महोत्तरी समाचारदाता
महोत्तरी, असार २० गते । महोत्तरीको नापी कार्यालयले महोत्तरीमा चालु आर्थिक वर्षको अन्तिमसम्ममा एक हजारभन्दा बढी घरपरिवारलाई लालपुर्जा (जग्गाधनी प्रमाण पुर्जा) वितरण गरेको छ । लालपुर्जा वितरण कार्यलाई असारको अन्तिममा थप तीव्रता दिइएको नापी कार्यालय महोत्तरीले जनाएको छ । स्थानीयले जमिनको लालपुर्जा अभावमा बैङ्कबाट सहुलियतपूर्ण ऋण पाउन तथा घरखर्चका लागि जमिन बिक्री गर्न असमर्थ थिए ।
नापी कार्यालय महोत्तरीका प्रमुख नापी अधिकृत रामविनयकुमार सिंहले नापी कार्यालयले यस आवमा १५ वटा गाउँ (तत्कालीन समयको गाउँ विकास समिति) मा रहेको गाउँ ब्लकको जग्गाको लालपुर्जा वितरण गर्ने लक्ष्य लिइएकोमा अहिलेसम्म १२ वटा गाउँको वितरण गरिसकिएको र तीन वटाको असारको अन्तिमसम्ममा वितरण गरिसक्ने जानकारी दिनुभयो ।
उहाँले जिल्लाको रामनगर, भरतपुर, बर्दीबास, वैरगियालक्ष्मीनिया, सरपल्लो, पडौल, बेलगाछी, फुलहट्टा परिकौलीको विभिन्न वडामा यसअघि नै लालपुर्जा वितरण गरिसकिएको जनाकारी दिनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय जलेश्वर नगरपालिका–१२ को पिगौना, महोत्तरी गाउँपालिकाको वडा नं. १ र २ तथा बलवा नगरपालिका–१० स्थित धमौरा बस्तीमा गएर लालपुर्जा वितरण गरिएको छ ।”
जलेश्वर नगरपालिका–१२, पिगौनामा १६० परिवारलाई एक कार्यक्रम गरी लालपुर्जा वितरण गरिएको नापी प्रमुख सिंहले जानकारी दिनुभयो । स्थानीय पालिकाका प्रमुख उपस्थित भएर लालपुर्जा वितरण कार्यमा सहयोग गरेको बताउनुभयो ।
जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनारले बर्सौंदेखि जग्गाको हकभोग गरे पनि लालपुर्जा अभावले जग्गाको मालिक बन्न नसकेका लालपुर्जा पाएपछि खुसी भएको बताउनुभयो ।
त्यस्तै महोत्तरी गाउँपालिकाको वडा नं. १ र २ का स्थानीयलाई गाउँपालिकाको कार्यालयमा एक कार्यक्रम आयोजित गरी पालिका प्रमुख दिलीप पाण्डेयले लालपुर्जा वितरण गर्नुभयो ।
महोत्तरी गाउँपालिका–१ का २४९ जना र वडा नं. २ को १४८ जना जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष दिलीप पाण्डेयले विसं २०६९ देखि नै स्थानीयवासी जग्गाको लालपुर्जाका लागि प्रक्रियामा लागेको जानकारी दिँदै तीन दशकपछि प्रव्रिmयाले मूर्त रूप लिएकोमा खुसी व्यक्त गर्नुभयो ।
त्यसै गरी बलवा नगरपालिका–१० स्थित धमौरा बस्तीका १६० घरधुरीलाई लालपुर्जा वितरण गरिएको छ । यससँगै दशकौँदेखि जग्गाविहीनताको अवस्थामा रहेका स्थानीयवासी कानुनी रूपमा जग्गाको मालिक बन्न सफल भएका छन् ।
बलवा नगरपालिका–१० को आयोजनामा आयोजित वितरण समारोहमा नगरप्रमुख रामविजय महतोले जग्गाको स्वामित्वसँगै गरिबी निवारण र जीवनस्तर उकास्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले लालपुर्जा एउटा कागज मात्रै नभई गरिबी मुक्तिको दिशामा एउटा पाइला भएको प्रतिव्रिmया दिनुभयो ।
नापी टोली प्रमुख सर्फुदिन अन्सारीले कैयौँ महिनाको निरन्तर मापन, विवरण सङ्कलन र आवश्यक कागजात प्रव्रिmयापछि मात्रै लालपुर्जा वितरण गर्न योग्य हुने बताउनुहँुदै यसमा समय लाग्ने गरेको बताउनुभयो ।
नापी अधिकृत रामविनयकुमार सिंहले जिल्लाको सिमरदही, मझौरा तथा हत्तिसर्वाको विभिन्न वडाको लालपुर्जा पनि तयारी अवस्थामा रहेकाले अबको १० दिनमा ती सबै वितरण हुने जानकारी दिनुभयो ।