विक्रम संवत् १९७४ मै बारा र मकवानपुरको सिमानामा पर्ने चुरियामाई मन्दिरसँगै रहेको चुरे पहाड छेडेर नेपालमा पहिलो सुरुङ मार्ग बनाइएको थियो । सिभिल इन्जिनियर बिग्रेडियर जनरल डिल्लीजङ्ग थापाको डिजाइनमा त्यो सुरुङ मार्ग बनाइएको एक शताब्दी बितिसके पनि अरू सुरुङ मार्ग बनाउने क्षमता बढाइएन तर अब चाहिँ नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग तयार हुँदै छ । चार वर्षअघि २०७६ कात्तिक ४ गते शिलान्यास गरिएको यो सुरुङ मार्गको सहायक सुरुङ (आपत्कालीन उद्धार सुरुङ) सोमबार छिचोलिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बटम थिचेर अन्तिम विस्फोट गराउँदा पहाड वारपार छेडिएसँगै मुलुक यातायात क्षेत्रमा आधुनिक सुरुङ युगमा प्रवेश गर्ने तयारी गर्दै छ । मित्रराष्ट्र जापान–नेपाल सहयोगको गौरवशाली यो आयोजनामा प्रयुक्त प्रविधि ज्ञान हस्तान्तरणले राष्ट्रिय राजमार्गलाई द्रुत राजमार्ग (एक्सप्रेस हाइवे) का रूपमा विकास गर्ने नेपाली महìवाकाङ्क्षालाई सघाउने छ ।
सुरुङ सजिलो काम पक्कै होइन । जम्मा २.६८ किलोमिटर लामो नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग पूर्वपश्चिमबाट काठमाडौँमा आउने मुख्य प्रवेश बिन्दु नागढुङ्गामा हुने गरेको सवारी जामको समस्या हटाउन निर्माण थालिएको हो । सुरुङ मार्ग कम्तीमा तीनदेखि पाँच गुणासम्म सडक मार्गको दूरी छोटियो भने लाभकारी र राम्रो मान्छन् पूर्वाधारविज्ञहरू । नागढुङ्गा सुरुङ मार्गले काठमाडौँको गुर्जुधारादेखि धादिङको सिस्नेखोलासम्मको सडक मार्ग दूरी आधा मात्रै कम गर्न सक्छ । यो सडक खण्डमा हुने दिक्दारलाग्दो सवारी जामको समस्या हटाउन लागत खर्च बढी भए पनि यो आयोजना थालिएको हो । दुई लाइनको यो सुरुङ सञ्चालन भएपछि सवारी जामको समस्याबाट पार पाइने विश्वास छ ।
जापानको प्रविधि, सामग्री र उपकरणले निर्माण भइरहेको यो आयोजनाका दुईमध्ये मुख्य सुरुङ खन्न अब पाँच सय मिटर बाँकी छ । मुख्य सुरुङ मार्गको दुई हजार ६८८ मिटरमध्ये दुई हजार १८८ मिटर खन्ने काम सम्पन्न भइसकेको छ । अहिले धादिङ र काठमाडौँ दुवैतिरबाट तीव्र गतिमा सुरुङ खनिँदै छ । आयोजनाको समग्र भौतिक प्रगति ८० प्रतिशत छ । आयोजना अन्तर्गत निर्माण गर्नुपर्ने कुल १२ संरचनामध्ये अब आकाशे मार्ग (फ्लाइओभर) को निर्माण मात्र बाँकी छ । मुख्य सुरुङ मार्ग आगामी असोजमा छिचोल्ने योजना अनुसार काम भए यही वर्षदेखि नै सुरुङबाट यातायात चल्ने छ । मुख्य सुरुङमा मोटरसाइकल, पेट्रोलियम पदार्थ तथा विस्फोटक पदार्थ बोकेका र गह्रुँगो तौलका सवारीसाधन सतह मार्ग अनि अन्य सवारीसाधन सुरुङबाट ओहोरदोहोर गराइने हुँदा दुवै सडकमा सवारी चाप निश्चय नै कम हुने छ ।
यो सुरुङ आयोजनालाई यातायातको सुविधा मात्र नभई नेपालको विकासका लागि लगानीका रूपमा पनि हेर्नु पर्छ । जापान सरकारले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) मार्फत यो पूर्वाधार निर्माण स्थलमा प्रविधि हस्तान्तरण गरेको छ । यो सुरुङ निर्माण आयोजनामा जापानी र नेपालीले जापानी उच्च प्रविधि प्रयोग गरी स्थलगत रूपमा एकसाथ काम गरेर जापानी मापदण्डकै काम गरेका छन् । यसबाट प्राप्त अनुभवले नेपाली अधिकारी, प्राविधिक तथा कामदारको सिपमा अवश्य सुधार हुने नै छ । नेपालले पाँच वर्षअघिकै वार्षिक बजेटमा राष्ट्रिय राजमार्गलाई ‘एक्सप्रेस हाइवे’ का रूपमा विकास गर्ने, सडक सञ्चालन लागत र दुरी कम गर्न सुरुङ मार्ग बनाउने नीति अगाडि सारेको थियो । टोखा– छहरे–गुर्जुभञ्ज्याङ, सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड, अरनिको राजमार्गको कोटेश्वर–जडीबुटी, बिपी लोक मार्गको खुर्कोट–चियाबारीलगायत स्थानमा परिकल्पना गरिएका सुरुङ मार्गको निर्माणमा पनि नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको अनुभवले काम गर्न सकिने छ । यसबाट हासिल हुने अनुभवबाट सुरुङ युगका नयाँ परियोजनामा नेपाली हात र आँट बढ्न सक्ने छ ।
सुरुङ मार्गका कारण राजधानीमा प्रवेश गर्ने मुख्य सडकमा सवारी जामको समस्या हट्ने विश्वास पूरा गर्न अब सिस्नेखोलादेखि मुग्लिनसम्मको सडक विस्तार कार्यसमेत द्रुत रूपमा गरिनु पर्छ । नागढुङ्गा–सिस्नेखोला सतह सडक अनि सिस्नेखोला तलको सडक अवस्था यथावत् रहने हो भने सवारी जाम सिस्नेखोला तल मात्र सर्ने छ, समस्या यथावत् रहने छ । त्यसैले सम्बन्धित पक्षले घुम्ती सुधार अनि सिस्नेखोला तलको सडक सुधार, विस्तार कार्यलाई प्राथमिकतासाथ अगाडि बढाउनु पर्छ । निर्माण कार्यको नियमित अनुगमन, सुपरिवेक्षण र निर्देशन हुनु पर्छ । वर्षौं पछाडिको आवश्यकतासमेत विचार गरी कडाइका साथ गुणस्तर कायम गरेर सडक निर्माण गरिए मात्र ‘एक्सप्रेस हाइवे’ को नीति साध्य हुने छ ।