• १५ असार २०८१, शनिबार

सर्प संरक्षण र उद्धार गर्दै भण्डारी

blog

गोपी ज्ञवाली   

नवलपरासी, कात्तिक २७ गते । घरआँगन तथा खेतबारीमा सर्प देख्नासाथ सुनवल नगरपालिकाका शङ्कर भण्डारीलाई फोन सम्पर्क गर्नु अनिवार्य नै भइसकेको छ। स्थानीयवासी पनि सर्पलाई मार्ने होइन, भण्डारीलाई फोन गरी नियन्त्रणमा लिनका लागि आग्रह गर्ने गर्छन्। 

घरआँगन तथा खेतबारीमा भेटिएको वा मान्छेलाई टोकेमा धेरैजसोले सर्पलाई मार्ने गर्छन् तर भण्डारी भने सर्पलाई मार्ने होइन नियन्त्रणमा लिएर संरक्षण गर्नुपर्ने अभियान सञ्चालन गर्दै आउनुभएको छ। सानै उमेरदेखि प्रकृतिसँग रमाउने बानीका कारण भण्डारीले गाउँघर तथा बस्तीहरूमा फेला परेका सर्पलाई नियन्त्रणमा लिई संरक्षण गर्दै आउनुभएको छ। उहाँले सर्प नमार्नसमेत आग्रह गर्नुभएको छ। 

सर्पको बासस्थान मुख्य रूपमा जङ्गल नै हो। उहाँले पनि नियन्त्रणमा लिएका सर्पहरूलाई जङ्गलको मध्य भागमा लगेर छोड्ने गर्नुभएको छ। तराई क्षेत्रमा पाइने अति विषालु सर्पहरूलाई समेत प्रकृतिप्रेमी भण्डारीले सहजै खाली हातले समातेर नियन्त्रणमा लिई जङ्गल क्षेत्रमा छोड्दै आउनुभएको छ। 

मुख्य रूपमा गर्मी क्षेत्रका रूपमा रहेको पश्चिम नवलपरासीमा खास गरी वर्षायामको समयमा विषालु सर्पहरू धेरै देखा पर्ने गर्छन्। पछिल्लो १५ वर्षदेखि यस क्षेत्रमा देखा पर्ने धामिन, अजिङ्गर, गोमन, करेत, उडुवा सर्पलगायतका विभिन्न प्रजातिका सर्पहरू गाउँबस्ती क्षेत्रबाट उद्धार गर्दै आएको सर्प संरक्षक भण्डारीले बताउनुभयो। यहाँको कुनै गाउँघर तथा बस्ती क्षेत्रमा सर्प देखा प-यो भने गाउँलेहरूले भण्डारीलाई बोलाउने गर्छन्। उहाँले घरभित्रबाट समेत सर्पलाई नियन्त्रणमा लिई जङ्गलको सुरक्षित क्षेत्रमा लगेर छाडिदिने गर्नुभएको छ। सुनवल नगरपालिका–१३ स्थित बर्दगोरिया सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षसमेत रहनुभएका भण्डारीले गत वर्षायाममा धामिन, अजिङ्गर, गोमन र उडुवा गरी १० वटा सर्पको उद्धार गरी वन क्षेत्रमा लगेर छोडिसक्नुभएको छ। 

तराईका विभिन्न बस्तीमा सर्प देख्ना साथ मार्ने स्थानीय यतिबेला भण्डारीलाई गुहार्ने गर्छन्। सर्प र मानवबीचको वातावरण सन्तुलित सम्बन्धका विषयमा समेत जानकारी दिँदै आउनुभएको छ। उहाँका अनुसार सर्प जानीजानी मानव बस्तीमा आउँदैनन्। कहिलेकाहीँ जङ्गल वा प्राकृतिक क्षेत्रबाट भड्किएर आहारा खोज्ने क्रममा मात्र मानव बस्ती पुग्ने गरेको बताइन्छ।