाउँपालिकामा दुई फरक व्यक्तिको नाम र नागरिकता नम्बर एउटै भएको घटना बाहिरिएको छ । दुवै जनाको नाम गणेशकुमार महतो र नागरिकतामा १४६८२८८३ नम्बर उल्लेख छ । नाम र नागरिकता नम्बर एउटै भएपछि दुवै जना समस्यामा परेका छन् । 

दुवै जना बटेश्वर गाउँपालिकाको भए पनि  वडा भने फरक छ । एक जनाको बटेश्वर गाउँपालिका–१, सोनापुरका हुन् भने अर्का गणेश बटेश्वर गाउँपालिका–२, धुमासनका हुन् । धुमासनका गणेशका पिता रामकिसुन महतो हुन् र उहाँले  २०५६ माघ १३ गते जिल्ला प्रशासन कार्यालय धनुषाबाट नागरिकता लिनुभएको छ । त्यस्तै, सोनापुरका गणेशका भने रामगुलाम महतोका छोरा हुन् उहाँले २०५७ साल फागुन ३० गते सोही कार्यालयबाट नागरिकता प्राप्त गर्नुभएको हो । 

सोनापुरका गणेशकुमारले बैङ्कमा खाता खोल्दा यो कुरा थाहा पाएको बताउनुभयो । उहाँले भन्नुभयो, केही दिनअघि एक बैङ्कमा खाता खोल्न गएको थिएँ  तर बैङ्कका कर्मचारीले तपाईँको नाममा पहिलादेखि नै खाता सञ्चालनमा रहेको भन्दै नयाँ खाता खोल्न मानेन । त्यसपछि त्यस खाताबारे बुझ्दै जाँदा धुमासनका गणेशकुमार भएको र नागरिकता नम्बर पनि एउटै भएको उहाँले सुनाउनुभयो । 

उहाँका अनुसार नाम र नागरिकता नम्बर मिल्दा कम्प्युटर प्रणालीमा विवरण प्रविष्ट गर्दा समस्या भएको छ । म विदेश गएर फर्किएको व्यक्ति हुँ । पासपोर्टदेखि अन्य सबै कागजात यही नम्बरबाट बनेको छ ।  अब फेरबदल गर्नुपर्दा ठुलो समस्या पर्छ । 

उता, धुमासनका गणेश पनि यस्तै समस्याबाट हैरान हुनुहुन्छ । हालसालै सरकारी सेवा र बैङ्किङ प्रणालीमा नागरिकता नम्बर अनिवार्य गरिएपछि मात्रै दुई फरक व्यक्तिमा एउटै नागरिकता नम्बर रहेको रहस्य खुलेको उहाँले बताउनुभयो । उहाँले कर्मचारीको गल्तीका कारण हामी दुई जनालाई समस्या भोग्नुपरिरहेको जानकारी दिनुभयो । 

जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी शङ्कर हरि आचार्यले दुई फरक व्यक्तिको एउटै नागरिकता नम्बर कसरी आयो भन्ने विषयमा दुवै नागरिकताको अभिलेख हेरेपछि मात्र केही भन्न सकिने बताउनुभयो ।