राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश गरेको छ । आजभन्दा ६७ वर्षपहिले विसं २०१५ असार १७ गते २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा आरम्भ गरेको निगमले हाल वाइडबडी ए ३३०–२०० सिरिजको विमानमार्फत हवाई सेवा दिँदै निजी कम्पनीसँग प्रतिस्पर्धा गरिरहेको छ । सन् १९८० को दशकमा निगमले जापानको ओसाकादेखि चीनको साङ्घाई हुँदै युरोपली मुख्य सहरहरू लन्डन, पेरिस, फ््रयाङफर्टसम्म गन्तव्य विस्तार गरेको थियो । त्यतिबेला दक्षिण एसियाकै प्रतिष्ठित वायुसेवा कम्पनीका रूपमा स्थापित निगमले विश्वका २० वटा सहरमा उडान भर्ने गरेको थियो । कुनैबेला २१ वटा जहाज रहेको निगम अहिले भने आर्थिक, व्यवस्थापकीय, संस्थागत रूपमा पछि परेको छ । अन्तर्राष्ट्रियतर्फ दुई थान वाइडबडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० सिरिजका जहाजबाट आठ मुलुकका १० वटा गन्तव्यमा खुम्चिएको निगमले आन्तरिकतर्फ दुर्गमका गन्तव्यमा उडान गरे पनि नाफामूलक गन्तव्यमा उडान गर्न सकेको छैन । आन्तरिकतर्फ उड्ने जहाज दुई वटा मात्रै रहेकाले ठुला एटिआर जहाज रहेका हवाई कम्पनीसँग प्रतिस्पर्धा गर्न कठिन भएको छ ।
आन्तरिकतर्फ व्यावसायिक उडानका लागि जहाज नहुँदा निगमले १९ सिट क्षमताका दुई वटा साना जहाजबाट दुर्गम क्षेत्रलाई राजधानी काठमाडौँसँग जोड्ने काम भने गरिरहेको छ । निगमले नाफामूलक गन्तव्यमा उडान गर्न नसक्दा, जहाजको उपयोगिता, उच्च दरको सिट अकुपेन्सी एवं गन्तव्य विस्तार र पूर्ण क्षमतामा उडान गरी लाभ लिन नसकेपछि जहाज किन्दाको ऋण तिर्न समस्या परेको छ । निगमले वाइडबडी विमान खरिद गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट निगमले ऋण लिएको थियो । भएका विमान पनि राम्ररी सञ्चालन गर्न नसक्दा र समय अनुसार आफूलाई अघि बढाउन नसक्दा ऋणको दायित्व बढेको छ । निगमको अधिकृत पुँजी ३० करोड रुपियाँ रहेको छ । चुक्ता पुँजी १६ करोड २३ लाख रुपियाँ र सरकारको लगानी २१ करोड ७० लाख गरी कुल पुँजी ३७ करोड ९३ लाख रुपियाँ रहेको छ । ठुलो पुँजी लगानी गर्नुपर्ने यस्तो व्यवसायका लागि यो पुँजी न्यून हो । अहिले एकातिर ऋणको भार बढ्दै गइरहेको छ भने अर्कोतर्फ व्यापार अपेक्षित रूपमा बढ्न सकेको छैन । निगमको अहिलेको साख ग्राउन्ड ह्यान्डलिङ सेवा र अन्तर्राष्ट्रिय गन्तव्यमा व्यापार प्रवर्धनले धान्दै आएको छ ।
सुरुका दिनदेखि नै मुलुकको एक मात्र हवाई सेवाप्रदायकका रूपमा चिनिएको निगमले पछिल्लो समय दुर्गम क्षेत्रलाई राष्ट्रिय राजधानीसँग जोड्न, विपत् र आपत्कालीन स्थितिमा राहत आपूर्ति गर्न, राज्य र नागरिकका लागि तत्काल आवश्यक सामग्रीको ढुवानी गर्न र विदेशबाट आउने पर्यटकलाई सहज प्रवेश गराएर विदेशी मुद्रा आर्जनमा राज्यलाई सहयोग गर्दै आएको छ । आन्तरिकतर्फ उडान गर्ने जहाज कमी हुँदा काठमाडौँबाट बढी यात्रु हुने पोखरा, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढीलगायतका गन्तव्यमा सरकारी जहाजबाट व्यापार विस्तार गर्न सकेको छैन । सूचना र प्रविधिमैत्री यी विमानस्थलमा निजी क्षेत्रका विमानहरूले उडान गर्दै मुनाफा कमाएका छन् । निजी क्षेत्रका विमान कम्पनीसँग प्रतिस्पर्धामा केही पछि परेको नेवानिले अन्तर्राष्ट्रिय उडान पनि अपेक्षाकृत रूपले विस्तार गर्न सकेको छैन । निगमको विद्यमान अवस्थाको सुधारका लागि पटक पटक अध्ययन समिति बने पनि तिनको कार्यान्वयन हुन सकेको छैन । राजनीतिक हस्तक्षेप, आवश्यकताभन्दा बढी कर्मचारी भर्ती र कमजोर कानुनी व्यवस्थालगायतका कारण निगमको वित्तीय अवस्था कमजोर बन्न पुगेको चर्चा हुने गरेको छ ।
निगमको ग्राउन्ड ह्यान्डलिङ सेवा प्रयोग गर्ने विदेशी विमान कम्पनीको सङ्ख्या बढ्दै गइरहेको छ । जसबाट आम्दानी वृद्धि हुने र आर्थिक रूपमा केही सफल हुने देखिएको छ । निगमले यात्रुलाई आकर्षित गर्ने किसिमका काम गर्न सकेमा र व्यावसायिक योजनासहित आन्तरिक गन्तव्यमा पनि उडान गर्न सकेमा निगमले आफ्नो पुरानो साख फर्काउन सक्नेछ । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विश्वका यात्रुतर्फ २१ र कार्गोतर्फ २४ वायुसेवासँग सम्झौता गरी निगमले साख र आम्दानीमा सकारात्मक प्रभाव पार्न सक्छ । निगमले अन्य कनेक्टिङ उडानका यात्रुको आवश्यकतालाई ध्यानमा राखी निगमको उडान सीमामा व्यापक सुधार गर्नु पर्छ । निगमको विश्वसनीयता र अन्तर्राष्ट्रिय ख्यातिमा कमी आउन नदिन कार्यशैली र व्यवस्थापनमा चुस्त र दुरुस्त बनाउनु पर्छ । त्यसका लागि प्रमुख व्यवस्थापन र संरचनागत सुधार, व्यवस्थापन सुधार अन्तर्गत मुख्य रूपमा पुँजी, ऋण अनुदान अवस्था, सञ्चालनमा रहेको विमान, भूमिस्थ सेवा, ऋण उठाउने, बजार व्यवस्थापन, मानव संसाधनतर्फ सुधार गर्न जरुरी छ ।