• २४ जेठ २०८२, शनिबार

वैद्यखानाले ल्यायाे पञ्चवर्षीय योजना

अब वैद्यखानाले सौन्दर्य प्रसाधनका सामग्रीको उत्पादन गर्दै

blog

काठमाडौँ, जेठ २३ गते । सिंहदरबार वैद्यखाना विकास समितिले सौन्दर्य प्रसाधनका सामग्रीको उत्पादन गर्ने भएको छ । वैद्यखानाका कार्यकारी निर्देशक डा प्रदीप केसीले ‘प्रथम पञ्चवर्षीय रणनीतिक योजना २०८२’ सार्वजनिक गर्दै सौन्दर्य प्रसाधनका सामग्रीको उत्पादन गर्ने योजना रहेको जानकारी दिनुभएको हो ।

पशु आयुर्वेद सम्बन्धी औषधी, आयुर्वेद औषधी पूरक खाद्य आहार उत्पादन गर्ने योजना रहेको डा केसीले बताउनुभयो । उहाँले वैद्यखानाले जैविक कीटनाशक आयुर्वेदिक औषधीको उत्पादन गर्ने, गुणस्तर मापन प्रयोगशालाको स्थापना गर्ने, फार्माकोभिजिलेन्स सेन्टर स्थापना गर्ने, नेपाल आयुर्वेद भेषण संहिताको निर्माण गर्ने, सङ्घ संस्थासँगको सहकार्यमा औषधीको खोज अनुसन्धान तथा नवप्रवर्तन गर्ने, औजार उपकरण, हस्तकला, शिल्पकला र पाण्डुलिपिको संरक्षण गर्ने, आयुर्वेद संग्राहालय स्थापना गरी सञ्चालन गर्ने, पुरातात्त्विक सम्पदाको रूपमा अभिलेख राख्ने योजना सुनाउनुभयो ।

साथै बहुसरोकारवाला पदाधिकारीयुक्त विकास समिति संरचना निर्माण गर्न पहल गरी नियमित कार्य सञ्चालन गर्ने, कार्यकारी निर्देशकको व्यवस्था अन्तर्गत कम्तीमा चार वर्षको कार्यकाल रहने गरी आयुर्वेद चिकित्सक रहने व्यवस्थाको लागि पहल गर्ने शुक्रवार सार्वजनिक योजनामा उल्लेख छ ।

सिंहदरबार वैद्यखानामा असल औषधी उत्पादन अभ्यास संहिता लागू गर्न आवश्यक पूर्वाधार उपकरणको जडान र सञ्चालन गर्ने योजना छ ।

वैद्यखाना सञ्चालन नियमावलीको पालना गर्ने, कच्चा पदार्थको उत्पादन छनौट तथा आपूर्तिदेखि औषधीको उत्पादन र बजारीकरण चक्रमा उपयुक्त प्राविधिक तथा प्रशासनिक मानव संशाधनयुक्त जनशक्ति सहितको सङ्गठन र दरबन्दी तयार गरी स्वीकृत गरी जनशक्ति व्यवस्थापन गर्ने योजना छ । त्यसैगरी, खटिने मानव संसाधन-कर्मचारीलाई स्वउत्प्रेरित बनाई टिकाइराख्न समयानुकूल समायोजन-पदस्थापन, अध्ययन, पदोन्नति उपदान, निवृत्तिभरण कोषलगायतका वृत्ति विकासका अवसर सिर्जना गर्ने ।

कार्यसम्पादनमा आधारित सूचक निर्धारण गरी कर्मचारीलाई उत्प्रेरणात्मक सुविधा प्रदान गर्ने, जबाफदेहितालाई बढवा दिँदै प्रोत्साहन र सजायको व्यवस्था लागू गर्ने, पुराना भवनको मर्मत सम्भार, भट्टीहरूको सुधार, धुवाँरहित चुलो निर्माण आधुनिक उपकरणको जडान गर्ने योजना छ ।

सिंहदरबार वैद्यखानामा असल औषधी उत्पादन अभ्यास संहिता लागू गर्न आवश्यक पूर्वाधार उपकरणको जडान र सञ्चालन गर्ने योजना छ । समुदायमा रहेका साना किसान सहकारी, जडीबुटी सहकारी, सामुदायिक वन उपभोक्ता समूह वा यस्तै प्रकृतिका संघसंस्थासँग वार्षिक सम्झौता गरी कच्चापदार्थ आपूर्ति गराउने ।

वैद्यखानाको आफ्नै जग्गा प्राप्ति गरी वा सामुदायिक वन वा सामुदायिक वन वा अन्यसँग लिजमा लिई हिमाली, पहाडी र तराई भेगमा उत्पादन, सङ्कलन तथा प्रशोधनका लागि जडीबुटी उद्यान बनाउने, जडीबुटीलगायतका कच्चा पदार्थको उचित भण्डारणका लागि सुख्खा वा चिस्यान कक्षको व्यवस्था गर्ने योजना वैद्यखानाको योजना छ । 

रणनीतिक योजना अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन चरणमा कार्यान्वयन गरिने

 रणनीतिको कार्यान्वयनका लागि सञ्चालन गर्नुपर्ने क्रियाकलापहरू, अनुमानित लागत, लक्ष्यसहित उपेक्षित नतिजा सूचनाहरु, समयावधि जिम्मेवारी पदाधिकारी वा निकाय तोकिएको समितिका सदस्य डा. पुष्पराज पौडेले जानकारी दिनुभयो । उहाँले रणनीतिक योजना अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन चरणमा कार्यान्वयन गरिने बताउनुभयो । उहाँका अनुसार अल्पकालीन योजनाको समयावधि एक देखि दुई वर्ष मध्यकालीनको दुई देखि चार वर्ष र दीर्घकालीनको पाँच वा सो भन्दा माथि रहने छ । 

प्रथम पञ्चवर्षीय रणनीतिक योजना २०८२ सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले रणनीतिक योजनामार्फत गुणस्तरीय आयुर्वेद औषधी उत्पादनमा आत्मनिर्भरता हासिल गर्दै अन्तर्राष्ट्रिय रूपमा निर्यात गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो। सोही क्रममा उहाँले संस्थाले आफ्नो अस्तित्व जोगाउन नसके राज्यको प्राथमिकतामा नपर्ने भन्दै आफ्नो अस्तित्व जोगाउने गरी काम गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा योजना आयोगका सदस्य डा. आरपी बिच्छाले रणनीतिलाई कार्यान्वयनमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले वैद्यखानाले व्यवस्थापकीय कमजोरीका कारण प्रगति गर्न नसकेको भन्दै व्यवस्थापकीयलाई सुध्रिन आग्रह गर्नुभयो ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।