• १५ असार २०८१, शनिबार

बाजुरामा गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा

blog

प्रकाशविक्रम शाह/शेरबहादुर सार्की/जीवनकुमार कैला

धनगढी, कात्तिक ३० गते । मङ्सिर ४ गते हुने निर्वाचनमा बाजुरामा पाँच दलीय गठबन्धन र नेकपा (एमाले) बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।  एमालेबाट स्थायी कमिटी सदस्य ५४ वर्षीय कर्णबहादुर थापा र पाँच दलीय गठबन्धनबाट नेपाली काँग्रेसका सह महामन्त्री ४८ वर्षीय बद्रीप्रसाद पाण्डे उम्मेदवार रहनु भएको छ । 

काँग्रेस र एमालेका उम्मेदवार राष्ट्रिय रुपमा पनि परिचित अनुहार भएकोले उहाँहरू बिचको प्रतिस्पर्धालाई रोचकताका साथ हेरिएको छ ।  एमालेका थापा २०५६, २०६४, २०७० र यो पटक सहित चौथो पटक चुनावी मैदानमा हुनुहुन्छ  । २०७० मा जीत हासिल गर्नु भएका थापा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको संयुक्त सरकारमा उद्योग मन्त्री समेत हुनु भएको थियो । काँग्रेसका सह महामन्त्री पाण्डे भने पहिलो पटक प्रत्यक्ष निर्वाचनमा होमिनु भएको छ । यसअघि उहाँ समानुपातिक तर्फबाट संविधान सभा सदस्य र राष्ट्रिय सभा सदस्य बन्नु भएको थियो । 

दुई वटै उम्मेदवार थापा र पाण्डेको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाटै भएको हो । थापा २०४९ को स्ववियू निर्वाचनमा नेपालकै चर्चित नेपाल ल क्याम्पसको सभापति बन्नु भएको थियो । भने पाण्डे पनि वाल्मीकि क्याम्पसको सभापति बन्नु भएको थियो । २०४८ सालदेखि नै एक एक मात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा २०४८, २०५६ र २०६४ सालको निर्वाचनमा नेपाली काँग्रेस र २०५१, २०७० र २०७४ सालको निर्वाचनमा एमालेका उम्मेदवार विजयी  भएका थिए ।

अहिलेसम्म भएका चार वटा स्थानीय चुनावमा पनि एमाले र काँग्रेसले बराबर जीत निकालेका छन् । २०४९ र २०७४ को स्थानीय चुनाव काँग्रेस र २०५४ र २०७९ को चुनाव एमालेले जितेको थियो । २०७४ सालको स्थानीय तह निर्वाचनमा बाजुराका नौमध्ये छ स्थानीय तहमा नेपाली काँग्रेस र तीनमा एमालेका उम्मेदवार विजयी भएका थिए भने यस पटकको स्थानीय तह निर्वाचनमा एमालेले पनि छ स्थानीय तह जितेको छ । काँग्रेसको हातमा भने तीन पालिका मात्र परेका छन् । 

गत स्थानीय तहको निर्वाचनमा बाजुराका ६९ वडामध्ये एमालेले ३७, काँग्रेसले २८ र माओवादीले चार वडा जितेको छ । वडाको मतका आधारमा गठबन्धन झिनो मतले अगाडि छ तर दलहरूको एकल मतलाई आधार मान्ने हो भने एमाले अगाडि छ । वडाध्यक्षहरूले पाएको मतका आधारमा बाजुरामा एमालेले २८ हजार ७३४, काँग्रेसले २३ हजार १४१, नेकपा (माओवादी केन्द्र) ले चार हजार २२९ मत र नेकपा (एकीकृत समाजवादी) ले एक हजार ६८८ मत पाएको छ । 

