भ्रष्टाचारविरुद्ध ‘नयाँ लडाइँ’
नेपालमा भ्रष्टाचार प्रवृत्ति गहिरो रोगका रूपमा फैलिएको छ । किसानसँग २० रुपियाँ प्रतिकिलोका दरले किनेको तरकारीमा २० रुपियाँ नाफा निकालेर बेच्ने बिचौलिया होउन् कि मन्त्रीज्यूलाई टक्र्याउनुपर्छ भन्दै हात मिलाउने ठेकेदार । हात लम्काउने कर्मचारी, सडकको बिचमा गाडी तेर्स्याएर राख्ने तर ट्राफिक प्रहरीलाई गाली गर्ने सबैले अर्कालाई भ्रष्टाचारी भन्छन् । आफू चाहिँ गुलाबजल मिसाएको दूधले नुहाएको ठान्छन्, देखिन खोज्छन् । यी सबै ‘भ्रष्टाचारविरोधी’ को निशाना राजनीतिक नेतृत्व र सिस्टम (प्रणाली) । अर्कालाई दिनुपर्ने भन्दै आफूले उठाएर खाने यो प्रवृत्ति पुरानै हो । नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहले नै यो प्रवृत्ति सामाजिक रोगका रूपमा देखेका थिए र भनेका थिए– “घुस लिन्या र दिन्या सबै राष्ट्रका शत्रु हुन् ।” तर एकीकरण अभियानमै राष्ट्रको प्रतिनिधि भएर गएका व्यक्ति नै परचक्रीको लालचामा परेर साँधसीमा खुम्च्याएको भन्ने लिखत पढ्न पाइन्छ । हो, त्यस्तो राष्ट्रको शत्रु प्रवृत्ति झाँगिँदै गएको महसुस सर्वसाधारणलाई मात्र भएको छैन, मुलुकको कार्यकारी नेतृत्व प्रधानमन्त्रीलाई पनि भएको छ । त्यसैले मङ्गलबार काभ्रेपलाञ्चोकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घोष गर्नुभयो – “भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ ।” प्रधानमन्त्री दाहालले सडक शिलान्यास तथा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दा यो उद्घोष गर्दै यो लडाइँमा राजनीतिक क्रान्तिमा जस्तै सहयोग गर्न सबैलाई आह्वान गर्नुभयो तर यही सन्दर्भमा के बिर्सन हुन्न भने नेपालका धेरै सडक, विद्युत्, सिँचाइका साना ठूला योजनामै धेरै भ्रष्टाचारका प्रश्न उठेका छन् । विद्युत् आयोजनाका सम्झौता–सन्धिमा नगद लेनदेन मात्र होइन, राजनीतिक सौदाबाजी हुने गरेको इतिहास छ । पश्चिम सेती परियोजना, बुढीगण्डकी, नौमुलेजस्ता योजनामा किन समझदारी सम्झौता हुने र तोडिने गरेका छन् ? रणनीतिक महत्वका सडकको निर्माण सहमति–सम्झौताको पालना नगर्ने वा बोलकबोलको रकम र समयसीमामा काम नगरी ‘भेरिएसन’मा लागत र समय थप गरी राज्यकोषको दोहन गर्ने पात्र प्रवृत्ति किन सुरक्षित छ ? किन उनीहरूलाई राजनीतिक नेतृत्वकै छहारी छ ? राष्ट्रहितका ठुला र दूरगामी महत्वका परियोजना अगाडि बढाउँदा तर्सिने बाह्य तत्वको स्वार्थी खेलमा सहभागी भएर सरकार परिवर्तनमा लागिन्छ किन ? राजनीतिक नेतृत्वप्रति यस्ता प्रश्न छन् । प्रधानमन्त्रीले भ्रष्टाचारविरोधी लडाइँको उद्घोष विशेष अवस्थामा गर्नुभएको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर तेस्रो मुलुकमा पठाउने जालसाजी धन्दामा प्रहरी अनुसन्धान चलिरहेको छ । यो प्रकरणमा उच्च राजनीतिक एवम् प्रशासनिक हैसियतका व्यक्ति मुछिएका छन् । कसैलाई आरोप लाग्दैमा ऊ भ्रष्टाचारी साबित हुने त होइन तर कुनै न कुनै संलग्नता नभई यत्रो ठुलो जालसाजी धन्दा चलाउने हैसियतधारीले राजनीतिक वा प्रशासनिक उच्चस्तरीय हैसियतधारीलाई ‘पोल्ने’ आँट गर्लान् र ?