• १५ असार २०८१, शनिबार

किसान मल माग्छन् उम्मेदवार दिन्छु भन्छन्

blog

प्रदेश ब्युरो 

हेटौँडा, कात्तिक २८ गते । आगामी मङ्सिर ४ गते सिङ्गो देश र प्रदेशको नीति, कार्यक्रम, कानुन बनाउने विधायिकी नेतृत्वका लागि हुने आमनिर्वाचनमा मत माग्न घरदैलो पुगेका उम्मेदवारसँग मतदाताले माग्छन्– रासायनिक मल, बीउ, पानी। 

रामेछाप समाचारदाता नवराज श्रेष्ठका अनुसार रामेछापको मन्थली नगरपालिका–६, भलुवाजोरस्थित डाँडाखर्क गाउँमा ५८ घर दलित समुदायको बसोबास छ। यहाँको दलित समुदायलाई अहिले सबैभन्दा ठूलो समस्या खानेपानीको छ। २०५९ सालमा एक गैरसरकारी संस्थाले निर्माण गरिदिएको खानेपानी आयोजना २०७२ सालको भूकम्प र बाढीपहिरोले क्षति भएपछि मर्मत हुन सकेको छैन। 

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि भोट माग्न गाउँ आउने हरेक उम्मेदवारसँग यहाँका मतदाताले खानेपानी, विद्यालय, सडक र रोजगारीको माग गरिरहेका छन्। 

डाँडाखर्क गाउँका दलित समुदायलाई खानेपानीको ठूलो समस्या रहेको र समस्या समाधानका लागि नेताहरूलाई आग्रह गरिएको स्थानीय ८० वर्षीया नन्दकुमारी बसेल बताउनुहुन्छ। उहाँले भन्नुभयो, “खानेपानीको साह्रै दुःख भयो। पहिला धारो हुँदा पुग्ने पानी आउँथ्यो, अहिले धारोमा पानी आउँदैन। रातभरि पाइप जोरजाम पारेर ल्याएको पानी बाँडेर खान्छौँ।” चुनावमा भोट माग्न आउने उम्मेदवारहरूले खानेपानीको प्रबन्ध, सडक, विद्यालय बनाइदिने र रोजगारीको व्यवस्था गरिदिन्छु भनेर पटक–पटक ढाँटेको अर्का स्थानीय ३५ वर्षका धनबहादुर बसेलले बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले मत दिएका नेताहरू वडाध्यक्ष, पालिका प्रमुख र मन्त्रीसमेत बने, उनीहरू सबैको जीवन सुध्रियो तर हाम्रा दुःख र समस्या ज्युँका त्युँ छन्।” 

डाँडाखर्कका दलित समुदायलाई अहिले खानेपानी, सडक, राम्रो विद्यालय र रोजगारीको अभाव रहेको उहाँले बताउनुभयो। गाउँमा सामान्य ज्याला मजदुरीसमेत पाइन छाडेपछि धेरै युवा विदेशिएको अर्का स्थानीय ४० वर्षीय वासु बसेल बताउनुहुन्छ। “गाउँमा सामान्य ज्याला मजदुरीसमेत पाइँदैन। खानेपानीको त्यस्तै समस्या छ, सडक राम्रो नहुँदा बिरामीलाई अस्पताल लैजानसमेत समस्या छ। अब हाम्रो समस्या कसले देख्ने,” उहाँले भन्नुभयो। 

सिन्धुपाल्चोक समाचारदाता चित्र मिजारका अनुसार सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३, धुस्कुनका रामु भण्डारीले घरदैलोमा मत माग्न आएका प्रतिनिधि सभा क्षेत्र नं. १ का गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार माधव सापकोटा (सुबोध) र प्रदेश सभा क्षेत्र १ का गठबन्धन उम्मेदवार मसिना खड्का भण्डारीलाई भोट चाहिने भए समयमै रासायनिक मल उपलब्ध गराउनुपर्ने र बालीनाली संरक्षणका लागि बाँदर नियन्त्रण गर्नुपर्ने माग राख्नुभयो।  

