सत्तरी प्रतिशत हाराहारीमा खाना पकाउनका लागि परम्परागत ऊर्जास्रोत दाउराको प्रयोग हुने गरेको नेपालका ग्रामीण क्षेत्रमा पनि एलपी ग्यासका सिलिन्डर पुग्न थालेका छन् । जैविक इन्धन अर्थात् पेट्रोलियम पदार्थको कारोबार गर्ने नेपाल आयल निगमका अनुसार विगतमा खाना पकाउने ग्यासको खपत वार्षिक रूपमा १० देखि १५ प्रतिशत दरले बढ्ने गरेकामा गत आर्थिक वर्षमा चाहिँ यो इन्धनको खपत घटेको छ । खपत घटेका कारण अघिल्लो आर्थिक वर्षको तुलनामा करिब सात अर्ब रुपियाँ जोगियो । ग्यास आयात गर्नु नपर्दा मुलुकको वैदेशिक मुद्रा जोगिएको सुन्दा खुसी लागे पनि यसको मुख्य कारण चिन्ताजनक छ । मुलुकमा आर्थिक गतिविधि सङ्कुचित हुँदा ग्यासको खपतमा कमी आएकै हो भने त्यो चिन्ताजनक हो तर विद्युत्को प्रयोगले ग्यास विस्तापित हुँदै गएको हो भने त्यो भने सकारात्मक पक्ष हो ।
नेपाल आयल निगमका अनुसार ग्यासको मासिक खपत ४२ हजार ६८१ मेट्रिक टन हुने गरेको छ । भन्सार विभागले ६५ अर्ब ५५ करोड ९७ लाख चार हजार रुपियाँ बराबरको पाँच लाख ३५ हजार ८६५ मेट्रिक टन ग्यास आयात भएकोमा २०७९/८० मा ५८ अर्ब १५ करोड ४१ लाख १४ हजार रुपियाँको पाँच लाख १४ हजार ३४० मेट्रिक टन आयात भएको जनाएको छ । नेपालमा खपत हुने कुल ग्यासमध्ये ३० प्रतिशत घरायसी प्रयोजन र ७० प्रतिशत औद्योगिक प्रयोजनका लागि प्रयोग हुने गरेको बताइएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार मुलुकभर ४४ प्रतिशत घरधुरीले ग्यासको प्रयोग गर्ने गरेका छन् । विदेशमा ज्यान हत्केलामा राखेर कमाएको पैसाको उल्लेख्य भाग नेपालमा परिवारका मान्छेले ग्यास किन्नमा विदेशमै फर्काउनु आफैँमा विडम्बनापूर्ण हो ।
यसो त आर्थिक वर्ष २०७८/७९ फागुनसम्मको तुलनामा २०७९/८० को फागुनसम्ममा हवाई इन्धनबाहेक सबै पेट्रोलियम पदार्थको आयात र खपत घट्यो । मट्टीतेल ३६.६ प्रतिशत र डिजेल २५.४ प्रतिशतले आयात घट्यो । घरायसी, सार्वजनिक तथा औद्योगिक प्रयोजनमा पेट्रोलियमको आयात र खपत घट्नुको मूल कारण आर्थिक गतिविधि कम हुनु हो । विश्वव्यापी आर्थिक सङ्कटको असर नेपालमा पनि प-यो । आर्थिक सङ्कटका कारण ठुला रेस्टुरेन्टमा कारोबार घटेको छ । होटल रेस्टुरेन्टले ठुलो मात्रामा ग्यासको प्रयोग गर्ने गर्छन् । औद्योगिक प्रयोजन (विशेष गरी सिसा उद्योग, छड र फलाम उद्योग) मा ग्यास प्रयोग हुने गर्छ । ग्यास प्रयोग हुने उद्योगहरू आर्थिक मन्दीका कारण पूर्ण रूपमा चल्न नसक्दा खपतमा कमी भई आयातमा न्यूनीकरण हुन सक्छ ।
अर्कोतिर भने आसलाग्दो पक्षसमेत छ । जलविद्युत्को उत्पादन, नियमित आपूर्ति र प्रयोग निश्चय नै बढेको छ । पछिल्लो समय विद्युतीय चुलो (इन्डक्सन) को प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपतमा कमी आएको देखिन्छ । विद्युतीय चुलो मूलतः घरायसी प्रयोग नै बढी हुन थालेको छ । ग्यासभन्दा बिजुली सस्तो पर्ने हुँदा उपभोक्ता विद्युतीय उपकरणको प्रयोगमा आकर्षित भएका छन् । यातायात सञ्चालनका लागि विद्युतीय सवारी साधनको प्रयोगमा प्रोत्साहन हुँदै गएकोले केही मात्रामा भए पनि डिजेल आयात प्रतिस्थापनमा सहयोग पुगेको अनुमान गर्न सकिन्छ ।
अहिले नेपालको ९० प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पुगेको छ । पछिल्लो तथ्याङ्कले दुई हजार ६६६ मेगावाट विद्युत् उत्पादन भएको देखाएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार चालु आर्थिक वर्षमा झन्डै आठ सय मेगावाट विद्युत् नेपालको कुल जडित क्षमतामा थप हुने अनुमान गरिएको छ । केही समयभित्रै तीन हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन क्षमता पुग्दै छ । पेट्रोलियम पदार्थ आयात प्रतिस्थापन गरी व्यापार घाटा कम गर्न सकिने छ । ऊर्जा प्रयोग ढाँचामा परिवर्तन गरी ग्रामीण क्षेत्रमा नवीकरणीय ऊर्जा, सौर्य, जैविक ऊर्जा विकास र प्रयोगमा प्राथमिकता तथा प्रोत्साहन अनि उद्योग व्यवसायमा जलविद्युत् ऊर्जा प्रयोग प्रोत्साहन अझै बढाउनु वाञ्छनीय छ । नेपालको विद्युत् उत्पादन क्षमता विस्तार हुँदै गएसँगै विद्युत् निर्यातका लागि बजारको खोजी आवश्यक हुँदै हो तर खाना पकाउनदेखि सवारी साधनमा समेत विद्युतीय प्रयोग गर्दा कुल आयातमा व्यापक कम गर्न सकिने छ । विज्ञका अनुसार हरेक काममा विद्युत् प्रयोग गर्दा नेपालमा नै २५ देखि ३० अर्बको विद्युत् खपत हुन सक्छ र त्यसले करिब पाँच खर्ब बराबरको आयातलाई प्रतिस्थापन गर्न सकिने छ । अबको आवश्यकता नियमित गुणस्तरीय विद्युत् सेवा र उत्पादनमूलक आन्तरिक प्रयोग नै हो ।