ट्रान्सपरेन्सी इन्टरनेसनलको पछिल्लो प्रतिवेदनअनुसार विश्वका १८० देशमध्ये नेपालले भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकाङ्कमा ११० औँ स्थानमा पर्नुको कारण प्रस्ट छ– राजनीतिक छहारीमै भ्रष्टाचार मौलाएको छ । नत्र किन मन्त्री बन्न करोडौँ रुपियाँको बार्गेनिङ, व्यापार व्यवसायमा जमेका गैरराजनीतिक व्यक्ति राजनीतिक दललाई चुनावमा चन्दा दिएबापत सांसद उम्मेदवार, विजयी भएपछि उनीहरूको स्वार्थ मिल्ने नीति निर्माणमा पहुँच स्थापित हुन्छ ? यो राजनीतिक नेतृत्वले जवाफ दिनुपर्ने प्रश्न हो । मुहान सफा नगरी धारामा आउने पानी के पो सफा होला र ?नेपाललाई भ्रष्टाचाररहित, सुशासनयुक्त र निश्चित समयावधिमा एसियाली मापदण्डको मुलुक बनाउने नारा पञ्चायतकालमा पनि नदिइएको होइन तर त्यसो भएन । भ्रष्टाचार र कुशासनले मुलुक तन्नम भयो र राजनीतिक परिवर्तनले पनि सुशासन दिन नसकेको व्यापक गुनासो छ । त्यसैले त्यतिखेर भ्रष्टाचारी, सार्वजनिक नैतिकता र आचरण अनि मर्यादा हेक्का नराख्नेप्रतिको जनआक्रोशलाई राजनीतिक पुँजीमा परिणत गरियो । विद्यमान राजनीतिक नेतृत्व र कार्यकर्ता पङ्क्तिले त्यो हेक्का राखी आचरण–व्यवहार गर्नु उचित हुने छ । भ्रष्टाचारप्रति शून्य सहनशीलता, भ्रष्टाचारी कसैलाई नछाड्ने घोषणा आदि उहिल्यैदेखिका हुन् । अहिले प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्ध ‘नयाँ लडाइँ’ मा सहयोगका निम्ति गर्नुभएको आग्रह ‘उस्तै त हो नि’ नठानियोस् । पक्कै पनि भ्रष्टाचार राजनीतिक, प्रशासनिक नेतृत्वका वचनवाणी, नीति, कानुन, राज्य संयन्त्रको व्यवस्था हुँदैमा नियन्त्रण हुँदैन । जबसम्म पैसा नै अन्तिम सत्य र पैसावाललाई ठुलो मान्ने प्रवृत्ति रहन्छ, तबसम्म जसरी हुन्छ कमाउने लालचाले मानिस अपराधकर्मी बन्छ । यो प्रवृत्ति अन्त्य गर्ने अगुवाइ सचेत राजनीतिक पङ्क्तिले नै गर्नुपर्छ र नागरिकले साथ दिनुपर्छ ।
असंसदीय व्यवहार
प्रणालीगत स्वरूप अलग भए पनि नेपालमा संसदीय अभ्यास चलेको साढे छ दशक भएको छ । यो सिलसिलामा संसद्ले काम गर्ने प्रक्रिया र सांसदले पालन गर्नुपर्ने कार्यविधि, नियम, आचारसंहिता विकसित भएका छन्, हुँदैछन् तर पछिल्ला समयमा संसद् बैठकमा भाषिक मात्र होइन, सामाजिक, नैतिक मर्यादा पनि स्खलित हुँदै गएको देखिएको छ । सांसदहरू एकअर्कालाई आरोप प्रत्यारोपदेखि घोचपेचमा उत्रिनु सामान्यजस्तै भएको छ । सांसदले प्रश्न उठाउने र मन्त्रीहरूले जवाफ दिने कतिपय शैली पनि संसदीय दृष्टिले अमर्यादित बन्दै गएको छ । हुँदाहुँदै कतिपय सांसदले सार्वजनिक नैतिकता र आचरण संसद् बैठकमै धुलोपिठो बनाउन थालेका छन् । ताजा उदाहरण सङ्घीय संसद्को प्रतिनिधि सभा बैठकमा सांसद अमरेशकुमार सिंहले बोल्न पाउनुपर्ने माग गर्दै कम्मरभन्दा माथि नग्न हुनुभयो । सांसदको यस्तो विद्रुप प्रस्तुतिले बैठकको सुव्यवस्थामा प्रश्न मात्रै खडा भएन, सांसद नै नियमावली, आचारसंहिता, सामाजिक मर्यादाको सीमामा रहन नचाहने पात्रका रूपमा प्रस्तुत हुन खोजिरहेको भनाइ व्यापक भएको छ ।