गजेन्द्र गुरुङ
खजुरा, वैशाख १५ गते । डिभिजन वन कार्यालय बाँकेले विभिन्न वन्यजन्तुहरुको उद्धार कार्य गर्दै आएको छ । पछिल्लो तथ्याङ्कअनुसार बाँके जिल्लामा वन्यजन्तुको उद्धार गर्ने कार्य वृद्धि हुँदै गएको छ । विगतका वर्षहरुमा भन्दा चालु वर्षमा विभिन्न वन्यजन्तु उद्धार गर्ने कार्यमा वृद्धि हुँदै गएको हो ।
डिभिजन वन कार्यालय बाँकेले चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्म १५६ वटा विभिन्न वन्यजन्तुहरुको उद्धार गरेको छ । यो तथ्याङ्कले विगतका वर्षहरुभन्दा पछिल्ला वर्षहरुमा उद्धार कार्य गरिने वन्यजन्तुको सङ्ख्या वृद्धि भएको देखाउँछ ।
तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा वन कार्यालयले विभिन्न प्रजातिका १३८ वटा वन्यजन्तुको उद्धार गरेको थियो । त्यसैगरी आव २०८०/८१ मा ९९ वटा, आव २०७९/८० मा ४२ वटा, आव २०७८/७९ मा ३१, आव २०७७/७८ मा ३४ र आव २०७६–७७ मा १७ वन्यजन्तुको उद्धार भएको डिभिजन वन कार्यालय बाँकेको तथ्याङ्क छ । यसले हरेक वर्ष उद्धार गरिने वन्यजन्तुको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदै गएको देखिन्छ ।
चालु आवको हालसम्म घाइते, टुहुरा, बाटो बिराई गाउँबस्तीमा प्रवेश गरेका तथा सङ्कटमा परेका विभिन्न प्रजातिका १५६ वटा वन्यजन्तुको उद्धार गरिएको डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ वन अधिकृत सुशील सुवेदीले जानकारी दिनुभयो ।
जिल्लाका विभिन्न स्थानबाट चित्तल, धामन, हुचिल, करेत, गोमन, सुनगोहोरो, गोही, पानीसर्प, राजगोमन, अजिङ्गर, बँदेल, नीलगाई, रसेल भाइपर तथा कालो बिरालो लगायतका वन्यजन्तुको उद्धार गरिएको वरिष्ठ वन अधिकृत पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी सर्प प्रजातिको उद्धार गरिएको छ ।
उहाँका अनुसार विभिन्न प्रजातिका १३४ वटा सर्पका उद्धार भएको हो । जसमध्ये ६८ वटा गोमन, २६ वटा धामन, १९ वटा करेत, अजिङ्गर ९ वटा, ७ वटा रसेल भाइपर, ४ वटा पानीसर्प र एउटा राजगोमन रहेका छन् । त्यसैगरी गोही ८ वटा, सुनगोहोरो ४ वटा, चित्तल ४ वटा, नीलगाई ३ र हुचिल, बँदेल तथा कालोबिरालो एक–एक वटा उद्धार गरिएको छ ।
उद्धार गरिएका वन्यजन्तुलाई बाँकेको विभिन्न राष्ट्रिय तथा सामुदायिक वनहरुमा पुनःस्थापना गरिएको उहाँले बताउनुभयो । केही वन्यजन्तुलाई बाँके राष्ट्रिय निकुञ्जमा पठाइने गरिएको छ । घाइते वन्यजन्तुलाई डिभिजन वन कार्यालयमा राखेर आवश्यक औषधि उपचारपश्चात् पूर्ण रुपमा निको भएपछि मात्र जङ्गलमा पुनःस्थापना गरिँदै आइएको उहाँले जानकारी दिनुभयो ।
जङ्गलमा आहाराको मात्रा कम हुनु, मानिसहरुको बढी चलहपहल हुनु, बाटो बिराएर मानव बस्तीमा प्रवेश गर्नु, पानी पिउन तालतलैया तथा नहरमा जाँदा फँस्नुजस्ता विभिन्न कारणले गर्दा वन्यजन्तुहरु आफ्नो वासस्थानबाट बाहिर निस्किएर अलपत्र पर्ने गरेका र त्यस्ता वन्यजन्तुलाई उद्धार गरिँदै आएको वरिष्ठ वन अधिकृत सुवेदीको भनाइ छ ।