मानव सभ्यताको क्रमसँगै ढुङ्गे युगलाई धातुका औजारले, औजारलाई मेसिनले र मेसिनलाई सूचना प्रविधिले विस्थापित गर्यो । अझ अहिले त सूचना प्रविधिलाई पनि पछि पार्दै कृत्रिम बौद्धिकताले ठाउँ ओगटिसक्यो । डिजिटल एवं सूचना प्रविधिले हाम्रो जीवनलाई सुविधाजनक बनाइदिएको छ, सञ्चारदेखि शिक्षासम्म र सबै क्षेत्रमा एक किसिमको क्रान्ति ल्याइदिएको छ । प्रविधिको द्रुततर विकासले गर्दा आज सम्पूर्ण विश्व साँघुरिएर एउटा सानो गाउँ जस्तो भएको छ । बिहान चिया/कफीको चुस्कीसँगै संसारभरका ताजा खबर प्राप्त हुन थालेका छन् । मतलब हरेकको हातमा (मोबाइल) विश्वव्यापी सूचना प्राप्त गर्ने अखबार छ संसारको लाइब्रेरी छ, इन्साइक्लोपेडिया उपलब्ध छ ।
संसारको एउटा कुनाबाट अर्को कुनामा बस्ने मानिससँग कुनै पनि बेला सहजै कुरा गर्न सकिन्छ, विचार आदानप्रदान र भावना सेयर गर्न सकिन्छ त्यो पनि प्रत्यक्ष रूपमा अनुहार हेराहेर गरी । विद्यार्थीले विद्यालय, कलेज होस् वा विश्वविद्यालय घरमै बसेर पढ्न सक्ने सुविधा उपलब्ध छ भने जागिर खानेका लागि यही प्रविधिले ‘वर्क फर्म होम’ को सुविधा उपलब्ध गराएको छ । संसार जति डिजिटलमय हुँदै गएको छ, त्यसले मानिसको दिनचर्यालाई सरल र सहज बनाइदिएको छ । ट्राफिक जाम छिचल्दै घण्टौँ लाइन लाएर बैङ्किङ सेवा लिन बैङ्क धाइरहनु पर्दैन अहिले ।
स्कुल, कलेजको शुल्क तिर्नुहोस् वा बिजुली, पानी, इन्टरनेटको बिल तिर्न आफ्नो महत्वपूर्ण समय खर्च गरिरहनु पर्दैन । कनेक्ट आइपिएस, मोबाइल एप्स र क्युआर कोडबाट सबै काम मिनेटभरमै फत्ते हुन्छ । कसैलाई पैसा तिर्न डराई डराई झोलामा बिटाका बिटा पैसा लिएर हिँड्नुपर्ने अवस्थालाई पनि यही डिजिटल एवं सूचना प्रविधिले हटाइदिएको छ । यद्यपि धेरै जसो सरकारी, गैरसरकारी सङ्घसंस्था र व्यापारिक प्रतिष्ठानहरूले सूचना प्रविधिमा आफ्नो उपस्थिति जनाउँदै डिजिटल प्रविधिको प्रयोग गर्दै छन् । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यमबाट नै उपलब्ध गराउने कुरामा जोडदिएको पाइन्छ भने अझ बैङ्क तथा वित्तीय संस्थाहरूले त क्यासलेस र पेपरलेसको अवधारणा लागु गरिसके ।
मुलुकको शिक्षा, स्वास्थ्य, सञ्चार, आर्थिक, राजनीतिक, सामाजिक, प्राविधिक, औद्योगिक, प्रशासनिक एवं सांस्कृतिक क्षेत्रको विकासमा डिजिटल एवं सूचना प्रविधिले ठुलो योगदान दिँदै आएको छ भने यसका केही अँध्यारा पक्षबाट समाजमा गम्भीर प्रकृतिका अपराध हुने गरेको पाइन्छ । यी सबै कुरालाई मनन् गर्दा डिजिटल एवं सूचना प्रविधिले एउटा सन्दर्भमा विभिन्न झन्झट र जोखिम न्यूनीकरण गरेको पाइन्छ भने अर्कातर्फ सुरक्षा चुनौती पनि सिर्जना गरेको कुरालाई नकार्न सकिँदैन । दुनियाँ सूचना प्रविधि र डिजिटलमय बन्दैगर्दा यसबाट हिंसा, आतङ्क, तनाव, साइबर बुलिङ, साइबर थ्रेट र यस्तै अन्य समस्या सृजित भएका छन् । सामान्य अर्थमा भन्नुपर्दा सूचना प्रविधिको उपयोगमार्फत अनधिकृत रूपमा पहुँच स्थापित गर्दै व्यक्तिगत, संस्थागत र सार्वजनिक सुरक्षामा खलल पार्दै समाजमा एक किसिमको आतङ्क सिर्जना गर्ने काम भएको छ जसलाई हामी साइबर क्राइम भन्छौँ ।
