• २३ असार २०८२, सोमबार

वायु प्रदूषणको चुनौती

blog

वायु प्रदूषण विश्वव्यापी समस्या हो । हरेक वर्ष हिउँद र खडेरीमा यो समस्या बढी दोहोरिन्छ । यो समस्याबाट नेपाल पनि अछुतो छैन । नेपालमा वायु प्रदूषण गम्भीर समस्या बन्दै छ । यसले जनजीवन प्रभावित बनाएको छ । पछिल्ला वर्षमा बढेको अव्यवस्थित सहरीकरण, मापदण्डविपरीतका अत्यधिक सवारीसाधन, घरायसी प्रयोजनमा प्रयोग गरिने काठ दाउरा र कोइला, आगलागी, डढेलो, औद्योगिक क्षेत्र आदि वायु प्रदूषणका मुख्य कारक हुन् । वायु प्रदूषणबाट बर्सेनि ठुलो सङ्ख्यामा जनधनको क्षति भएको छ । वायु प्रदूषणबाट सृजित विपत्जन्य घटना कम गर्न सकिएको छैन । यसकै कारण अकाल मृत्युदर बढेको हो । यसै कुरालाई दृष्टिगत गरी सरकारले वायु प्रदूषणजन्य विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी पाँचबर्से कार्ययोजना २०८२–२०८७ ल्याउने तयारी गरेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कार्ययोजनाको मसौदा तयार पारेको छ । यसमा विभिन्न क्षेत्रका विज्ञसँग सुझाव सङ्कलन सुरु भएको छ । वायु प्रदूषण न्यूनीकरण र अनुगमन गर्ने कार्य वातावरण विभाग अन्तर्गत राखिएको छ । न्यून जनशक्ति, स्रोतसाधनको कमीले अनुगमन तथा नियन्त्रणको कार्य प्रभावकारी हुन सकेको छैन । 

नेपालमा वायु प्रदूषणका कारण अकाल मृत्युदर ह्वात्तै बढेको छ । विश्व बैङ्कका अनुसार नेपालमा वायु प्रदूषणका कारण बर्सेनि २६ हजार मानिसले ज्यान गुमाउने गरेका छन् । त्यति मात्र होइन, वायु प्रदूषणले प्रत्येक नेपाली नागरिकको औसत आयु ३.४ वर्षले घटाउँदै लगेको छ । वायु प्रदूषणले नेपालको कुल गार्हस्थ उत्पादनमा समेत छ प्रतिशतभन्दा बढीको असर पारिरहेको छ । स्टेट अफ ग्लोबल एयर रिपोर्टमा त नेपालमा सन् २०२१ मा वायु प्रदूषणकै कारण ४८ हजार पाँच सय मानिसको ज्यान गएको देखाएको छ । सन् २०१९ मा ४२ हजार जनाको ज्यान गएको थियो । हरेक वर्ष हिउँद र खडेरीमा दोहोरिने वायु प्रदूषणका कारण काठमाडौँ उपत्यकालगायत सहरको जनजीवन बेला बेलामा अस्तव्यस्त हुने गरेको छ । विश्वमा वायु प्रदूषणका कारण सन् २०२१ मा ८१ लाख मानिसको मृत्यु भएको थियो । वायु प्रदूषणलाई विपत्का रूपमा स्वीकार गर्दै विश्वका विभिन्न मुलुकले न्यूनीकरणका उपाय अवलम्बन गरे पनि नेपालमा यो कार्य प्रभावकारी भएको छैन । वायु प्रदूषण मानिसको जीवनसँग प्रत्यक्ष जोडिँदै स्वास्थ्य, अर्थतन्त्र र सामुदायिक विकासको अवरोध मानिएको विभिन्न अध्ययनले औँल्याएको छ । 

एक अध्ययन अनुसार नेपालमा २०.५ प्रतिशत मानिसको मृत्यु वायु प्रदूषणका कारणले हुन्छ, जसमा बाह्य वायु प्रदूषणका कारण ९.२ र घरायसी वायु प्रदूषणका कारणले ११.३ प्रतिशत मानिसको मृत्यु हुने गरेको छ । घरायसी वायु प्रदूषण कम गर्ने र मृत्यु घटाउन केही प्रगति भए जस्तो देखिएको छ तर बाह्य वायु प्रदूषण न्यूनीकरणमा चुनौती थपिएको छ । यिनै दुष्परिणामबाट मानिसको जीवन बचाउने उद्देश्यसहित सरकारले राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा पाँचबर्से दीर्घकालीन कार्ययोजना ल्याउन लागिएको हो । पाँचबर्से कार्ययोजना बनाउँदै गर्दा नेपालले प्रतिबद्धता जनाएको दिगो विकासको लक्ष्य बिर्सन हुँदैन । दिगो विकास लक्ष्य र कार्ययोजनामा आउने विषय मिलेन भने त्यसले अन्योल सिर्जना गर्छ । दिगो विकास लक्ष्यको ३.९ नम्बरमा बाह्य वायु प्रदूषणका कारण हुने मृत्युदर ४४.१४ प्रतिलाखमा झार्ने प्रतिबद्धता नेपालले जनाएको छ । मृत्युदर घटाउने लक्ष्य भए पनि नेपालको वायु प्रदूषणबाट हुने मृत्युदर बढिरहेको छ । त्यसै गरी घरायसी वायु प्रदूषणबाट हुने मृत्युदर घटाउने लक्ष्य अनुसार नेपालले ४५.०१ प्रति एक लाखमा झार्नुपर्ने हुन्छ । यसका लागि वैज्ञानिक अध्ययन गरेर कार्ययोजनालाई पूर्णता दिनु पर्छ । 

सहरी क्षेत्रलाई हरियाली बनाउन चीनमा जस्तै ‘वायरङ पोलुसन’ को अवधारणा कार्ययोजनामा समावेश गर्न सकिने अवस्था छ । प्रदूषण बढ्नुभन्दा पहिले वायु प्रदूषण प्रक्षेपणमा एआईसहित प्रविधिको प्रयोगबाट तथ्याङ्क व्यवस्थित गर्नु पर्छ ।  नेपालमा २७ वटा स्टेसनबाट वायु प्रदूषणको तथ्य सङ्कलन भइरहेकोमा त्यो विश्वसनीय छ, छैन निक्र्योल गर्नु पर्छ । त्यसका तथ्य आमनागरिकले प्रयोग गर्न सक्ने गरी व्यवस्थित गर्ने विषय महत्वपूर्ण छ । प्रदूषण गर्नेले जरिबाना तिर्नुपर्ने (पोलुटर पे) अवधारणालाई कार्ययोजनामा समावेश गरिनु पर्छ । जसले प्रदूषण गर्छ, उनीहरूलाई थप कर लगाएर त्यो रकम प्रदूषण नियन्त्रणमा खर्च गर्न सकिन्छ । त्यसैले यो कार्ययोजनालाई थप परिष्कृत र व्यवस्थित गरी वायु प्रदूषण न्यूनीकरण गर्दै त्यसबाट हुने जोखिम कम गर्न कार्ययोजनालाई शीघ्र कार्यान्वयनमा लैजानु पर्छ ।