संसदीय मर्यादालाई सांसदले नै लत्याएका सन्दर्भ निकै छन् । प्रतिनिधि सभा नियमावली २०७९ नियम २० मा सभा सदस्यले बैठकमा पालन गर्नुपर्ने नियम तोकिएको छ । नियम २१ मा छलफलमा पालन गर्नुपर्ने नियम छन् । यसको ‘घ’ मा ‘अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरू कुनै किसिमले असर पर्ने गरी बोल्न नहुने’ उल्लेख छ । नियमावलीमा सभामुखको ध्यानाकर्षण गर्नका निमित्त उठ्नुपर्ने र सभामुखले नाम बोलाएपछि वा इशारा गरेपछि मात्र बोल्नुपर्ने प्रबन्ध छ तर नेपालीलाई भुटानी शरणार्थी बनाउने प्रकरणले सदनमा प्राथमिकता पाउँदा बोल्न चाहने सांसद र आकस्मिक समय सकेसम्म कम गर्ने सभामुख देवराज घिमिरेको प्रयत्नले बैठक सञ्चालनमै अवरोध भइरहेको छ । सोमबार बैठकको समय व्यवस्थापनको प्रश्न त संसदीय मर्यादा र सभामुखको विशेषाधिकारसँगै जोडिन पुगेको छ । भुटानी शरणार्थी प्रकरणमा सांसदहरूले ढ्यापढ्याप टेबल बजाएर आकस्मिक समयमा आफ्ना विचार राख्न चाहनु स्वाभाविक हो तर बजेटका सिद्धान्त र प्राथमिकतामा छलफलका कारण शून्य समयबाहेक आकस्मिक समय नदिने बैठकअघि नै तय भएको थियो । तय भएको विधि अनि सभाको नेतृत्व सभामुखको विशेषाधिकारयुक्त समय व्यवस्थापनलाई चुनौती दिन अर्धनग्न नै प्रस्तुत हुँदा सांसद सिंहले असंसदीय, अमर्यादित, अनैतिक अर्थात् अपाच्य हुन्छ भन्ने हेक्का राख्नुभएन । बैठकको सुव्यवस्था कायम गर्नका लागि सदस्यले पालना गर्नुपर्ने नियमप्रति ध्यानाकर्षण गराउँदा पनि अटेर गरेपछि सभामुखले नियमावलीको नियम ३० अनुसार कारबाहीको चेतावनी दिएपछि सिंहले कपडा लगाउनुभयो । नेपाली समाजले नग्नता पचाउन सक्दैन । यो समाज अराजक नभई मर्यादित छ । शीलस्वभाव पारिवारिक शिक्षा हो । यही समाजको मत पाएर विजयी सांसदले किन सामाजिक प्रतिनिधित्व आफ्ना कार्य आचरणमा झल्काउँदैनन् ? नेपालको संसद्मा सांसदबिच हात हालाहाल, अन्तिम लहरमा बसेका सांसद कुर्ची फड्को मार्दै रोष्ट्रममा पुग्ने, महिनौँ संसद् बैठक अवरुद्ध पार्ने, बैठकमा माइक–कुर्ची तोडफोड, बजेट ब्रिफकेस तोडफोड, आफ्नो कपडा आफैँ च्यात्ने आदि असंसदीय गतिविधि, अशिष्ट, अमर्यादित, अनुपयुक्त, अपमानजनक शब्द प्रयोग बेलाबखत देखिने गरेका छन् । यस्ता गतिविधि हुन नपाऊन् भनेर कार्यविधि, नियमावली, आचारसंहिता बनाइएका छन् र कारबाहीको व्यवस्था पनि छ । असंसदीय, अमर्यादित व्यवहार गर्ने सांसदलाई बैठक कक्षबाट बाहिर निकाल्ने वा निलम्बन गर्ने बन्दोबस्त छ तर कारबाही यदाकदा मात्र हुने गरेको छ ।