डिजिटल दुनियाँमा इन्टरनेट सेवाग्राही/प्रयोगकर्ता साइबर सुरक्षाका विषयमा आफू जागरुक एवं सचेत नभएको कारणले र एप तथा अनलाइन सेवाप्रदायक संस्थाले सफ्टवेयर र वेबसाइट बनाउँदा साइबर सुरक्षाका पर्याप्त मापदण्ड तथा उपाय अवलम्बन नगर्दा र इन्टरनेट सेवाप्रदायकले पनि साइबर सुरक्षामा पर्याप्त ध्यान नदिँदा सुरक्षा चुनौती बढ्नुका साथै सेवाग्राही साइबर आक्रमणको सिकार हुन पुगेका छन् । खास गरी नेपालमा महिला, बालबालिका, विद्यार्थी र डिजिटल साक्षरता कम भएका व्यक्तिलाई आक्रमणकारीले निसाना बनाएको अध्ययनले देखाएको छ । जीवनशैली र सूचना प्रविधिमा आएको आमूल परिवर्तन र विकाससँगै सूचना प्रविधिको व्यापक प्रयोग हुँदै जाँदा साइबर अपराधका घटना बढेकोले समस्या र चुनौती थपिँदै गएका छन् ।
समस्या र चुनौती
डिजिटल विश्वको विस्तार स्मार्टफोन, क्लाउड कम्प्युटिङ, कृत्रिम बौद्धिकता र इन्टरनेट अफ थिन्ग्स जस्ता प्रविधिको कारणले सम्भव भएको हो । हालसम्म संसारभर ५.५ अर्ब इन्टरनेट प्रयोगकर्ता छन्, जुन विश्व जनसङ्ख्याको लगभग ६५ प्रतिशत हो । यो विस्तारले मानिसलाई सूचना, सम्पर्क र अवसरमा पहुँच त प्रदान गरेको छ यसका साथसाथै साइबर अपराध गर्नेहरूलाई नयाँ अवसर पनि दिएको छ । नेपाल जस्तो विकासोन्मुख देशमा जहाँ डिजिटल साक्षरता र साइबर सुरक्षासम्बन्धी चेतना सीमित छ, यसको साइबर अपराधीले नाजायज फाइदा उठाउँदै आएका छन् ।
नेपालमा साइबर सुरक्षाका लागि प्रभावकारी कानुनी व्यवस्था, संस्थागत संरचना, भौतिक तथा प्राविधिक पूर्वाधारको कमी, दक्ष जनशक्तिको कमी, साइबर सुरक्षासम्बन्धी सचेतना र पैरवी नहुनु, राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा साइबर सुरक्षासम्बन्धी समन्वयको अभाव र सूचना प्रविधिको क्षेत्रमा राज्यको न्यून लगानीले यसमा समस्या विद्यमान रहेको देखाउँछ । सार्वजनिक सेवालाई विश्वसनीय डिजिटल प्रणालीमा रूपान्तरण गर्दै र नागरिकका व्यक्तिगत गोपनीयताको सुरक्षाको प्रत्याभूति कायम गर्दै नागरिकमा डिजिटल साक्षरता अभिवृद्धि गर्ने काम चुनौतीका रूपमा रहेको देखिन्छ ।
अहिले झगडा गर्न वा कुनै वितृष्णा पोख्न कुनै मैदान खोजिरहनु पर्दैन । कसैप्रति रिस उठ्यो भने रिस पोख्न स्टाटस लेख्यो बस पुगिहाल्यो । फेसबुक, ट्विटर र टिकटक जस्ता प्लेटफर्मले मानिसलाई आफ्ना आक्रोश, असहमति र असन्तुष्टि तत्कालै व्यक्त गर्ने मन्च प्रदान गरेका छन् । एउटा सानो टिप्पणी, पोस्ट वा भिडियोले क्षणभरमै तर्कवितर्कको आँधी ल्याउन सक्छ, सम्बन्धमा टकराव निर्माण गर्न सक्छ । सूचना एवं प्रविधिको क्षेत्रमा हुने ह्याकिङ, डेटा चोरी र ¥यानसमवेयरले व्यक्ति र संस्थालाई जोखिममा पारेको अवस्था छ । सामाजिक सञ्जाल र सेवाप्रदायक संस्थाले हाम्रा नितान्त निजी जानकारीप्रति संवेदनशील र जिम्मेवार नबन्दा गोपनीयतामाथि प्रश्न उठेको अवस्था छ भने अर्कातिर सामाजिक सञ्जालमा फैलिने मिथ्या र भ्रामक सूचनाले डिजिटल एवं सूचना प्रविधिमाथि नै प्रश्नचिह्न खडा गरेको छ ।
समाधानको बाटो
आजको डिजिटल युगमा विभिन्न किसिमका साइबर अपराध जस्तै – एटिएमबाट पैसा चोरी हुने, बैङ्क सिस्टम ह्याक गर्ने, अनधिकृत रूपमा रकम झिक्ने, डेटा चोरी गर्ने, फेसबुक ह्याक हुने र गलत सन्देश पोस्ट हुने जस्ता समाचार नितान्त सामान्य बनिसकेका छन् । यस्ता समस्याले खास गरी व्यक्तिगत, आर्थिक र सामाजिक सुरक्षामा गम्भीर चुनौती खडा गरेको अवस्था छ अहिले । यस्ता गम्भीर समस्या समाधान गर्न बहुआयामिक उपाय अपनाउनु आवश्यक छ । जस्तै, बलियो साइबर सुरक्षा प्रणालीको विकास गर्न सकियो भने, डिजिटल साक्षरता र जनचेतना फैलाउन सकियो भने, प्राविधिक नवपवर्तन र अनुसन्धान गर्न सकियो भने धेरै हदसम्म साइबर अपराध कम हुन सक्छ ।
संस्थागत र व्यक्तिगत जिम्मेवारीलाई प्रभावकारी बनाउँदा र सरकारले साइबर अपराधलाई नियन्त्रण गर्न कडा कानुन र यसको प्रभावकारी कार्यान्वयनमार्फत पनि अपराध घट्न सक्छ । त्यसै गरी अन्तर्राष्ट्रिय साइबर सुरक्षा सन्धिमा सहभागिता बढाउनुका साथै अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नेपालमा डेटा संरक्षण नीति एवं कानुन बनाउन सकियो भने धेरै हदसम्म साइबर आक्रमणलाई न्यूनीकरण गर्न सकिन्छ । सूचना तथा सञ्चार प्रणालीमाथि हुने साइबर आक्रमणको जोखिम न्यूनीकरणका लागि नेसनल क्रिटिकल इन्फ्रास्ट्रक्चरको पहिचान एवं संरक्षण हुन जरुरी छ । त्यस्तै, सूचना तथा तथ्याङ्कमा अनधिकृत पहुँचलाई नियन्त्रण गर्न सकेमा पनि साइबर आक्रमण कम हुने छ ।
अन्त्यमा एकातिर नेपालमा दिनानुदिन साइबर अपराध बढ्दै गएको अवस्था छ भने अर्कातिर पूर्वाधार र जनचेतनाको कमीले समस्या जटिल बन्दै गएको छ । सरकारले सूचना प्रविधि ऐन, २०७५ लाई थप प्रभावकारी बनाउनु आवश्यक छ । साइबर अपराधीलाई तत्काल कारबाही र कडा सजायको व्यवस्था गर्नु जरुरी छ । नेपाल टेलिकम र निजी इन्टरनेट प्रदायकले सुरक्षित नेटवर्क प्रदान गर्न सकेमा, नेपाल प्रहरीको साइबर ब्युरोलाई बलियो एवं प्रभावकारी बनाउन सकेमा, जनमानसमा डिजिटल र सूचना प्रविधिसम्बन्धी शिक्षा र सचेतना प्रदान गर्न सकेमा साइबर आक्रमण एवं अपराधका घटनालाई कम गर्न सकिन्छ ।
नेपाल जस्तो विकासोन्मुख देशमा यी उपाय लागु गर्न सरकार, निजी क्षेत्र र व्यक्तिको संयुक्त प्रयास आवश्यक छ । डिजिटल विश्वलाई सुरक्षित, मर्यादित एवं प्रभावकारी बनाउन आजैबाट हामी सबैले जिम्मेवार कदम चालौँ ।