सोही स्थानका अर्का किसान लोकबहादुर श्रेष्ठले सबै पार्टीका उम्मेदवार भोट माग्न आइरहेका जानकारी दिँदै किसानहरूले मल, बीउको समस्या खेप्दै आएको बताउनुभयो। “किसानका समस्या सुनाउँछौँ, उम्मेदवारहरूले समयमै मल उपलब्ध गराउने वाचा गरेका छन्। हेरौँ, नेताहरूले किसानका समस्या सुन्छन् कि सुन्दैनन्,” उहाँले भन्नुभयो। 

केही वर्षदेखि सिन्धुपाल्चोकका किसानले समयमै रासायनिक मल नपाउने समस्या खेप्दै आएका छन्। मल नपाउँदा बालीनाली राम्रो उत्पादन हुन सकेको छैन। बाँदर, दुम्सी, बँदेललगायतका जङ्गली जनावरले किसानलाई हैरान पारेको छ। 

प्रतिनिधि सभा सदस्य उम्मेदवार सापकोटाले समुदायका समस्या समाधान गर्दै विकास निर्माणका कामलाई तीव्रता दिने वचनबद्धता गर्नुभयो। 

सिन्धुपाल्चोकका नागरिकले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारसँग सडक, खानेपानी, सिँचाइ, शिक्षा, स्वास्थ्यलगायत विकास निर्माणको माग गरेका छन्। 

‘मल र बीउसहित आउँछु’

चितवन समाचारदाता शालिग्राम नेपालका अनुसार चितवन–३ मा प्रतिनिधि सभा उम्मेदवार तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले आगामी मङ्सिर ४ पछि किसानको खेतमा मल र बीउसहित हलो बोकेर आउने बताउनुभएको छ। 

चुनावी घरदैलोका क्रममा भरतपुर–१४, राधापुरस्थित कालिका मन्दिर चोकमा भएको कार्यक्रममा बोल्दै पूर्वमन्त्री पाण्डेले किसानले गर्न चाहेर पनि सरकारले नचाहँदा सोचेजस्तो काम गर्न नसकेकाले हरेक किसानको प्रतिनिधित्व गर्ने गरी काम गर्न चितवन–३ बाट उम्मेदवार बनेको बताउनुभयो। सुन फलाउन सकिने चितवनमा सरकारको लाचारीपनका कारण अन्न पनि फलाउन नसकेको उहाँले बताउनुभयो। 

नेपाललाई कृषि क्षेत्रमा उत्पादन वृद्धि गरी विश्वकै नमुना देश बनाउन सकिने उहाँको भनाइ छ। देशलाई नमुना बनाउन एउटा निर्वाचन क्षेत्रका लागि एक जना सक्षम नागरिक आवश्यक परेकाले चितवन–३ को जिम्मा लिन आफू आइपुगेको नेता पाण्डेको भनाइ छ। 

देशमा वास्तविक किसान सरकारी अनुदान पाउनबाट वञ्चित भइरहँदा कागजी किसान र नेताका किसानले अनुदान खाइरहेकोसमेत उहाँले बताउनुभयो। नेताको खल्तीका किसानले सरकारी अनुदान खाइरहेको तीतो यथार्थ भोगिरहेको बताउँदै उहाँले भन्नुभयो, “वास्तविक किसान त बैङ्कमा ऋण तिर्न नसकेर मर्नु न बाँच्नु हुनु परेको छ।” यी सब समस्या समाधान गर्न आफूले नेतृत्व लिन चाहेको नेता पाण्डेले बताउनुभयो । 

आगामी पाँच वर्ष पछुताउन नपर्ने गरी मतदान गर्न उहाँले आग्रह गर्नुभयो। “म कुनै सांसद बन्न र मन्त्री बन्ने रहर बोकेर चुनावमा होमिएको होइन, चितवन–३ को तीव्र विकासका लागि आएको हुँ,” उहाँले भन्नुभयो, “तपाईंहरूले मलाई जिताएर पठाउनुस्, गुनासो गर्ने बाटो राख्दिनँ।” पाण्डेले सडक कालोपत्रे भएको दुई महिनामा उप्किने खालको होइन, वर्षौंसम्म टिक्ने गुणस्तरीय कालोपत्रे आवश्यक परेकाले गुणस्तरीय काम गर्नकै लागि राजनीतिमा आएको बताउनुभयो।