• १५ असार २०८१, शनिबार

दुई वर्षमा बन्नुपर्ने सात करोड लगानीको पुल पाँचमा पनि बनेन

blog

शारदा नदी शङ्खमुलमा निर्माण सुरु भएको पक्की पुल पाँच वर्ष बितिसक्दा पनि निर्माण हुन सकेको छैन । पुल नहुदा स्थानीयलाई सास्ती भएको छ । तस्बिर: प्रतीक इच्छुक शर्मा

सल्यान, कात्तिक ३० गते । शारदा नदिको शंखमुलमा निर्माणाधीन पुल अलपत्र परेको छ ।  छत्रेश्वरी गाउँपालिका–६ र ७ जोड्ने गरी शारदा नदीमा पक्की पुल निर्माण गर्न थालेको ५ वर्ष बितिसक्दा पनि पुल निर्माण हुन सकेको छैन । आधा पुलको काम भएको धेरै समय बिते पनि थप काम हुन सकेको छै ।

सडक डिभिजन कार्यालय, दाङले र  एसबीए–सूर्य जेभी बिच दुई वर्षमा पुल निर्माण सम्पन्न गरिसक्नुपर्ने गरी सम्झौता  भएको भए पनि पाँच वर्ष बिती सक्दा पुलको अहिलेसम्म तीन  वटा पिलर ठड्याई एक भागमा मात्र ढलान गरिएको छ । ६ करोड ८० लाख ७२ हजार रुपैयाँको लागतमा पुल निर्माणको ठेक्का लागेको थियो । 

एसबीए–सूर्य जेभी आफूले पाएको ठेक्का  भूपाल विश्वकर्मालाई काम गर्ने जिम्मा दिएको तर विश्वकर्माले विभिन्न बहाना बनाई बिचबिचमा काम छाड्दै आएकाले ढिलाइ भएको हो । पुल अहिले निर्माण अलपत्र छ । ठेकेदार कम्पनीले छाडेका सामग्री त्यत्तिकै थन्किएका छन् । स्थानीय यज्ञबहादुर केसीले पुल नबन्दा स्थानीयले यात्रामा सास्ती पनि भोगिरहे बताउनुभयो । सडक कार्यालयका कर्मचारीकै मिलेमतोका कारण पुल निर्माणमा ढिलाइ भएको उहाँको आरोप छ । 

राप्ती लोक मार्ग हुँदै दारिमज्युला–झिम्पे–खर्सुबास जानका लागि शारदा नदीमा पक्की पुल बनाउन थालिएको थियो । काम बिचैमा रोकिएपछि अहिले दारिमज्युला र खर्सुबास जाने गाडीहरू शंखमूलमा अलपत्र हुने गरेको छ । 

स्थानीय बलदेव केसीले पुल निर्माण गर्दा शारदा नदीमा भएको दोहनका कारण सिँचाइ कुलो पुरिँदा वर्षैपिच्छे धान बालीमा सिँचाइ गर्न समस्या हुने गरेको बताउनुभयो । उहाँका अनुसार पुल निर्माण भइरहेको ठाउँबाट खेतीयोग्य जमिनमा ल्याउने सिचाई कुलो पुरिएको छ । यसले गर्दा किसानलाई समस्या भएको छ । 

पुल निर्माणका लागि २०७४ असार २१ मा सम्झौता भएको थियो । सम्झौतामा २०७६ असार २० मा काम सम्पन्न गर्नुपर्ने उल्लेख छ । तर, काम नसकिएपछि कार्यालयले पहिलो पटक २०७७ पुस ३० सम्म, दोस्रो पटक २०७८ असार १२ सम्म, तेस्रो पटक २०७८ चैत ३० सम्म र चौथो पटक २०८० जेठ ३० सम्म म्याद थप गरेको छ । 

सडक डिभिजन कार्यालयका दाङका इन्जिनियर राकेश महर्जनले यसपालि अन्तिमपल्ट म्याद थप गरी निर्माण छिटो सक्न ताकेता गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार ७० मिटर लम्बाइको उक्त पक्की पुलमा भौतिक प्रगति ७२ र वित्तीय प्रगति ७१ प्रतिशत मात्र भएको छ । 

Author

प्रतीक इच्छुक शर्मा