संसद्का बैठक सञ्चालन गर्ने संसद्को नेतृत्व सभामुखले हो । सभामुखको अनुमतिबिना कसैले पनि सभा ‘बन्धक’ बनाउन मिल्दैन । ‘कुनै समिति (संसदीय) समितिको विचाराधीन विषयसँग कुनै सदस्यको प्रत्यक्ष व्यक्तिगत स्वार्थ वा हित गाँसिएको भए सो विषयको छलफल वा निर्णयमा सम्बन्धित सदस्यले भाग लिन हुँदैन’ भन्ने नियमसमेत बनाएर जननिर्वाचित सांसदलाई जनताप्रति इमानदारीपूर्वक तथा वस्तुनिष्ठ भई कर्तव्य पालना गर्नुपर्ने बन्दोबस्त गरिएको छ । नियमावलीको पूर्ण पालना तथा विद्यमान सार्वजनिक नैतिकता र आचरणअनुकूल व्यवहारले नै स्वयं सासदहरूको मर्यादा वृद्धि गराउने छ । कम्तीमा सांसदको औपचारिक पोसाक र लोगो लगाएर सडकमा हिँड्दा लाज नहोओस् । लोकतान्त्रिक पद्धतिको संस्थागत विकासको निम्ति संसदीय मर्यादा र अभ्यासलाई समृद्ध बनाउँदै लैजानु आफ्नो दायित्व हो भन्ने विषयमा विधायक गम्भीर हुनै पर्छ ।
सुधारतर्फ अर्थतन्त्र
झन्डै एक वर्षअघि देशको अर्थतन्त्र श्रीलङ्का हुन्छ कि भन्ने ठुलो चिन्ता थियो । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कै एक सदस्य मुलुक श्रीलङ्काको अर्थतन्त्र त्यतिबेला टाट उल्टिएको थियो ।
विस्तारित सेवा अर्थतन्त्र
मूलभूत रूपमा अर्थतन्त्रका तीनवटा क्षेत्र छन्–कृषि, उद्योग र सेवा । यी तीन क्षेत्रले अर्थतन्त्रका तीन आयाम समेट्छन् । भूमिमा आधारित कृषि परम्परागत अर्थतन्त्रको आधार थियो र अझै छ । औद्योगिकीकरणले कृषि अर्थतन्त्रको अधिक श्रम शक्ति प्रयोग गरेर नयाँ अर्थतन्त्रको आधार सिर्जना ग¥यो । अठारौँ शताब्दीको औद्योगिक क्रान्तिले औद्योगि
सूचना सेतु गोरखापत्र
नरसिङ्गा, बाजा, दमाहा बजाउँदै, डाँडा/डिलमा उभिएर चिच्याउँदै सार्वजनिक सूचना प्रसारण गर्ने त्यो जमानामा गोरखापत्रको प्रकाशन नयाँ युग प्रवेशको सन्देश थियो । त्यो दिन अर्थात् वि.सं. १९५८ को आजकै दिन नेपाली हात गोरखापत्र (गोर्खापत्र) ले सजिएका थिए । दक्षिण एसियाको बङ्गाल गजेट (सन् १७८०)भन्दा १२१ वर्षपपछि अनि डेली कुरान्ट(१७०२) भन्दा झन्डै दुई शताब्दीपछि भए पनि गोरखापत्रको प्रकाशन राणाकालीन अन्धकार युगको धिपधिपे उज्यालो थियो । जनताको पढाइ, ले
भ्रष्टाचारीको यो रूप
ट्रान्सपरेन्सी इन्टरनेसनलको पछिल्लो प्रतिवेदनअनुसार विश्वका १८० देशमध्ये नेपालले भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकाङ्कमा १०० पूर्णाङ्कमा जम्मा ३४ अङ्क पाएर ११०औँ स्थानमा रहेको छ । यो सूचकाङ्कअनुसार कम अङ्कको अर्थ बढी भ्रष्टाचार हुने हो । ५० भन्दा कम अङ्क पाउने देशमा भ्रष्टाचार व्याप्त रहेको मानिन्छ । औसतभन्दा तल रहेको नेपाललाई भ्रष्टाचाररहित, सुशासनयुक्त मुलुक बन्न नदिने राजनीतिक एवं प्रशासनिक क्षेत्रका ‘सेवक’हरू नै रहेको यथार्थ फेरि अर्को प्रकरणले देखाएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करोडौँ रुपियाँ असुलेको गि
