• १५ वैशाख २०८३, मङ्गलबार

हिरासतमा युवकको मृत्युबारे निष्पक्ष छानबिनको माग

blog

राधा लुइटेल
फिदिम, वैशाख १५ गते ।
सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–३ निवासी २२ वर्षीय कृष्ण विकको प्रहरी हिरासतमा मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै पाँचथरमा दलित अधिकारकर्मी तथा विभिन्न सङ्घ–संस्थाले निष्पक्ष छानबिनको माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, खुर्कोटको हिरासतमा रहेका विकको गत वैशाख ७ गते मृत्यु भएको घटनाले समग्र दलित समुदाय तथा मानवअधिकारकर्मीलाई स्तब्ध बनाएको जनाइएको छ । प्रेस विज्ञप्तिमार्फत उक्त घटनाको सत्यतथ्य बाहिर ल्याई दोषीमाथि कडा कारबाही गर्न माग गरिएको हो ।

विज्ञप्ति अनुसार अन्तरजातीय विवाहका कारण विकलाई सात दिनअघि पक्राउ गरी प्रहरी हिरासतमा राखिएको थियो । हिरासतमा रहेका व्यक्तिको मृत्यु हुनु गम्भीर विषय भएको उल्लेख गर्दै राज्यका कानुन कार्यान्वयन गर्ने निकायबाटै मानवअधिकार उल्लङ्घन भएको आशङ्का व्यक्त गरिएको छ । घटनाले राज्यको सुरक्षा प्रणालीमाथि समेत प्रश्न उठाएको जनाइएको छ ।

नेपालको संविधान तथा विद्यमान कानुनले छुवाछुत र जातीय विभेद अन्त्य भएको घोषणा गरे पनि व्यवहारमा अझै यस्ता घटना दोहोरिरहेको विज्ञप्तिमा उल्लेख छ । साथै, अन्तरजातीय प्रेम वा विवाहका कारण दलित समुदायमाथि हुने विभेद र हिंसाका घटनामा वृद्धि भइरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

यस किसिमका घटनाले मानवअधिकार र कानुनी शासनमाथि नै चुनौती सिर्जना गरेको भन्दै दोषीलाई कडाभन्दा कडा कारबाही, पीडित परिवारलाई क्षतिपूर्ति र न्याय सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरिएको छ ।

नेपाल दलित सङ्घ पाँचथर, मुक्ति समाज नेपाल पाँचथर, नेपाल दलित मुक्ति मोर्चा, नेपाल दलित मुक्ति सङ्गठन, गैसस महासङ्घ पाँचथर, समता नेपाल, सुनचाँदी व्यवसायी सङ्घ पाँचथर, दलित अधिकारकर्मी लगायतका संस्थाहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका छन् ।