मस्को, वैशाख १५ गते। रूसी विदेश मन्त्रालयले युरोपेली युनियनले लगाएको नवीन प्रतिबन्धको प्रतिक्रियामा मस्कोले युरोपेली युनियन (इयू)का अधिकारीलाई रूसी क्षेत्र प्रवेश गर्न प्रतिबन्ध लगाएको घोषणा गरेको छ ।
युक्रेनलाई सैन्य सहायता दिने निर्णयमा संलग्न युरोपेली संस्था र इयू सदस्य राष्ट्रका प्रतिनिधिको प्रवेशमा मस्कोले प्रतिबन्ध लगाएको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत पुष्टि गरेको छ । मन्त्रालयले इयूको प्रतिबन्ध नवीकरण निर्णयको प्रतिक्रियामा, रूसी पक्षले इयूसँग सम्बन्धित संस्था, इयूका सदस्य राष्ट्र, र धेरै युरोपेली प्रतिनिधिसहितको प्रतिबन्ध सूची विस्तार गरेको जनाएको छ ।
यसै गरी प्रतिबन्ध सूचीमा युरोपेली युनियनसँगको समन्वय तथा युक्रेनलाई सैन्य सहयोग गर्ने निर्णयमा संलग्न अन्य धेरै युरोपेली देशका प्रतिनिधिलाई समावेश गरी विज्ञप्ति जारी गरिएको जनाइएको छ । यस अघि अप्रिल २३ मा इयूले रूसविरुद्ध २० औं प्रतिबन्धको नवीकरण गरेको थियो । रासस/क्युएनए