गन्तव्य एसिया कप
नेपाली क्रिकेटले वैशाख १९ गते ठूलो खुसी दियो एसीसी पुरुष प्रिमियर कपको उपाधि जितेर । दस राष्ट्र सहभागी यस प्रतियोगितामा नेपाल च्याम्पियन बन्यो । एसीसी प्रिमियर कप जित्ने राष्ट्र एसिया कप खेल्न योग्य हुने भएकाले प्रिमियर कपको ठूलो महŒव थियो । एसिया कपमा विश्वका क्रिकेट महाशक्ति राष्ट्रहरू–भारत, पाकिस्तान, बङ्गलादे
सुकुम्बासी व्यवस्थापनको सकस
बागमती नदी किनारको सुकुम्बासी बस्ती व्यवस्थापन र स्थानान्तरण गर्ने विषयमा काठमाडौँ महानगरपालिका र राष्ट्रिय भूमि आयोगबीच पुनः टकराव देखिएको छ । महानगरपालिकाले सुकुम्बासी बस्ती व्यवस्थित गर्ने सन्दर्भमा प्रारम्भिक काम नगर्दा र भूमि आयोगले समन्वयको पहल नगर्दा दुई सरकारी निकायबीच द्वन्द्व छताछुल्ल भएको हो । भूमि आयोगले महानगरपालिकाले प्रारम्भिक चरणको काम नै सुरु नगरेको अनि महानगरले सुकुम्बासी बस्ती व्यवस्थापनका लागि जग्गा उपलब्ध गराउन आयोगले आवश्यक तत्परता नै नदेखाएको आरोप प्रत्यारोप गरेका छन् । यसको परिणाम सङ्घीय राजधानी रहेको काठमाडौँ महानगरपालिकाले नदी स
विद्यालयको सबलीकरण
बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयको प्राङ्गणमा लामबद्ध विद्यार्थीको तस्बिरले देखाउँछ– सामुदायिक विद्यालय निम्छरो वर्गका सन्तान पढ्ने दोस्रो दर्जाको जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्था होइनन्। कक्षा १–१२ मा सात हजार छ सय विद्यार्थी रहेको सो विद्यालयले यस वर्ष दुई हजार तीन सय जनाको आवेदन परे पनि ६५० जना नयाँ विद्यार्थी भर्ना लिएको छ। उसले विद्यार्थी भर्नाका लागि राजनीतिक र प्रशासनिक नेतृत्वबाट चर्को दबाब खेप्नुपर्छ। त्यस्तै विराटनगरस्थित
श्रमिकको पसिना स्वदेशमै
आज १३४औँ मे दिवस अर्थात् मजदुर दिवस । श्रमिक आन्दोलनको उपलब्धि संस्थागत गर्ने उद्देश्यले आजको दिनलाई विश्वभर मजदुर दिवसका रूपमा मनाइन्छ । सिकागोको हेमाक्रेटामा सन् १८८६ मा मारिएका मजदुर र आममानिसको सम्झनामा मनाइने यो दिवसको मुख्य सन्देश नै अधिकार र जीवन सुरक्षाका लागि श्रमिक सङ्गठित हुनुपर्छ भन्ने हो
हिउँदे अधिवेशनको सार्थकता
निर्वाचनपछि २०७९ पुस २५ मा सुरु भई २०८० वैशाख १५ मध्यरातमा अन्त्य गरिएको सङ्घीय संसद्को पहिलो अधिवेशनले एउटा पनि विधेयक पारित गर्न सकेन । परम्परित मान्यतामा हिउँदे अधिवेशन विधेयक अधिवेशनकै रूपमा हुनुपर्ने थियो तर विधायिकी कार्यमा यो पूर्णतः असफल बन्यो । सरकारका नीति कार्यक्रम र बजेटमा केन्द्रित हुने वर्षे अधिवेशनमा नभ्याइएका विधेयकउपर छलफल गरी कानुन निर्माणमा व्यस्त रहनुपर्ने अधिवेशनले एउटै पनि कानुन बनाउन नसक्नु विडम्बना हो । विधि निर्माणमा मात्र होइन, संसद्प्रति सरकारको जवाफदेहिता, दर्ता प्रस्तावउपरको छलफल र प्रश्नोत्तरसमेत चालु अधिवेशनमा हुन सकेनन् । संसद् बैठकमा मुलुुकको अर्थतन्त्रप्र
