तनहुँ समाचारदाता
तनहुँ, असार २९ गते । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मघर जलेको २२ वर्ष बितिसक्दा पनि पुनर्निर्माण हुन सकेको छैन । तनहुँको भानु नगरपालिका–४ स्थित चुँदीरम्घा, शिखरकटेरीस्थित घर संरक्षणको अभावमा भग्नावशेष मात्रै छ ।
साहित्यिक तीर्थस्थल तथा भाषिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको भए पनि आगलागीले खण्डहर भएको बर्सौं बिते पनि पुनर्निर्माण नहुँदा भानुको घर हेर्ने उत्कृष्ट चाहना राखेर चुँदीरम्घा पुग्ने साहित्यकारको मन रुने गर्दछ । भानुको घर झारले ढाकिएको छ । घरमा प्रयोग भएका काठका झ्यालढोका आगोले खाएको छ । नेपाली भाषाका धरोहर आदिकवि आचार्यले नेपाली साहित्यिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याए पनि राज्यले उहाँको सम्मान गर्न नसकेकाले घरको पुनर्निर्माणमा ध्यान नपुगेको स्थानीय सन्देश आचार्यले बताउनुभयो ।
भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले भानु जन्मस्थललाई भानुधामका रूपमा विकास गर्ने योजना अन्तर्गत चाँडै नै भानुको घर पुनर्निर्माण गरिने बताउनुभयो । पश्चिमाञ्चल विकास मञ्चले बनाउँछु भनेर शिलान्याससमेत गरेको भए पनि पुनर्निर्माण नगरेको त्रिपाठीले बताउनुभयो । त्रिपाठीले भन्नुभयो, “घर बनाउन पटक पटक ताकिता गरेका छौँ, बनाउँछु भन्छन् तर बनाउँदैनन् ।” २०५७ मा भानु चलचित्र निर्माता यादव खरेलले ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माणका लागि एक लाखको लागतमा उक्त घर पुनर्निर्माण गरेको समितिले जनाएको थियो ।
त्रिभुवन विश्वविद्यालयका इतिहासविद् डा. रामराज सुवेदीको नेतृत्वमा सम्पन्न भएको घरको उत्खननका क्रममा घडेरीसम्मको जगको अवशेष, मूलढोकाको सँघार, थाम अड्याउने इलम ढुङ्गाको छपनीले पुरिएको अँगेनाको खरानी, चाँदीका बाला, थुर्पीलगायतका फेला पारिएका सबै सामग्री चुँदी रम्घाबेँसीको समितिको कार्यालयमा राखिएको छ । जङ्लबिचको खरको छानाको उक्त घर २०६० जेठमा आगलागीबाट जलेर नष्ट भएको थियो । २०७३ मा तत्कालीन मुख्यसचिव डा. सोमलाल सुवेदी, पूर्वमुख्य सचिव लीलामणि पौडेल र पश्चिमाञ्चल विकास मञ्चका अध्यक्ष रामकाजी कोनेले घरको शिलान्यास गर्नुभएको थियो । ६८ लाख रुपियाँको लागतमा निर्माण हुने भनी शिलान्यास गरिएको भए पनि बजेट विनियोजन नभएकाले पुनर्निर्माणको काम हुन नसकेको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका पूर्वकार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिनुभयो । समितिका अध्यक्ष रामकुमार श्रेष्ठ सुरक्षाको अभावमा घर बनाउन कठिन भएकाले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर सैनिक टुकडी राख्न माग राखिएको बताउनुभयो ।