• २३ असार २०८२, सोमबार

मार्तडी–कोल्टी सडक अवरुद्ध

blog

पहिरोको कारण अवरुद्ध भएको मार्तडी–कोल्टी सडक । तस्बिरः शेरबहादुर सार्की

शेरबहादुर सार्कीे

बाजुरा, आसर २३ गते । बाजुराको मार्तडी–कोल्टी सडक अवरुद्ध भएको छ । वर्खा सुरु भएसँगै ठाउँ–ठाउँमा पहिरो जाने गरेकाले यहाँको मार्तडी–कोल्टी सडक अवरुद्ध बनेको हो ।

गत शुक्रबार बेलुकीदेखि शनिवारसम्मको लगातार वर्षातका कारण मार्तडी–कोल्टी सडक अन्तर्गत पर्ने बडिमालिका नगरपालिकाको –७ जिल्ली सडकमा पहिरो गएपछि मार्तडी–कोल्टी सडक अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

सडक अवरुद्ध हुँदा अहिले जिल्लाको पूर्वी–उत्तर क्षेत्रमा रहेको हिमाली, स्वामिकार्तिक, जगनाथ बुढीन्दालगायतका स्थानीयबासीलाई सदरमुकाम मार्तडीसम्म सवारीसाधनमा आउजाउ सास्ती हुने गरेको छ । 

मार्तडी–कोल्टी सडकखण्डको जिल्लीमा पहिरो गएपछि त्यस ठाउँमा अहिले यहाँका स्थानीयले ज्यान जोखिम राखेर मार्तडीमा आउजाउ गर्ने गरेका छन् । जेठमा पानी परेदेखि यहाँ पहिरो लाग्न थालेको हो । घाम लागेको बेला त्यो पहिरो सफा गरेर गाडी गुड्ने गरेका थिए । 

अहिले असारमा फेरि पानी परेसँगै यसमा पहिरो बग्न सुरु भएपछि सडक अवरुद्ध भएको बुढीनन्दा नगरपालिका स्थानीय राम कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “मार्तडी–कोल्टी सडक अवरुद्ध हुनुका मुख्य तीन कारण भनेको बाउलीमा पुल नबनिनु  जिल्ली सडकमा पहिरो नरोकिनु र दानसाँगु खोलामा पुल नहुनु हो । यी तीन वटा कुरा पुरा भएपछि मार्तडी–कोल्टी सडक वर्खाको समय पनि सञ्चालन हुन्छ ।”

यसका लागि हामी स्थानीयबासीले सबैसँग सधैं कुरा उठाउने गरेका छौं । उतादेखि कतैबाट केही सुनुवाइ नभएकाले यहाँका स्थानीयवासीले वर्खाको समय सधैं यसरी नै सास्ती खेप्नुपरेको कार्कीले बताउनुभयो ।

जिल्ली सडकमा मात्र नभएर यहाँको ढम्कनेदेखि उता कोल्टीसम्म सडकको अवस्था नाजुक छ । यो सडक कालोपत्रे गर्न ठेक्का परेको भए पनि अहिलेसम्म काम सम्पन्न भएको छैन ।

२०७८ सालको असारमै काम सम्पन्न गर्नेगरी २०७६ असारमा धुलिखेल ग्वाल्भा श्याम एण्ड शङ्कर प्रालि काठमाडौं र बाँनिया कोटेश्वर जेबि प्रालि हेटौँडाले सडक निर्माण कार्यको जिम्मा लिएका छन् ।

मार्तडी बसपार्कदेखि चुथीको झण्डै ९ किलोमिटर सडक कालोपत्रेका लागि २३ करोडमा धुलिखेल ग्वाल्भा श्याम एण्ड शङ्कर प्रालि काठमाडौं र चुथीदेखि ढम्कने झण्डै ६ किलोमिटर र ढम्केनेदेखि कोल्टीसम्मको २६ किलोमिटर सडक बाँनिया कोटेश्वर जेबि प्रालि हेटौडाले ६२ करोडमा जिम्मा लिएका हुन् ।

यता मार्तडीदेखि चुथीसम्मको ९ किलोमिटर सडक पक्की गर्ने काम सम्पन्न भए पनि उता ढम्कनेदेखि कोल्टीसम्मको ३१ किलोमिटर सडक भने अझै पक्की भएको छैन । ठेकदारको लापरबाहीले सो सडक निर्माणको काममा ढिलाइ भएपछि मार्तडीदेखि कोल्टीसम्म जाने यात्रुलाई बर्खाको समय सधैं यसरी आवतजावतमा सास्ती खेप्नुपरेको छ ।

मार्तडीदेखि कोल्टीसम्मको ४० किलोमिटर सडक कालोपत्रे गर्न ८५ करोडमा ठेक्का लिने ती दुई कम्पनीले ३५ करोडभन्दा बढी पहिलो किस्ता रकम भुक्तानी लिएका छन् । 

जिल्लीमा पहिरोको कारण सडक अवरुद्ध भएको हो । अहिले त्यो पहिरोलाई सफा गर्ने तयारी भएको छ । पहिरो सफा गरेपछि अवरुद्ध भएको सडक चाँडै सुचारु हुने भौतिक पर्वाधार विकास कार्यालय अछामका प्रमुख जङ्गबहादुर थापाले बताउनुभयो । 

उहाँले भन्नुभयो, “यसका लागि हामीले भौतिक पूर्वाधार सडक डिभिजन र यहाँका स्थानीय तहलाई समन्वय गर्दै जहाँ पहिरो गएको छ । त्यो ठाउँमा तुरुन्तै स्काइभेटर लाएर पहिरो सफा गर्ने भनेका छौ ।”

यतिबेला मार्तडी कोल्टी सडक अन्तर्गत जिल्लीमा पहिरोको कारण सडक अवरुद्ध भएको छ । त्यसका लागि अहिले हामीले नगरपालिका र भौतिक पूर्वाधारलाई समन्वय गरेर केही समयपछि स्काइभेटर लगाएर पहिरो सफा गर्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी पाध्याले बताउनुभयो ।