साइबर सुरक्षाको संवेदनशीलता
करिब तीन वर्षअघि नै डिजिटल नेपालको नारासहित नयाँ युगको सुरुवात भयो भनी नेपाल सरकारले सामाजिक सुरक्षाका योजना र ‘नागरिक एप’ सार्वजनिक गरेको थियो तर लोकसेवा आयोगमा दरखास्त दिएका झन्डै चार लाख आवेदकको तथ्याङ्क (डाटा) यतिबेला हराएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा समस्या देखिएपछि लोकसेवा आयोगलगायत करिब ६० वटा सरकारी निकायको डाटा हराउँदा प्रविधि र साइबर स्पेसमा सुरक्षित रूपमा सहभागिता र उपभोग गर्न
गाडीको भार नियमन
मालवाहक सवारीसाधनको भार अनिवार्य रूपमा तौलपुलमा जाँचेर मात्र सडकमा पठाइने निर्णय एवं भारवहन नियमनसम्बन्धी निर्देशिका २०७४ बागमती टिप्पर व्यवसायी सङ्घले अस्वीकार गरेको छ । निर्देशिकाअनुसार निर्माण सामग्री बोक्ने टिप्परले यातायात व्यवस्था विभागले तोकेको ढाँचामा डालालाई उचाइ र बडीको आयतन कार्य बढी बनाउनुपर्नेछ । यस्तै मालवाहकले अधिकतम पहिलो प्रति (एक्सल चार पाङ्ग्रा) १० दशमलव मेट्रिक टन भार बोक्न पाउँछन् तर यो व्यवस्था व्यवसायीले उल्लङ्घन गरेका
विपत् सम्झेर काम
भौगर्भिक रूपमै नेपालमा भूकम्पको जोखिम जहिले पनि धेरै छ । भूकम्पीय जोखिमका देशमध्ये नेपाल ११औँमा छ । वि.सं. १३२२ को पहिलो अभिलेख छ ठूलो भूकम्पको । वि.संं. १९९० मा ८ दशमलव ४ म्याग्निच्युडको भूकम्प अनुभव गरेको पुस्ता छँदै छ । त्यतिखेर भूकम्पले ढलाएको धरहरा पुनर्निर्माण भयो तर विसं. २०७२ वैशाख १२ शनिबारको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पले फेरि ढलायो । फेरि हामीले उठाएका छौँ । नयाँ झनै अब्बल इन्जिनियरिङअनुसार छ तर राजधानीकै कतिपय
अख्तियारको क्षेत्राधिकार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार पब्लिक लिमिटेड कम्पनी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको तहसम्म विस्तार गर्ने गरी राष्ट्रिय सभाबाट पारित विधेयक प्रतिनिधि सभामा पुगेपछि निजी क्षेत्रले प्रमुख राजनीतिक दलहरूलाई आफ्नो प्रभावमा नियन्त्रण गर्ने प्रयास गरेको छ । विधेयकमा प्रस्तावित प्रबन्ध पारित भए आयोगको कार्यबोझ बढ्दा उसको प्रभावकारिता घट्ने तर्कसाथ निजी क्षेत्र सार्वजनिक जवाफदेहिताबाट उन्मुक्त हुने मनसुवामा देखिएको छ । निजी क्षेत्रका प्रतिनिधिमूलक सङ्घसंस्थाले त्यस्तो प्रावधान हटाउन सरकार, राजनीतिक दल, नेताहरू र सांसदहरूलाई औपचारिक र अनौपचारिक दबाब दिन थालेका छन् । दलहरूका तर्फबाट पनि लिमिटेड, व्यक्ति वा संस्थाको दबाबलाई नै सहयोग पुग्ने गरी प्रतिनिधि सभामा पुगेको विधेयकमा संशोधन दर्ता गराइएका छन् ।
लगानीमैत्री वातावरण
