• १५ वैशाख २०८३, मङ्गलबार

महाकाली नदीमा दुई देशको फोहोर : प्लास्टिक र सिसाजन्य वस्तु अधिक

blog

बैतडी समाचारदाता 

बैतडी, वैशाख १५ गते ।  नेपाल–भारतको सिमानामा बग्ने महाकाली नदीमा दुई देशका छ वटा सहरको डम्पिङसाइटको फोहोर सिधै थुप्रन थालेको छ । नदीमा प्लास्टिक, अलमुनियम र सिसाजन्य फोहोरसमेत फाल्ने गरिएको छ । नदीमा भारततर्फको धारचुलादेखि बनवासा र टनकपुरको सहरी फोहोर र नेपालको दार्चुला, बैतडीदेखि कञ्चनपुरसम्मको फोहोर महाकाली नदीमै मिसिने गरेको छ ।  

फोहोरका कारण पवित्र नदीको पारिस्थितिक प्रणाली र तटीय क्षेत्रका बासिन्दाको स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको एक अध्ययनले देखाएको छ । यति मात्रै होइन, महाकालीमा पाइने ‘गोल्डेन महाशिर’ प्रजातिको माछाको जीवनचक्र सङ्कटमा परेको छ । महाकालीमा फुल पारेर भुरा हुर्काउने वयस्क ‘गोल्डेन महाशिर’ को तौल ५० किलोसम्म हुने गरेको छ । 

यो माछा नेपालतर्फ खुला भए पनि भारततर्फ भने सिकार गर्न नपाइने गरेर प्रतिबन्ध लगाइएको भारतीय नागरिक प्रमोद भट्टले जानकारी दिनुभयो । यद्यपि, नदीमा  फालिने प्लास्टिक र सिसाजन्य फोहोरले यो प्रजातिको जीवनचक्र सङ्कटमा परेको उहाँले बताउनुभयो । 

पानीमा अम्लीयपन बढ्यो 

नदीतटीय क्षेत्रमा महाकालीको पानीको उपभोगसम्बन्धी काम गर्दै आइरहेको गैरसरकारी संस्था रुडेस बैतडीले नदीको पानीमा पछिल्लो समय छारीयपन बढेको जानकारी दिएको छ । संस्थाका कार्यकारी निर्देशक गोविन्दराज जोशीले महाकाली नदीमा दुई देशका सहरको फोहोर थुप्रँदै गएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “नेपालको राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड अनुसार पिउन योग्य पानीको अम्लीयपन (पिएच) मान ६.५ देखि ८.५ को बिचमा हुनु पर्छ । महाकालीको पानीमा ७.५ पिएच छ । मापदण्ड अनुसार अम्लीयपनको मान ठिकै देखिए पनि, महाकालीको पानी सिधै पिउन योग्य छैन । नदीमा सिधै मिसाइने ढल, बजारको फोहोर र रासायनिक तत्वका कारण यसमा हानिकारक कीटाणु र अन्य मलमुत्रको प्रदूषणको मात्रा उच्च रहेको छ ।” 

नदी तटीय क्षेत्रका मानिसले महाकालीको पानी पिउने गरेकाले पानीको गुणस्तर जाँच गरेको  उहाँले बताउनुभयो । संस्थाले दशरथ चन्द नगरपाकिला–१०, तिरखडेनी र बुर्किल गाउँमा महाकालीको पानी तानेर सिँचाइ र घरायसी उपभोगका लागि प्रयोगमा ल्याएको छ । संस्थाले बैतडीको दशरथ चन्द नगरपालिका–६, सेरा, ८ नम्बर वडाको झुलाघाट र १० नम्बर वडाको तिरखडेनी र पचेश्वर गाउँपालिका–४ को विनायकमा महाकालीको नदीको पानी सदुपयोगसम्बन्धी काम गरेको  बताएको छ । 

छ वटा सहरको फोहोर चुनौती

महाकाली नदीमा नेपालतर्फको दार्चुला र भारतको धारचुला सहरको ढल र बजारबाट निस्कने ठोस फोहोर सिधै महाकाली फालिन्छ ।  बैतडीको झुलाघाट र सेरा (नेपाल र भारत) दुवै देशका पसल र होटेलको फोहोर पनि नदी किनारमै फाल्ने गरिएको छ । त्यसै गरी कञ्चनपुर र भारतको उत्तराखण्ड राज्यको तल्लो तटीय क्षेत्र वनबासा र टनकपुरको फोहोर पनि महाकालीमै मिसिने गरेको छ । 

नेपाल र भारतमा छ वटा प्रमुख सहरको फोहोर सिधै महाकाली नदीमा फाल्दा दिनप्रतिदिन नदी प्रदूषित बन्दै गएको बैतडीका स्थानीयवासी हिम्मत चन्दले बताउनुभयो । उहाँले महाकालीमा डम्पिङ साइटको फोहोर र शौचालयका ढल मिसाउनेमाथि दुवै देशका सरकारले कारबाही गर्नुपर्ने बताउनुभयो ।