८० वर्षकी ती आमाको अनुहारमा समयको कथा थियो तर अझै पनि उनको मनमा माया र अतिथि सत्कारको उज्यालो बत्ती बलिरहेको थियो । हामीले दाल, चामल, तरकारी र तातो चिया बनाएर सँगै बसेर खायौँ ।
नेपाल विश्वकै प्राकृतिक सौन्दर्यको अलौकिक खानी भएको मुलुक हो । यसै कारणले नेपाललाई संसारभरि पर्यटनको मुख्य आकर्षणको केन्द्र मानिन्छ । मेचीदेखि महाकालीसम्म र तराईदेखि हिमालसम्म फैलिएको हाम्रो देशमा अनेकौँ अद्वितीय स्थल छन् । तीमध्ये मुस्ताङ पनि हो । सुन झैँ चम्किरहेका हिउँचुली, गौरवसहित चारै दिशाबाट घेरिएका हराभरा र खैरा पहाड, मिठो गीत गुनगुनाउँदै बगिरहेको नदी मुस्ताङको सम्पत्ति हो । जीवनको मोहबाट मुक्तिको अनुभव पाउने एक मात्र मार्ग जस्तो लाग्छ– मुस्ताङ । यो ठाउँ नेपालको प्राकृतिक, धार्मिक र ऐतिहासिक रूपमा अत्यन्तै महत्त्वपूर्ण स्थान हो ।
मुस्ताङ जाने इच्छा पहिलेदेखि थियो । यस पटक मुस्ताङ भ्रमण गर्ने सपना साँचो हुँदै थियो । पहिलो दिन बिहान घरबाट हिँड्नुअघि आमाले हतारमा बोलाउनुभयो, “उठ बाबु, बिहानको ६ बजिसक्यो ।”
मिठो निद्रा भए पनि उत्साहित मनका साथ म छिटो छिटो तयार भएँ । हातमा झोला, क्यामरा र अनगन्ती इच्छा बोकेर घरबाट निस्किएँ । हामी बसमा चढ्यौँ । यात्रा सुरु भयो । बसको सिटबाट बाहिर हेर्दा हरेक दृश्य पृथ्वीले चित्र कोरिरहेको जस्तो लाग्थ्यो । पहाडमा उभिएका रुख नाचिरहेका थिए र हरेक झरनाले मिठो गीत गाइरहेको महसुस हुन्थ्यो । स्पिकरमा ‘रेसम फिरिरी...’ बजाइरहेको थियो । हामी सबै मुस्कुराउँदै र रमाउँदै विस्तारै गुडिरहेका थियौँ । साँझको ६ बज्दा हामी पोखरा पुग्यौँ ।
बिहान उठेर मार्फातिरको यात्रा सुरु ग¥यौँ । बिच बाटोमा बस रूपसे झरनामा रोकियो । त्यो झरना त स्वर्गको ढोका जस्तो लागिरहेको थियो । छेउमा चिसो पानीको हावा महसुस गर्दै क्यामराबाट झरनाका सुन्दर तस्बिरहरू खिचेँ । दिदीले हाँस्दै भनिन्, “अब त फोटो राख्ने ठाउँ नै सकियो होला ।” उनको कुरा सुनेर हामी सबै हाँस्यौँ ।
झिसमिसेमा हामी मार्फा पुग्यौँ । गाउँ सानो तर सुन्दर थियो । विभिन्न ढुङ्गाले बनेका घर र अत्यन्त चिसो वातावरण हेर्दा मलाई अचम्म लाग्यो ।
बिहान आमाले फेरि भन्नुभयो, “उठ बाबु, आज कागबेनी पुग्नु छ ।” छिटो तयारी गरी बसमा बसेर हामी झलमल्ल टल्किएका हिमाल हेर्दै अघि बढ्यौँ । आकाश निलो र हावा हिउँ झैँ चिसो थियो । कागबेनी पुग्दा म मोहित भएँ । रातो, पहेँलो र सेता झन्डा हावामा फर्फराउँदै थिए । हामी समुद्र सतहदेखि दुई हजार ८०४ मिटर माथि पुगेका रहेछौँ । हामी मुस्ताङको सबैभन्दा पवित्र र मनमोहक मन्दिर मुक्तिनाथतर्फ लाग्यौँ । बस पार्किङमा रोकेर हामी मन्दिरका लागि चढाइ सुरु गर्यौँ । भगवान् मुक्तिनाथको दर्शन गर्दा उत्साहको बयान नै गर्न सकिँदैन । मनमा शान्तिको अद्भुत अनुभूति भइरहेको थियो । मन्दिरका पछाडिरहेका १०८ दिव्य मुक्ति धारा र अगाडि रहेका दुई वटा कुण्डमा स्नान गर्दा मन प्रफुल्लित भयो ।
त्यसपछि कागबेनीको प्रसिद्ध गुम्बामा पुग्यौँ । त्यहाँ ढुङ्गामा बौद्धिक मन्त्रहरू कोरिएका थिए । हामीले अझै विभिन्न कलाकृति र सुन्दर मूर्ति अवलोकन गर्यौँ । त्यहाँ एक जना लामासँग कुरा गर्दा मेरो मनमा एउटा प्रश्न उब्जियो, “यहाँका मानिस यस्तो चिसो ठाउँमा कसरी बाँच्दछन् होला ?” सम्भवतः ऋतुसँग मानिस अभ्यस्त भएका होलान् । बौद्ध भिक्षुहरूको मौनता, अनुशासन र विश्वास मलाई अद्भुत लाग्यो ।
चौथो दिन हामी ल्होमन्थाङतर्फ लाग्यौँ । चीन सीमासम्म पुग्ने हाम्रो लक्ष्य थियो । त्यहाँ पुगेर भोक लाग्दा हामी एक वृद्ध शेर्पा आमाको घरमा रोकियौँ । हामीले आमालाई सोध्यौँ, “यहाँ खाना पकाउन पाइन्छ ?” उहाँले मुस्कुराउँदै भन्नुभयो, “किन नपाउनु र ?” थप कुरा गर्दा उहाँका छोरा अहिले भारतमा रहेको थाहा भयो । ८० वर्षकी ती आमाको अनुहारमा समयको कथा थियो तर अझै पनि उनको मनमा माया र अतिथि सत्कारको उज्यालो बत्ती बलिरहेको थियो । हामीले दाल, चामल, तरकारी र तातो चिया बनाएर सँगै बसेर खायौँ ।
अर्को दिन हामी पोखरा फर्कियौँ । रातिको खानापछि पोखरा बजारको भ्रमण गर्यौँ । पोखराको रात्रि दृश्य निकै रमाइलो हुने रहेछ । दृश्य हेरेर मजा लियौँ । त्यसपछि होटेलमा गएर सुत्यौँ ।
अन्तिम बिहान सूर्योदयसँगै उठ्यौँ । फेवातालमा बोटिङ गर्दै ताल वाराहीको दर्शन गर्यौँ । विश्वशान्ति स्तूपबाट सहरलाई हेर्दा शान्तिको अनुभव भयो । बसमा फर्किंदा हामीले अन्ताक्षरी खेल्यौँ । रातको ८ बजे हामी घर आइपुग्यौँ । मानिसहरू विदेश घुम्ने सपना देख्छन् तर आफ्नै मातृभूमिको सौन्दर्य बिर्सिन्छन् । हरेक नेपालीले जीवनमा एक पटक भए पनि मुस्ताङ यात्रा अवश्य गर्नु पर्छ ।