चाँदनी आचार्य
घोडाघोडी (कैलाली) असार २९ गते । कैलालीको लम्कीचुहा नगरपालिकाका बासिन्दाका लागि शुद्ध खानेपानी घरघर पुर्याउने कार्यलाई तीव्रता दिइएको छ। सोही अनुरुप दोस्रो चरणको काम सुरु भएको छ ।
साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था लम्कीको महत्वाकांक्षी योजनाका रुपमा ‘कर्णालीको पानी लम्कीवासीलाई’ आइतबार शिलान्यास गरिएको छ । योजनाकोे नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले शिलान्यास गर्नुभएको हो ।
मन्त्री यादवले राष्ट्रिय लक्ष्यलाई सार्थक बनाउन सहलगानीमा निर्माण हुने खानेपानी आयोजनाले पूर्णता पाएसँगै उपभोक्ताको घरघरमा शुद्ध खानेपानी पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “कुनै पनि समुदाय विकासको मुलधारबाट टाढा रहन सक्दैन, शुद्ध खानेपानी अपरिहार्य हो, यो योजनाले खानेपानीको स्थायी समाधान गर्ने छ ।”
मन्त्री यादवले वर्षात र ढल व्यवस्थापनलाई दृष्टिगत गरेर योजना सम्पन्न गर्न सुझाव दिनुभयो । उहाँले घोषणाभन्दा कार्यान्वयनमा जोड दिन सुझाउनुभयो। लम्की चुहा नगरपालिकाका नगरप्रमुख सुशीला शाहीले खानेपानी योजनाबाट जनताले प्रत्यक्ष लाभ लिने बताउनुभयो ।
पहिलो चरण अन्तर्गत १४ करोड ७७ लाखको बजेटबाट बल्चौरमा ५ वटा कुवा निर्माण, साढे चार लाख लिटर क्षमताको रिजर्भ ट्याङ्की, ३५ सय मिटर पाइपलाइन विस्तार, ओभरहेड ट्याङ्की र प्रशासनिक भवन निर्माणको ९० प्रतिशत पूरा भएको कार्यालय प्रमुख जगन्नाथ ढकालले बताउनुभयो ।
संस्थाका अध्यक्ष तेजबहादुर चलाउनेले लम्कीवासीलाई २४ घण्टा कर्णालीको पानी उपलब्ध गराउने उद्देश्यले खानेपानी योजनाको काम भइरहेको बताउनुभयो । अध्यक्ष चलाउनेले भन्नुभयो “ बोरिङ गरी जमिनमुनिबाट निकालेको खानेपानी प्रणाली दीर्घकालीन नदेखिएपछि धेरै अध्ययन र अनुसन्धान गरेर कर्णाली नदीलाई प्रमुख स्रोत बनाई यो योजना अघि बढाएका हौं । तीन चरणमा योजना निर्माण हुँदैछ । पहिलो चरणको काम अन्तिम चरणमा पुगेको छ र अब दोस्रो चरणको काम पनि सुरु हुन्छ ।”
दोस्रो चरणको कामको ठेक्का सम्झौता भइसकेको छ । कार्यालय प्रमुख ढकालले सुप्रिम जय माता जे.भी. काठमाडौंसँग २९ करोड ४८ लाख ३२ हजार ४९९ रुपियाँमा ठेक्का भएको जनाउनुभयो ।
२०८२ असार २३ मा सम्झौता भएको दोस्रो चरणको योजनामा साढे चार लाख लिटर क्षमता भएका दुई वटा ओभर हेड ट्याङ्की, आठ किलोमिटर मुख्य पाइपलाइन र ३६ किलोमिटर सहायक पाइपलाइन विस्तारको काम हुनेछ ।
यो काम २०८५ साल असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तेस्रो चरणको काम सम्पन्न भएसँगै कर्णालीको पानी लम्कीवासीलाई पुर्याउने योजनाले पूर्णता पाउने जनाइएको छ । यस खानेपानी योजनाले पूर्णता पाएसँगै १५ हजार घरधुरीमा २४ सै घण्टा कर्णालीको पानी घरको धारामा पुग्ने अध्यक्ष चलाउनेले उल्लेख गर्नुभयो ।
२०७६-७७ सालमा लम्कीचुहा नगरपालिका अन्तर्गतको वडा नं. १,२,३ को बल्चौर, व्यवस्थितनगर र वडा नं. ५ को राजीपुर क्षेत्रका करिब १५ हजार घरधुरीमा कर्णाली पानी पुर्याउने उदेश्यका साथ डीपीआर गरिएको थियो । तत्कालिन समयमा ९० करोड लागत अनुमान गरिएको कर्णालीको पानी लम्कीवासीलाई खानेपानी योजनालाई तीन चरणमा विभाजन गरि निर्माण कार्यको सुरुवात २०८० फागुनबाट गरिएको हो ।
कुल लागतको ७० प्रतिशत नेपाल सरकार, २५ प्रतिशत स्वयं खानेपानी संस्था र बाँकी रहेको ५ प्रतिशत स्थानीय सरकारले व्यहोर्ने गरी सह लगानीमा योजनाको निर्माण भइरहेको छ ।