प्रदेश सभा सदस्यमा पनि कडा प्रतिस्पर्धा

बाजुरामा दुई वटै प्रदेश सभा सदस्यमा पनि कडा प्रतिस्पर्धा छ । प्रदेश सभा ‘क’ मा मतका आधारमा एमाले सत्तारुढ गठबन्धनभन्दा १०१९ मतले अगाडि छ  । प्रदेश सभा ‘क’  मा २८ वडा रहेकोमा एमालेले १५ र काँग्रेसले ११ र माओवादीले दुई वडा जितेको छ । जसअनुसार एमालेको ११ हजार ४२२, काँग्रेसको सात हजार ६४८, माओवादीको एक हजार ७५६ र एकीकृत समाजवादीको ९९९ मत रहेको छ । 

प्रदेश सभा ‘क’ मा गठबन्धनका दल माओवादी र समाजवादीले मित्रवत् प्रतिस्पर्धा भन्दै फरक फरक व्यक्तिलाई चुनावी मैदानमा उतारेकोले स्थानीय चुनावको आधारमा केही मत अगाडि रहेकोले एमाले सहजै जित्ने आकलनमा छ । एमालेले हालका प्रदेश सभा सदस्य ४४ वर्षीय बलदेव रेग्मीलाई फेरि चुनावमा उठाएको छ । समाजवादीले युवा सङ्घका केन्द्रीय अध्यक्ष ४१ वर्षीय नरेशकुमार शाही र माओवादीले पूर्व राज्यमन्त्री ४१ वर्षीय कर्णबहादुर विकलाई चुनावमा उठाएको छ ।

समाजवादीका शाही स्थानीय तहको चुनावमा प्राप्त मत जित्ने÷हार्ने आधार नहुने बताउँदै अरू उम्मेदवारको क्षमता जनताले थाहा पाइसकेको र आफू नयाँ भएकोले जनअपेक्षा मुद्दा लिएर जनताबिच गएकोले आफूले नै जित्ने बताउनुहुन्छ । माओवादीका विक आफूले जनताका हितमा धेरै काम गरेको बताउँदै जनताले न्याय गर्ने बताउनहुन्छ । भने एमालेका रेग्मी प्रदेश सभा हुँदा आफूले धेरै काम गरेकोले जनताले कामको मूल्याङ्कन गर्ने बताउनुहुन्छ । 

प्रदेश सभा ‘ख’ मा ४१ वडा छन् । ती मध्ये एमालेले २३, काँग्रेसले १६ र माओवादीले दुई वडा जितेको छ । जसअनुसार एमालेले १७ हजार ३१२, काँग्रेसले १५ हजार ४९३, माओवादीले दुई हजार ४७३ र समाजवादीले ६८९ मत पाएका छन् । सो मतका आधारमा सत्तारुढ गठवन्धन एक हजार ३४३ मतले अगाडि छ । सो क्षेत्रमा एमालेका केन्द्रीय सदस्य तथा २०७४ सालको प्रतिनिधि सभा सदस्यमा निर्वाचित ५५ वर्षीय लालबहादुर थापा र काङ्ग्रेसबाट ५८ वर्षीय पदमबहादुर शाही चुनावी मैदानमा हुनुहुन्छ । 

एमालेका थापा आफूले जिल्ला विकास समितिको सभापति र गत चुनावबाट प्रतिनिधि सभा सदस्यका रुपमा काम गर्दा गरेको कामले जनताको साथ पाउने विश्वास गर्नुहुन्छ । भने शाहीले आफूले जनताका बिचमा काम गर्ने अवसर नपाएकोले जनताले काम गर्ने अवसर दिने दाबी गर्नुहुन्छ । उहाँले आफू अन्तिम पटक चुनाव लड्ने बताउँदै आउनु भएको छ । उहाँ २०७० मा संविधान सभा सदस्य र २०७४ मा प्रदेश सभा सदस्यमा पराजित हुनु भएको थियो । 

२०५४ मा एमालेका उम्मेदवार थापा जिविस सभापति हुँदा शाही सदस्य हुनुहुन्थ्यो । उहाँ २०४९ समेत जिविस सदस्यमा निर्वाचित हुनु भएको थियो ।