• ३ असार २०८१, सोमबार

दस किलोको ट्युमरको सफल शल्यक्रिया

blog

बरगाछी समाचारदाता

विराटनगर, साउन २० गते । कुनै महिलाको पाठेघरमा करिब १० किलोको ट्युमर छ भन्ने सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ तर विराट नर्सिङ होममा उपचारका लागि आउनुभएकी एक महिलाको पाठेघरबाट नौ किलो दुई सय ग्राम तौलको ट्युमर शल्यक्रिया गरेर निकालिएको छ। 

पथरी शनिश्चरे नगरपालिका–४ स्थायी घर भएकी महिलाको विराट नर्सिङ होमका चिकित्सक ज्ञानेन्द्रमानसिंह कार्कीको नेतृत्वको टिमले सफल शल्यक्रिया गरेको हो। करिब एक घण्टा २० मिनेट लगाएर गरिएको शल्यक्रियामा डा. भानु न्यौपाने, डा. वातसल्य अर्याल, डा. फारिदा खातुनलगायतको सहभागिता थियो। 

धेरै कम बिरामीमा हुने ‘फाइब्रोड’ नामक ट्युमरको समस्याबाट पीडित महिलाको शल्यक्रिया गर्ने क्रममा चिकित्सक टोली नै आश्चर्यमा परेको थियो। हेर्दा सामान्य देखिने तर जटिल र १० केजीको मासुको थुप्रो लिएर बिरामी महिला कसरी अस्पतालसम्म आउनुभयो भन्ने नै आश्चर्यको विषय भएको डा. कार्कीले बताउनुभयो। “आफ्नो ३५ वर्षको अनुभवमा महिलाको पाठेघरको शल्यक्रिया गर्दा यति ठूलो ट्युमर देखेको थिएन,” डा. कार्कीले भन्नुभयो, “सयौँ शल्यक्रिया गरियो तर यति ठूलो ट्युमर पहिलो पटक सफलतापूर्वक निकालिएको हो।”

बिरामी महिलाले विगत दुई वर्षदेखि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियमित जाँच गर्दा सानो ५/६ सेमी साइजको मासु पलाएको रिर्पोट आएको थियो। सामान्य स्वास्थ्य अवस्था रहेको र कोरोना महामारीको कारणले पुनः उपचार र जाँच नगरिएको बिरामीका आफन्तले जानकारी दिनुभएको छ। परिवारका अनुसार पेटमा कुनै समस्या पनि देखा नपरेको र सामान्य अवस्था रहेको थियो तर बिस्तारै पेट बढ्दै गयो । मोटाएको जस्तो अनुभव भएको तर कुनै अप्ठ्यारो नभएको अवस्थामा जाँच गर्दा ३०/४० सेमी साइजको ट्युमर देखापरेको हो। बिरामी महिला स्वयं र उहाँको परिवारको आग्रहमा नाम उल्लेख नगरिएको हो।