नेपालमा आठौँ योजनादेखि विकासमा निजी क्षेत्रको भूमिकालाई आत्मसात् गरी विकास प्रक्रियामा निजी क्षेत्रको संलग्नता र लगानीलाई प्रोत्साहन गरिएको हो । नेपालको वर्तमान संविधानले पनि निजी क्षेत्रलाई मुलुकको आर्थिक विकासको खम्बाकै रूपमा लिएको छ । संविधानमा सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकासमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने नीति छ । साथै अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई महŒव दिँदै उपलब्ध स्रोतसाधनको अधिकतम
भर्नासँगै पुस्तकको उत्साह
विद्यालय तहको नयाँ शैक्षिक सत्रको नयाँ कक्षामा भर्ना हुँदासाथ विद्यार्थीले पाठ्यपुस्तक पाउँदा मुलुकले सकारात्मक उपलब्धि हासिल गरेको गर्व मान्नु परेको छ । विद्यालय उमेर समूहका बालबालिका पढ्नबाट नछुटून् भनेर सरकारले हरेक वर्ष शैक्षिक सत्र सुरु भएसँगै सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने गरेको छ । भर्ना अभियान चलाउने तर विद्यार्थीलाई पाठ्यपुस्तकलगायत सामग्री पु¥याउन नसक्ने राष्ट्रिय विम्ब यस पटकचाहिँ करिब तोडिएको छ । यसअघिका नयाँ शैक्षिक सत्रमा प्रायः अभिभावक र विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गर्दथे तर यस पटक शैक्षिक सत्र सुरु भएसँगै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउन सफल भएको जनक शिक्षा सामग्री केन्द्रको दाबी छ ।
एकीकृत एम्बुलेन्स सेवा
संसारभर एम्बुलेन्स बिरामीको सेवामै समर्पित सवारीसाधन हो । नेपालमा भने एमबुलेन्सको मनोमानी बढेको भन्ने गुनासो विगत लामै समयदेखि नै उठ्दै आएको विषय थियो । बिरामीले समयमा नै सुलभ र प्रभावकारी सेवा नपाएको गुनासो व्यापक रूपमा आएपछि सरकारले देशैभरमा सञ्चालन हुने एम्बुलेन्सको एकीकृत निगरानी गर्ने प्रणाली लागू गरी अनुगमन थालेको छ । यस प्रणालीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियन्त्रण कक्षबाट नै कुन एम्बुलेन्स कुन ठाउँमा कसरी रहे÷चलेको छ ? एम्बुलेन्सले बिरामी बोकेको छ कि छैन ? आदि देखाउँछ । मन्त्रालयले एम्बुलेन्सलाई व्यवस्थित गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको एम्बुलेन्ट्र्या
द्रुतमार्ग निर्माणमा विलम्ब
काठमाडौँ–मकवानपुर– निजगढ द्रुतमार्ग (फास्ट ट्र्याक) सरकारले उच्च प्राथमिकता दिएर सञ्चालन गरेका राष्ट्रिय गौरवका आयोजनामध्ये एक हो । आर्थिक वर्ष २०६४/६५ मा सुरु भएको यो योजना २०७४ वैशाख २१ मा चार वर्षभित्र काम सक्ने गरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । सोअनुसार २०७८ भित्र निर्माण सकिनु पर्ने हो । २०७८/७९ मा आइपुग्दा ७२.५ किमि कायम भएको यो सडक निर्माणको भौतिक प्रगति २१.१८ प्र
बालबालिकालाई निःशुल्क औषधि
