• १३ असोज २०८१, आइतबार

निकुञ्ज बन्दै छ घाँसेमैदान

blog

चितवन समाचारदाता

चितवन, कात्तिक ३० गते । चितवन राष्ट्रिय निकुञ्जले यस वर्ष २२५ हेक्टर क्षेत्रफलमा घाँसेमैदानको व्यवस्थापन गर्ने भएको छ । 

यहाँ जनावरहरूलाई घाँसेमैदानको आवश्यकता परेकाले ५० हेक्टर क्षेत्रफलमा नयाँ र अन्य क्षेत्रमा व्यवस्थापनको काम गर्न निकुञ्जले लागेको हो । दुर्लभ वन्यजन्तु एकसिङे गैँडा, पाटेबाघ, हरिणलगायतका जनावरको संरक्षणका लागि घाँसेमैदान आवश्यक परेकाले छिट्टै व्यवस्थापनको काम गर्न थालेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । 

चालू आर्थिक वर्ष २०७९/८० मा ५० हेक्टर क्षेत्रफलमा नयाँ घाँसेमैदान तयार गर्नेछौँ, उहाँले भन्नुभयो, बाँकी १७५ हेक्टरमा बढेका ठूला रुख तथा काँस खडाइ काटेर व्यवस्थापन गर्नेछौँ । निकुञ्जका अनुसार घाँसेमैदान व्यवस्थापनका लागि बोलपत्र आह्वान भएर सम्झौताको चरणमा रहेको छ । निर्वाचनलगत्तै घाँसेमैदान व्यवस्थापनको काम सुरु गरिने अधिकारी तिवारीले जानकारी दिनुभयो । यस वर्ष नयाँ घाँसेमैदान निर्माणका लागि २५ लाख र व्यवस्थापनका लागि ३३ लाख रुपियाँ बजेट विनियोजन भएको कार्यालयले जानकारी दिएको छ । 

बजेटअभावका कारण थोरै क्षेत्रफलमा मात्रै घाँसेमैदान निर्माण र व्यवस्थापनको काम गर्न लागिएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । निकुञ्जमा आर्थिक वर्ष २०७६/७७ मा छ सय हेक्टर क्षेत्रफलमा नयाँ घाँसेमैदान निर्माण र ५८ हेक्टरमा व्यवस्थापनको काम भएको थियो । यस्तै २०७७/७८ मा सात सय हेक्टरमा निर्माण र चार सय हेक्टरमा व्यवस्थापनको काम भएकामा आर्थिक वर्ष २०७८/७९ मा ५० हेक्टरमा नयाँ घाँसेमैदान निर्माण र तीन सय आठ हेक्टरमा व्यवस्थापनको काम भएको निकुञ्जले जनाएको छ ।

“संरक्षित जनावरका लागि घाँसेमैदान अति आवश्यक हुन्छ,” निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले भन्नुभयो, ‘‘यस निकुञ्जमा एकसिङे गैँडा, पाटे बाघ छन् । यी दुवै जनावरका लागि घाँसेमैदान आवश्यक हुन्छ । हरिणलाई घाँस चाहिन्छ । त्यही हरिण खाएर बाघ बाँचेको हुन्छ । त्यसैले हामीले हरेक वर्ष घाँसेमैदान नयाँ थप्ने र पुरानोलाई व्यवस्थापन गर्ने कार्य गरेका हुन्छौँ ।”

निकुञ्जभित्र घाँस प्रजातिले ढाकेको क्षेत्रलाई घाँसेमैदानका रूपमा लिइन्छ । निकुञ्जको ९५२ वर्गकिलोमिटर क्षेत्रफलमध्ये करिब १० प्रतिशत मात्रै घाँसेमैदान छ । साना कीरा फट्याङ्ग्रा, सरिसृपदेखि ठूला स्तनधारी प्रजाति गैँडा, बाघ, हात्तीलगायत अन्य खुर भएका प्रजातिका वन्यजन्तुलाई घाँसेमैदान विचरण गर्न, खेल्न, हिँडडुल गर्न, घाम ताप्न, आराम गर्नका लागि अत्यन्तै उपयोगी हुने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्यले बताउनुभयो । निकुञ्जका जनावर मात्र नभएर जैविक विविधताको संरक्षण र पर्यावरणमा सन्तुलन कायम राख्नसमेत घाँसेमैदानले ठूलो भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ ।

निकुञ्जको घाँसेमैदानमा ५० भन्दा बढी प्रजातिका घाँस छन् जुन यहाँका वन्यजन्तुको मुख्य आहारसमेत हो । निकुञ्जले यस आर्थिक वर्षमा पूर्वको सौराहा घाटदेखि पश्चिमको पुरानो टाइगर टप क्षेत्रसम्म घाँसेमैदान निर्माण र व्यवस्थापनको काम गर्ने जनाएको छ । घाँसेमैदान व्यवस्थापनअन्तर्गत अग्लो घाँस–ढड्डी काट्ने, आगो लगाएर जलाउने, जरासहित रूख हटाउने, स–साना पोथ्रा हटाउने, रूखको मुना हटाउनेजस्ता काम हुने आचार्यले बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले निकुञ्जभित्रको घाँसेमैदान राम्रो व्यवस्थापन हुन नसकेमा वन्यजन्तु मानवबस्ती आउन सक्ने बताउनुभयो । घाँसेमैदान व्यवस्थापन र नयाँ निर्माणमा निकुञ्जको बजेट थोरै भएको बताउनुभयो । निकुञ्जभित्र राम्रो घाँस खान नपाएमा दुर्लभ एकसिङे गैँडा र बाघका आहारा प्रजाति खानाका लागि मानव बस्ती प्रवेश गर्ने र दुःख दिने उहाँको भनाइ छ । पछिल्लो तथ्याङ्कअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा र १२८ वटा पाटेबाघ छन् ।