सूचना प्रविधिको बढ्दो प्रयोग समाजको अपरिहार्य आवश्यकता बन्दै गएको छ । सूचना प्रविधिको साधनको आरम्भमा टेलिफोन आविष्कार हुँदा संसारै अचम्ममा परेको थियो । सञ्चारबिना संसार असम्भव भन्ने भनाइलाई सूचना प्रविधिको बढ्दो प्रयोगले सार्थक तुल्याउँदो छ । कुनै बेला समाचार पढ्न अखबार नै चाहिन्थ्यो । रेडियोको आविष्कारले सूचनावेग अझ सजिलो बनायो । टेलिभिजनले श्रव्यसँगै दृश्य सामग्रीको सुविधा दियो । प्रविधि विकासक्रममा मोबाइल फोनको आविष्कार र प्रयोगले चामत्कारिक सेवा विस्तार गर्न सक्यो । बहुआयामिक सुविधा निरन्तर विस्तार हुँदै छ । अखबार, रेडियो, टेलिभिजनका सबै आयामसँगै स्मार्ट फोनमा अनेकौँ सुविधा थपिँदो छ । स्मार्ट फिचर कति हो कति ? तस्बिर तथा भिडियो लिने, सम्पादन गर्ने, सामाजिक सञ्जालमा विश्वव्यापी पहुँच बढाउन सकिने भएको छ । इन्टरनेटको पहुँचकै कारण मोबाइलले विश्व एउटै गाउँ बनाउन सक्यो । यो मोबाइल अन्वेषण, उत्पादन र बजार पहुँच सबै समाजको पहुँचमा पुग्न सकेन । विश्वका धेरै मुलुक सूचना प्रविधिमा आयातमा आधारित छन् । यसमा नेपाल झनै अगाडि देखिएको छ । नौ महिनामै नेपालको ठुलो धनराशि मोबाइल आयातमा बाहिरिएको छ । यसले एकातिर नेपाली समाज डिजिटल पहुँचतिर अग्रसर छ भन्ने त देखिन्छ तर देशको व्यापार असन्तुलनलाई धरापमा पारेको छ ।
चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म मोबाइल आयातमा मात्र नेपालबाट झन्डै ३४ अर्ब रुपियाँ बाहिरिएको छ । यो रकम पछिल्लो एक दशकमै सर्वाधिक बढी देखिँदा यसका कारण र असरलाई विश्लेषण गर्नुपर्ने आवश्यकता छ । भन्सार विभागका अनुसार आव २०८२/८३ को नौ महिनाको तथ्याङ्क अनुसार नेपालले यो अवधिमा स्मार्ट फोन मात्र ३३ अर्ब ८२ करोड रुपियाँको आयात गरेको छ । यसबाहेक ७२ करोड २२ लाख रुपियाँको अन्य प्रकृति अर्थात् बार तथा फिचर फोनका मोबाइल आयात भएको पाइएको छ । अघिल्लो आवमा वर्षभरि ३५ अर्ब ५४ करोड रुपियाँको स्मार्ट फोन आयात भएको थियो । त्यो तथ्याङ्कलाई यो वर्ष भने झन्डै नौ महिनामै उछिन्न खोजेको देखिन्छ । भन्सार व्यवस्थामा गरेको सुधारले पनि यो सकारात्मक प्रभाव देखिएको हुन सक्छ । चालु आव पूरा हुन तीन महिना बाँकी छ । सरकारले भन्सारमा कडाइ गरिरहेको छ । यसै कारण पनि चालु आवमा झन्डै ४० अर्बको मोबाइल फोन मात्र आयात हुन सक्ने देखिएको छ । एक दशकअघि वार्षिक १२/१४ अर्ब रुपियाँ मोबाइल आयातमा पैसा बाहिर जाने गरेको थियो भने यताका वर्षमा यसमा ठुलो फड्को मारेको छ । अवैध आयातमा रोक लगाइएका कारण पनि सही तथ्याङ्क देखिन गएको हो । अमेरिकी डलरको भाउ बढेका कारण पनि राशि बढी देखिएको हुन सक्छ ।
मोबाइलले व्यापार घाटा अझ उच्च बनाउँदै जाने देखिएको छ । नेपालमै एसेम्बल गर्न सक्दा बाहिर जाने रकम स्वदेशमै बस्न सक्थ्यो । मोबाइल जस्ता सूचना प्रविधिका सामग्री उत्पादन गर्न बहुदेशीय कम्पनीलाई आमन्त्रण गर्नुपर्ने नीतिगत खाँचो देखिएको छ । त्यसतर्फ प्रयास अगाडि बढाउनु पर्छ । छिमेकी मुलुक भारत र चीनले फोन उत्पादनमा चमत्कार नै गरेका छन् । विश्व बजारमा आपूर्ति गरिरहेका छन् । नेपालमा पनि यी दुई मुलुकबाट ठुलो मात्रामा आयात हुने गरेको देखिएको छ । नेपालमा सबैभन्दा बढी मोबाइल चीनबाट आयात हुने गरेको छ । चालु वर्षमा चीनबाट मात्रै २५ अर्ब ६५ करोड रुपियाँको मोबाइल आयात भएको छ । त्यसपछि भारतबाट सात अर्ब ५९ करोड रुपियाँको मोबाइल आयात भएको छ । यसबाहेक अस्टे«लिया, संयुक्त राज्य अमेरिका, संयुक्त अरब इमिरेट्स, जापान, दक्षिण कोरिया, कतार, बेलायत, क्यानडालगायत मुलुकबाट मोबाइल आयात भएको देखिन्छ । मोबाइलको वैध आयात बढ्नु राम्रो हो । मोबाइल फोनबाट देशले वार्षिक तीन अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ । नेपालमा विद्युतीय ऊर्जाको पहुँच बढ्दो छ । बहुदेशीय कम्पनीले देशभित्र मोबाइललगायतका सूचना प्रविधि उपकरण उत्पादनमा लगानी ल्याउन सक्ने ठुलो सम्भावना छ । यसले लगानी बढाउने छ । रोजगारी विस्तार गर्न सक्ने छ । कम तौल भएका वस्तु उत्पादन गरी निर्यात गर्नु तुलनात्मक लाभका दृष्टिले पनि महत्वपूर्ण छ । समुद्रसँग नजोडिएका कारण बढी भार भएका वस्तु उत्पादन र निर्यातमा लागत बढ्ने हुँदा सूचना प्रविधिका उपकरण उत्पादन, देशभित्र उपयोग तथा निर्यातसम्ममा दृष्टि दिनु वाञ्छनीय देखिन्छ ।