• १३ असोज २०८१, आइतबार

निर्वाचनको तयारी अन्तिम चरणमा, सुरक्षा व्यवस्था कडा

blog

मीना कँडेल

कावासोती, कात्तिक ३० गते । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि आवश्यक कार्य तीव्र गतिमा अगाडि बढाइएको जिल्ला निर्वाचन कार्यालय नवलपुरले जनाएको छ । 

निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न गराउन जिल्लाका सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायतले अन्तिम तयारी गरिरहेको बताइएको छ । यस जिल्लामा कात्तिक १८ गतेदेखि जारी मतदाता शिक्षा कार्यक्रम आगामी मङ्सिर १ गतेसम्म सञ्चालन हुनेछ । कम्तीमा १५ जना व्यक्तिलाई मतदाता शिक्षा दिनुका साथै एउटा मतदाता शिक्षा सामग्री उपलब्ध गराइएको छ ।

जिल्लाका स्वास्थ्य स्वयंसेविकामार्फत मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो । मतदानमा प्रयोग हुने सबै सामग्री प्याकिङको काम पनि अन्तिम चरणमा पुगेको छ । मतदाता नामावली विवरण तयारीसँगै स्वीकृत भएको जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालले जानकारी दिनुभयो  । 

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार सबै मतदान केन्द्रमा आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको छ । उहाँले निर्वाचन निष्पक्ष र भयरहित तवरले सम्पन्न गराउन सुरक्षा निकाय प्रतिबद्ध रहेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख भुवनेश्वर तिवारीले निर्वाचन सुरक्षा तथा व्यवस्थापनका लागि नेपाल प्रहरी ८४१ जना, सशस्त्र प्रहरी ३५२ जना, म्यादी प्रहरी एक हजार २८६ जना गरी दुई हजार ४७९ जना परिचालन गरिएको जानकारी दिनुभयो । 

त्यस्तै राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी र नेपाली सेनासमेत परिचालन गरिएको छ । निर्वाचन कार्यालय प्रमुख भुसालका अनुसार सङ्घ र प्रदेशतर्फ आवश्यक प्रत्यक्षतर्फको मतपत्र जिल्लामा आइपुगेको छ । 

नवलपुर क्षेत्र नं. १ का लागि एक लाख ४५ हजार, प्रदेशतर्फ १ (क)का लागि ७० हजार, (ख)का लागि ७५ हजार गरी दुई लाख ९० हजार मतपत्र छापिएका छन् । निर्वाचन क्षेत्र नं. २ का लागि एक लाख ४३ हजार, प्रदेशतर्फ २ (क)का लागि ७१ हजार र (ख)का लागि ७२ हजार मतपत्र गरी जम्मा दुई लाख ८६ हजार मतपत्र आइपुगेको कार्यालय प्रमुख भुसालले बताउनुभयो ।

सबै मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक सुरक्षा प्रबन्धसहित राखिएको उहाँले बताउनुभयो । दुई प्रतिनिधि सभा र चारवटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको नवलपुरमा दुई लाख ६० हजार ४६१ मतदाता रहेका छन् ।