नेपाली बालबालिकाले क्यान्सरका ३५ प्रकारका औषधि निःशुल्क पाउने भएका छन् । ग्लोबल इनिसिएटिभ फर चाइल्डहुड क्यान्सर (जीआईसीसी)ले विश्व स्वास्थ्य सङ्गठन र अमेरिकास्थित सेन्ट जुड चिल्ड्रेन रिसर्च हस्पिटलसँगको सहकार्यमा नेपालले क्यान्सरविरुद्धको निःशुल्क औषधि प्राप्त गर्नेछ । सन् २०३० सम्म ६० प्रतिशत क्यान्सर रोगीलाई निको गराउने लक्ष्यसहित यी औषधि निःशुल्क प्राप्त गर्ने भएको हो । नेपालमा क्यान्सर रोगलाई अन्त्य गर्नका लागि तथा क्यान्सरको समयमै रोकथाम र उ
भ्रष्टाचारको कालो दाग
सयुंक्त राष्ट्रसङ्घको सदस्यको नाताले सन् २००५ डिसेम्बर १४ देखि लागू भएको भ्रष्टाचारविरुद्धको राष्ट्रसङ्घीय महासन्धिलाई सन् २०११ फेब्रुअरी २३ मा अनुमोदन गरी नेपाल यो महासन्धिको पक्षराष्ट्र बनेको छ। संविधान, कानुनद्वारा भ्रष्टाचारविरुद्ध विश्वसामु प्रस्तुत राष्ट्रिय नीति र कार्ययोजनासमेत बनाउन नेपाल पछाडि परेको छैन। भ्रष्टाचारविरुद्ध सरकार अर्थात् राज्यको प्रतिबद्धता सिङ्गो देशीय प्रतिबद्धता हो। भ्रष्टाचारमुक्त समाज बनाउन राज्यको नीति, नियम, कारबाही प्रबन्धहरूले मात्र नपुग्ने रहेछ। यो त आचरणसम्बन्धी कुरा रहेछ र आचरण नै भ्रष्ट भएपछि के लाग्छ र ? वायुले पेट ढाडिएका बेला पनि घिउ चोर्ने अनि स्फटिक खास्टोले जिउ ढाकेर खाने अनि डकार्ने। यस्तो बानी भएकाहरू आफ्नो घरका हर्पे खोल्नुभन्दा सामाजिक/राज्यकोषमा थुतुनो गाडेर चाट्छन्।
पाठ्यपुस्तकको नयाँ उत्साह
विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु भएको छ । भर्ना अभियान चलेको छ । योे बालबालिकाका लागि सबैभन्दा खुसी र उमङ्गको बेला हो । विद्यालयमा जान पाउनु, नयाँ कक्षामा उक्लिनु अनि नयाँ किताब पाउनु आहा ! उहिल्यै नयाँ कक्षाका किताब दाजुदिदीले पढ्दा केरमेट गरेका, अलिअलि च्यातिएका भए पनि सस्तोमा किनेर पढ्न पाउँदा पनि उमङ्गित हुन्थे विद्यार्थी ।
बढ्दो तापमानको जोखिम
हिमाली क्षेत्रमा पोखरी बढेको सुन्दा प्राकृतिक सौन्दर्यका लोभी आँखाहरू कति चम्किएलान् । तर नियमित हिमालमा खेल्नेहरू निराश हुन्छन् । तल पहाडी क्षेत्र र तराईतिर मानवनिर्मित पोखरीले पनि मन रमाइदिन्छन्, आयआर्जन गराउँछन् । उत्तरी ध्रुवदेखिका चरा यस्ता ताल –पोखरी वरपर गाउँदै नाच्दै घर बनाएर सन्तान हुर्काएर लान्छन् । यद्यपि हिमाली क्षेत्रका पोखरी हेर्दा राम्रा लाग्लान्, तिनमा पनि जीव हुर्कलान् तथापि हिमक्षेत्रमा पोखरी बढ्नुको अर्थ हिमालमा ताममान बढ्नु
नववर्षको शुभकामना
सूर्य आज मेष राशिमा प्रवेश गरेको छ । सूर्यसँग सम्बन्धित हाम्रो राष्ट्रिय पात्रो नयाँ आएको छ । अँध्यारो हटेपछिको नयाँ बिहान, नयाँ हावा र राग । खडेरीमा पात झरेर उराठ, सुक्खा वनस्पतिका झिक्रा नयाँ पल्लव र पुष्पले कुत्कुतिएका छन् । चराचुरुङ्गी वंशचक्र जोगाउने अनुरागमा उन्मत्त छन् । बिहान उज्यालो भयो, उठ् भन्दै आफ्नै भाषामा सन्देश दिने चराले कानमा सुरिलो सन्देशदिएपछि झस्किँदा शङ्खघण्टाका ध्वनिको तालमा ती नाचिरहेका देखिन्छन् । पहाडी थुम्का अनि फाँट–तराईका खेतबारीमा बाली पालुवा स्वागतमा लहराइरहेका छन्