• १५ वैशाख २०८३, मङ्गलबार

सङ्घ र प्रदेशका सांसदलाई साक्षी राखेर महासङ्घले बुझायो ज्ञापन पत्र

blog

बोमलाल गिरी 

नवलपुर, वैशाख १५ गते । नेपाल पत्रकार महासङ्घ नवलपुर शाखाले प्रतिनिधि सभा र प्रदेश सभाका पाँच जना सांसदलाई साक्षी राखेर जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्मा मार्फत आठवटै पालिका प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ । सरकारी विज्ञापन सरकारी सञ्चार माध्यामलाई मात्र दिने केन्द्र सरकारको निर्णयको विरोध गर्दै महासङ्घले ज्ञापन पत्र बुझाएको हो । 

उक्त अवसरमा नवलपुरबाट निर्वाचित प्रतिनिधि सभा सदस्य राजन गौतम र मनिष खनाल तथा प्रदेश सभाका सांसदहरू रोशनबहादुर गाहा, दमयन्ती रुचाल र विन्दु पौडेल सहभागी हुनुहुन्थ्यो । 

महासङ्घले सरकारी विज्ञापन सरकारी सञ्चार माध्यामलाई मात्र दिने केन्द्र सरकारले चैत १८ गते जारी गरेको परिपत्रले प्रेस स्वतन्त्रता र नीजि सञ्चार माध्यमको अस्तित्वमाथि प्रतिकुल असर गर्ने भन्दै निर्णय फिर्ता लिन आग्रह गरेको छ । यसले सञ्चारकर्मीको पेसागत सुरक्षा मात्र नभई सञ्चार माध्यमको अस्तित्वनै सङ्कटमा परेको महासङ्घका सचिव आशिष रेग्मीले बताउनुभयो । 

महासङ्घले जिल्ला समन्वय प्रमुखमार्फत जिल्लाका सरकारी कार्यालय, सबै पालिकामार्फत प्रकाशन प्रशारण हुने सूचना, विज्ञापनमा सहजिकरण गरिदिन आग्रह गरेको छ । ज्ञापन पत्र बुझ्दै समन्वय प्रमुख विश्वकर्माले कार्यालयको तर्फबाट समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो ।