गोरखापत्र समाचारदाता
काठमाडौँ, असार २३ गते । यस वर्षको छिन्नलता गीत पुरस्कार पाँच स्रष्टालाई प्रदान गरिएको छ । छिन्नलता गीत पुरस्कार गुठीद्वारा आइतबार काठमाडौँमा आयोजित वरिष्ठ गीतकार रमोलादेवी शाह ‘छिन्नलता’ को १०३ औँ जन्मजयन्ती तथा ४३ औँ छिन्नलता गीत पुरस्कार लोकार्पण समारोहमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्रष्टालाई पुरस्कार प्रदान गर्नुभयो । सभामुख घिमिरेले सङ्गीत जनमानसमा प्रभावकारी रूपमा पुगेको बताउँदै गुठीले प्रतिभाको खोजी गरेर ४३ वर्षदेखि गरिरहेको कार्य प्रशंसनीय रहेको बताउनुभयो ।
गुठीका सचिव दिनेश अधिकारीले सङ्गीत विधामा सङ्गीत संयोजन र वाद्यवादनलाई पनि समेटिनुपर्ने सुझाव आएको बताउँदै यस वर्षदेखि गुठीले सङ्गीत विधा अन्तर्गत दुवैलाई समेट्ने बताउनुभयो । यस वर्षको छिन्नलता गीत पुरस्कार अन्तर्गत गीततर्फ राजेन्द्र रिजाल, सङ्गीततर्फ अच्युतप्रसाद फुयाँल (आभाष) र गायनतर्फ इतु जोजिजु र रामभक्त जोजिजु संयुक्त रूपमा प्रदान गरिएको छ । पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ । यसै गरी युवा प्रतिभातर्फ सङ्गीत र गायनका लागि एसडी योगीलाई पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि पचास हजार रुपियाँ रहेको छ ।