• २९ असार २०८२, आइतबार

बचत अपचलन काण्ड

सम्पत्ति जोगाउन सम्बन्धविच्छेदको मुद्दा

blog

बुटवल समाचारदाता

बुटवल, असार २९ गते । बचतकर्ताको करोडौँ रकम अपचलन गरी सम्पर्कविहीन भएका डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्था तिलोत्तमा रुपन्देहीका व्यवस्थापकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले सहकारीका व्यवस्थापक वसन्त पराजुलीलाई सहकारी संस्थाको कार्यालयबाटै नियन्त्रणमा लिइएको बताउनुभयो ।

पराजुलीविरुद्ध सहकारीका सेयर सदस्य र बचतकर्ताले ठगीको आरोपमा उजुरी दिएका थिए । प्रहरी उपरीक्षक रानाले अदालतले पक्राउ पुर्जी जारी गरेकाले पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको बताउनुभयो । पराजुलीलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । प्रहरी उपरीक्षक रानाका अनुसार पक्राउ परेका पराजुलीलाई आइतबार अदालतबाट म्याद थपका लागि लगिने छ ।

व्यवस्थापक पराजुलीले आफूसहित श्रीमती, छोरी र छोराको नाममा लिएको ऋण नौ करोड ५५ लाख ३० हजार ८८ रुपियाँ देखिएको र उक्त रकम सहकारीलाई तिर्ने कबुलियतनामा २०८२ जेठ ५ गते गरिएको थियो । त्यसपछि उहाँलाई संस्थाले निलम्बन गरेको थियो । पराजुलीले तिलोत्तमाको शान्तिचोकमा खाजा होटेल तथा रेस्टुरेन्ट सञ्चालन गर्दै आउनुभएको थियो ।

सहकारीका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा क्षेत्रीविरुद्ध पनि बचतकर्ताले ठगीको उजुरी दिएका छन् । सहकारीको बचत अपचलनको तथ्य बाहिरिएपछि धेरै दिनसम्म सम्पर्कविहीन व्यवस्थापक पराजुलीलाई सम्पत्ति जोगाउन श्रीमतीसँग सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेको आरोप लागेको छ । व्यवस्थापक वसन्त पराजुली र उहाँकी श्रीमती बिना पराजुलीले सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिएको सहकारीका पीडित बचतकर्ताले बताएका छन् ।

अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा क्षेत्री पनि फरार छन् । बचतकर्ताले अध्यक्ष र सचिवले पनि सम्पत्ति जोगाउन व्यवस्थापकले जस्तै किर्ते सम्बन्धविच्छेद गर्न सक्ने आशङ्का व्यक्त गर्दै त्यसो हुन नदिन दिनहुँ उनीहरूको घर घेराउ गर्न थालेका छन् ।

व्यवस्थापक पराजुली सम्पर्कविहीन भएकै अवस्थामा पराजुलीकी श्रीमती बिना पराजुलीले बुधबार जिल्ला अदालत रुपन्देहीमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्नुभएको थियो ।

आफ्नो नाममा रहेको जायजेथासमेत तानिने डरले उनीहरूले सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिएको भन्दै बचतकर्ताले बिहीबार र शुक्रबार व्यवस्थापक, अध्यक्ष र सचिवको घर घरोउ गरेका थिए ।

सम्बन्धविच्छेदको मुद्दा दायर गरेको सूचना पाएका बचतकर्ताले पराजुली र सहकारीको कार्यालयमा घेराउ गरेपछि निवेदक बिना पराजुलीलाई समेत निगरानीमा राखिएको प्रहरीले जनाएको छ ।