• १५ असार २०८१, शनिबार

बाँकेमा निर्वाचनको सरगर्मी

सिक्टा र भेरी–बबई डाइभर्सन पूरा गर्ने सङ्कल्प

blog

अशोक अधिकारी / सिराज खान

बाँके, कात्तिक ३० गते । नेपाली कांग्रेसका सहमहामन्त्री एवं बाँके क्षेत्र नं. ३ का सत्ता साझेदार दलका उम्मेदवार किशोरसिंह राठौर जानकी गाउँपालिकामा चुनावी प्रचारप्रसारका लागि पुग्नुभयो । नेपालगञ्ज उपमहानगरपालिका नजिकै रहेको यस गाउँपालिकामा नेता राठौरले जनताका गुनासा सुन्नुभयो र गठबन्धनका लागि जनतासँग भोट माग्नुभयो । जनगुनासो सुनिसकेपछि उहाँले भन्नुभयो, “बाँके र बर्दियाका ग्रामीण क्षेत्रमा मुख्य समस्या सिँचाइसँगै तटबन्धको छ, यहाँबाट निर्वाचित भएपछि म यिनै कामबाट आफ्नो कार्यकाल सुरु गर्छु ।”

कांग्रेस सहमहामन्त्री राठौरले झन्डै दुई दशकदेखि निर्माणको चरणमा रहेको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनालाई पूर्णता दिने लक्ष्य राख्नुभएको छ । उहाँले नयाँ सरकार गठन भएलगत्तै सिक्टा सिँचाइ आयोजनासँगै भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनालाई पूर्णता दिने बताउनुभयो । 

उहाँले भन्नुभयो, “बाँके क्षेत्र नं. ३ को विकास र समुन्नतिको कुरा छँदैछ, मेरो प्राथमिकतामा बाँके र बर्दियाका ५०औँ हजार हेक्टर जमिन सिञ्चित गर्ने राष्ट्रिय गौरवका आयोजना पूरा गर्ने नै हो ।” उहाँले मुक्तकमैया तथा सुकुम्बासी समस्या समाधान गर्ने तथा आर्थिकोपार्जनका क्षेत्रमा काम गर्ने विषयमा पनि ध्यान दिने बताउनुभयो । 

युवा तथा खेलकुदमन्त्रीसमेत रहनुभएका नेकपा (माओवादी केन्द्र)का नेता एवं गठबन्धनका बाँके क्षेत्र नं. १ का उम्मेदवार महेश्वरजङ्ग गहतराज अथकले पनि राष्ट्रिय गौरवका आयोजनालाई पूर्णता दिनेसँगै जनजीविकासँग जोडिएका विषयलाई चुनावी मुद्दा बनाउनुभएको छ । उहाँले भन्नुभयो, “बाँकेमा विकास निर्माणले पछि परेका क्षेत्रहरूलाई एकीकृत विकास मोडलमार्फत समुन्नत बनाउने योजनाका साथ चुनावी अभियानमा जुटेको छु ।”

सत्ता गठबन्धनका तर्फबाट बाँके क्षेत्र नं. २ का उम्मेदवार एवं कांग्रेस नेता सुदीपनरसिंह राणाले मध्य र सुदूरपश्चिमको पुरानो बजार नेपालगञ्ज साबिकका चारवटा अञ्चलको हाटबजार भएकाले यस जिल्लाका उम्मेदवारहरूलाई नागरिकले अर्जुनदृष्टिका साथ हेर्ने बताउनुभयो । उहाँले जनताका ससाना समस्या पनि समाधान गर्ने उद्देश्यले आफू चुनावी अभियानमा होमिएको बताउनुभयो ।

जनता समाजवादी पार्टीका बाँके क्षेत्र नं. २ का उम्मेदवार एवं पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले अघिल्लो निर्वाचनमा पूरा नभएका काम यस पटक पूरा गर्ने लक्ष्य राखेको बताउनुभयो । त्यसैगरी नेकपा (एमाले)का बाँके क्षेत्र नं. ३ का उम्मेदवार किस्मतकुमार कक्षपतिले समृद्धिप्रतिको जनचाहना पूरा गर्ने आफ्नो अठोट रहेको बताउनुभयो । 

बाँके क्षेत्र नं. १ मा प्रतिनिधि सभातर्फ ११ जना, क्षेत्र नं. २ मा १६ जना र क्षेत्र नं. ३ मा ९ जनाको उम्मेदवारी परेको छ । प्रदेश सभाका ६ क्षेत्रमा ५३ जनाको उम्मेदवारी परेको छ । 

सत्ता गठबन्धन अगाडि

क्षेत्र नं. १ मा गत स्थानीय तहमा कांग्रेसका वडा अध्यक्षहरूले पाएको मत २८ हजार ६१९, माओवादी केन्द्रका वडा अध्यक्षहरूले पाएको मत १७ हजार ११०, जनता समाजवादी पार्टीले पाएको मत नौ हजार ९५१ र एकीकृत समाजवादीका वडा अध्यक्षले पाएको मत ६२३ गरी जम्मा ५० हजार ३०३ रहेको छ । एमालेका वडा अध्यक्षहरूले प्राप्त गरेको मत २५ हजार ३१० रहेको छ । राप्रपाको चार हजार ७८९ र लोकतान्त्रिक समाजवादी पार्टीको ३६१ मत रहेको छ । स्थानीय तहको मत परिणामअनुसार क्षेत्र नं. २ मा सबैभन्दा पहिलो कांग्रेस, दोस्रोमा एमाले, तेस्रोमा जनता समाजवादी पार्टी छ । त्यसपछि राप्रपा, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी छन् । 

मत परिणामअनुसार क्षेत्र नं. २ मा सबैभन्दा बढी कांग्रेसले १८ हजार ३७, एमालेले १५ हजार चार सय ७८, जसपाले १३ हजार ८०९, राप्रपाले आठ हजार ४९४, माओवादी केन्द्रले छ हजार ८५९, एकीकृत समाजवादीले ८२१ र लोसपाले ५६४ मत प्राप्त गरेको छ । क्षेत्र नं. ३ मा वडा अध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा सत्तारूढ गठबन्धन अगाडि देखिन्छ । सत्तारूढ गठबन्धनमा रहेका दलका वडाध्यक्षका उम्मेदवारले पाएको मत जोड्दा ४३ हजार ८९२ देखिन्छ । एमाले–राप्रपा गठबन्धनको मत जोड्दा २६ हजार आठ सय मत देखिन्छ ।

स्थानीय तहको निर्वाचन अनुसार कांग्रेसको २५ हजार ६८९, एमालेको २२ हजार १५९, माओवादीको १४ हजार ८१८, राप्रपाको चार हजार ६४१, जसपाको चार हजार १९९, एकीकृत समाजवादीको दुई हजार ३४८, लोसपाको एक हजार ३७ मत छ ।