• २९ असार २०८२, आइतबार

विपतमा बज्दैन साइरन

blog

जिल्ला प्रशासन कार्यालय गुल्मीमा जडान गरिएको पूर्वसूचना प्रणाली (साइरन) । तस्बिर : टोपलाल अर्याल

रेसुङ्गा समाचारदाता

रेसुङ्गा (गुल्मी), असार २९ गते । गुल्मीमा सम्भावित विपत्को पूर्वसूचना प्रदान गर्न २०७८ सालमा पूर्वसूचना प्रणाली (साइरन) जडान गरिएको थियो तर अहिले यो साइरन विपत्का बेला बज्दैन । जडान गरिएको उपकरण मर्मत नहुँदा अति संवेदनशील पूर्वसूचना प्रणाली (साइरन) प्रयोगविहीन भएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको निर्णयानुसार लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट बजेट विनियोजन गरेर पूर्वसूचना प्रणाली जडान गरिएको थियो । विशेष गरेर ठुलो बडीगाड नदीले क्षति पु¥याउने भएपछि सो नदी किनारमा पूर्वसूचना प्रणाली जडान गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले मुसीकोट नगरपालिकाका बामी र इन्द्रेगौँडा, चन्द्रकोटको मजुवा र चोरकाटे तथा सत्यवतीको रुद्रवेणी र रुरुक्षेत्र गाउँपालिकाको रिडीमा पूर्वसूचना प्रणाली जडान गरिएको जनाएको छ । त्यसै गरी  सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेनाको ब्यारेक तथा जिल्ला प्रशासन कार्यालय गुल्मीमा पूर्वसूचना प्रणाली जडान गरिएको थियो । सबै स्थानका पूर्वसूचना प्रणालीमा मोबाइल नम्बर सेट गरेर आवश्यक परे तत्काल साइरन बजाउन मिल्ने अवस्था थियो । 

विपत्का हिसाबले यो सूचना प्रणाली निकै प्रभावकारी छ तर जिल्लाका स्थापना गरिएका पूर्वसूचना प्रणाली बिग्रेर सूचना नदिने भएका छन् । मौसम पूर्वानुमानमा यो वर्ष बर्सातले सबैभन्दा बढी लुम्बिनी प्रदेश प्रभावित हुने भनेको छ । जिल्ला विपत् व्यवस्थापन समिति गुल्मी आफैँले बाढीपहिरोको सम्भावित जोखिम क्षेत्र पहिचान गरेर २२ हजार बढी नागरिक प्रभावित हुने बताइरहेको छ तर विपत्का यी पूर्वसूचना प्रणाली चुस्तदुरुस्त र मर्मत भएका छैनन् । जिल्ला प्रशासन कार्यालय गुल्मीका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बजेट अभावका कारण पूर्वसूचना प्रणाली चुस्तदुरुस्त र मर्मत गर्न नसकिएको बताउनुभयो ।

उहाँले पूर्वसूचना प्रणाली जडान गर्ने व्यवसायीसँग समन्वय गर्दा जिल्ला प्रशासन कार्यालयमा बाहेक धेरै ठाउँमा मर्मतका लागि खर्च धेरै लाग्ने भएकाले अप्ठ्यारो स्थिति बनेको बताउनुभयो । गैरेले भन्नुभयो, “महत्वपूर्ण प्रविधि बिग्रेर बसेका छन् । हामीले महसुस गरे पनि मर्मतका लागि बजेट छैन ।” पूर्वसूचना प्रणालीले जोखिमको मूल्याङ्कन, पूर्वानुमान निरीक्षण तथा सूचना र सञ्चारको काम गर्छ । जिल्लामा दुई सय स्थान बाढीपहिरोको जोखिमा छन् तर पूर्वसूचना प्रणालीलाई व्यवस्थित बनाउन सबै स्थानीय तह आबद्ध हुने विपत् व्यवस्थापन समिति संवेदनशील छैन । 

रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले विपत्सँग जोडिएका पूर्वसूचना प्रणालीका विषयमा विपत् व्यवस्थापन समितिको वैठकमा आफूहरूले धेरै पटक कुरा उठाए पनि कार्यान्वयन नभएको बताउनुभयो । ज्ञवालीले रिडी बजार कालीगण्डकीका कारण डुबानको जोखिममा भएकाले प्रशासनले प्राविधिक खोजेर पूर्वसूचना प्रणाली मर्मतको काम गरे खर्च साझेदारी गर्न समस्या नहुने बताउनुभयो । बडीगाड र कालीगण्डकी नदी किनारका बस्ती धेरै पटक कटान र डुबानमा पर्ने गरेका छन् । सत्यवती गाउँपालिका–५, जोहाङका किशोर केसीले सरकार र तिनका निकाय पूर्वसूचना प्रणाली नै अवरुद्ध गरेर बस्नु दुःखद विषय भएको बताउनुभयो । केसीले उल्लीखोला, शाहाघाट, रुद्रवेणी, भुवाचिदीसहित रिडी बजार नै बाढीको डुबानको जोखिममा भएकाले सरकारसँग बजेटभन्दा संवेदशीलताको अभाव भएको गुनासो गर्नुभयो ।