शालिग्राम नेपाल
चितवन, वैशाख १५ गते । घर नभएका विपन्न चेपाङ समुदायका लागि चितवनको इच्छाकामना गाउँपालिकाले आवास सुविधा प्रदान गर्न थालेको छ । आर्थिक रूपमा कमजोर यस समुदायको सङ्ख्या धेरै रहेको इच्छाकामना गाउँपालिकामा अहिलेसम्म ८० वटा घर निर्माण भइसकेका छन् ।
पालिकाका सातवटै वडामा ती घरहरू निर्माण गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घर नहुनेहरूका लागि स्थानीय सरकार अभिभावक हो भन्ने सन्देश दिन घर निर्माण गरेका हौँ । निर्माण सम्पन्न भएका घरहरू विपन्न, आर्थिक रूपमा कमजोर तथा घरविहीन परिवारलाई वितरण गरिसकेका छौँ ।”
चेपाङ आवास कार्यक्रममार्फत घर निर्माण गरी वितरण गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । चालु आर्थिक वर्षमा थप १० वटा घर निर्माण भइरहेको छ । उहाँका अनुसार ७० लाख रुपियाँ लगानीमा निर्माणाधीन ती घरहरू टिनले छाइएको र स्थानीय सामग्री प्रयोग गरी दुई कोठे बनाइएका छन् । एक परिवार बस्न उपयुक्त तथा भूकम्प प्रतिरोधात्मक संरचनामा घर निर्माण गरिएको उहाँले बताउनुभयो ।
यसअघि निर्माण भएका ८० वटा घरमा करिब ५ करोड रुपियाँ लगानी भएको उहाँको भनाइ छ । ती घरहरू पालिकाकै लगानीमा निर्माण भएका हुन् । यससँगै प्रदेश सरकारको लगानीमा पनि यस वर्ष १० वटा घर निर्माण भइरहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । प्रदेश सरकारबाट ४० लाख रुपियाँ लगानीमा निर्माण भइरहेका ती घरहरू चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने तयारी रहेको छ ।
नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले अति विपन्न समुदायका लागि आवास कार्यक्रममार्फत घर निर्माण हुनु सरकार भएको अनुभूति गराउने कदम भएको बताउनुभयो । “चेपाङ समुदाय सामाजिक, राजनीतिक र आर्थिक रूपमा धेरै पछाडि परेको वर्ग हो । पहाडी क्षेत्रमा जङ्गली कन्दमूल र स्थानीय अन्नमा निर्भर भएकाले आर्थिक अवस्था कमजोर छ,” उहाँले भन्नुभयो । विपन्न वर्गको पहिचान गरी आवासको व्यवस्था गर्नु सकारात्मक कदम भएको उल्लेख गर्दै उहाँले चेपाङ समुदायलाई थप अवसर उपलब्ध गराउनुपर्ने माग गर्नुभयो ।
इच्छाकामना गाउँपालिका–६ का वडाध्यक्ष लक्ष्मण चेपाङले अवसर पाएपछि चेपाङ समुदायले राम्रो काम गर्न सक्ने बताउनुभयो । पालिकाको वडा नं. ६ र २ मा चेपाङ समुदायको सङ्ख्या बढी रहेको जनाउँदै उहाँले सबै वडामा समानुपातिक रूपमा घर निर्माण गरी वितरण गर्दै आएको जानकारी दिनुभयो ।