• २३ असार २०८२, सोमबार

पकेट क्षेत्रमा रोपियो टिमुर

blog

तुलसीपुर –१९ छिल्लीकोटमा रोपिएको टिमुरको बिरुवा ।

गोकर्ण पौडेल 

तुलसीपुर, असार २३ गते । दाङको टिमुर पकेट क्षेत्रका रूपमा रहेको पहाडी क्षेत्रमा टिमुरका बिरुवा रोपिएको छ । डिभिजन वन कार्यालयले पाँच वर्षदेखि जिल्लाको तीन पालिकामा पकेट क्षेत्रकै रूपमा टिमुरको बिरुवा रोपण तथा संरक्षण गर्दैआएको छ । 

दाङका पहाडी क्षेत्रमा टिमुरको व्यावसायिक रूपमा खेती गर्न थालिएको छ ।  बङ्गलाचुली गाउँपालिकाको सबै क्षेत्र, तुलसीपुरको वडा ३, ४ र १९ घोराहीको १८ र १९ नम्बर वडालाई टिमुर पकेट क्षेत्रका रूपमा घोषणा गरिएको छ । 

तुलसीपुर उपमहानगरपालिका वडा १९ का किसान परवीर पुनले डिभिजन वन कार्यालयबाट वितरण गरिएको टिमुरका बिरुवा त्यस क्षेत्रका किसानका साथै कालिका सामुदायिक वनमा रोपण गरिएको बताउनुभयो । उहाँले विगतमा रोपण गरिएका बिरुवाले उत्पादन दिन सुरु गरेको बताउनुभयो । 

एउटा बिरुवाले पाँचदेखि दुईसय केजीसम्म उत्पादन दिने गरेको किसान परवीर पुनले बताउनुभयो । हाल टिमुरको बजार मूल्य प्रतिकेजी पाँचसय रुपियाँमा बिक्री गरेको किसान पुनले बताउनुभयो । 

डिभिजन वन कार्यालय दाङका रेन्जर अमित पाण्डेका अनुसार यस वर्ष पकेट क्षेत्रमा रोपण गर्नका लागि करिब दश हजार बिरुवा वितरण गरिएको छ । आगामी वर्षका लागि करिब २४ हजार टिमुरका बिरुवा तयारी अवस्थामा राखिएको छ । 

वार्षिक रूपमा ५ करोड बढी मूल्यको टिमुर दाङबाट निर्यात हुने गरेको डिभिजन वन कार्यालयले जानकारी दिएको छ । टिमुर खेती बलौटो माटोमा ८ सयदेखि दुई हजार मिटरसम्मको उचाइमा हुने गर्दछ । टिमुर चिया, तरकारीमा प्रयोग गरिने मसलासहित औषधीजन्य प्रयोजनका लागि योग्य मानिन्छ भने टिमुर मसलाका साथै आयुर्वेदिक औषधी बनाउन प्रयोग गर्ने गरिएको छ ।