सुजन बज्राचार्य
सङ्खुवासभा, वैशाख १५ गते । सङ्खुवासभाको सदरमुकाम खाँदबारी बजारमा आधुनिक ढल व्यवस्थापन आयोजना तीव्र गतिमा अघि बढिरहेको छ । खाँदबारी ढल व्यवस्थापन आयोजना अन्तर्गत हालसम्म करिब ३० प्रतिशत काम सम्पन्न भएको जनाइएको छ ।
बढ्दो जनसङ्ख्या चापसँगै फोहोरमैला व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएपछि खाँदबारी नगरपालिकाको पहलमा सङ्घीय सरकारको सहकार्यमा आयोजना कार्यान्वयनमा ल्याइएको हो । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, धनकुटाले २०८२ असारमा ठेक्का आह्वान गरी एमएमसिआरएसएनएस जेभी निर्माण कम्पनीसँग १८ करोड २३ लाख रुपियाँमा सम्झौता गरेको हो ।
नगर प्रमुख महेश थपलियाका अनुसार खाँदबारीको दीर्घकालीन ढल व्यवस्थापनका लागि कुल ७१ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । उहाँले क्रमागत रूपमा बजेट सुनिश्चित गर्दै आयोजना अघि बढाइएको बताउनुभयो । पहिलो चरणमा १८ करोड २३ लाख रुपियाँ लागतमा निर्माण कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । यस आयोजनालाई नगरपालिकाको गौरवको योजना मानिएको छ ।
आयोजना अन्तर्गत खाँदबारी बजारदेखि नगरपालिका–९, सुकेचौरसम्म करिब आठ किलोमिटर क्षेत्रमा भूमिगत पाइपलाइन विस्तार भइरहेको छ । भानुचोक, जिल्ला समन्वय क्षेत्र हुँदै विभिन्न बस्ती पार गर्दै ढल प्रशोधन केन्द्रसम्म पाइप जडान गरिनेछ । पाइप करिब डेढ मिटर गहिराइमा राखिने भएकाले प्रणाली दीर्घकालीन रूपमा सुरक्षित र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
ढल सङ्कलन तथा व्यवस्थापनलाई व्यवस्थित बनाउन प्रत्येक २५ मिटरमा ३४० भन्दा बढी म्यानहोल निर्माण गरिने छ । साथै, प्रशोधनका लागि १४ वटा ट्याङ्की निर्माण गर्ने योजना रहेको छ । घरघरबाट निस्कने फोहोर पानी ती ट्याङ्कीमार्फत विभिन्न चरणमा प्रशोधन गरी वातावरणमैत्री रूपमा बिसर्जन गरिने जनाइएको छ ।
निर्माण कम्पनीका प्रतिनिधि मिलन गौतमका अनुसार तोकिएको समय सीमाभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य अनुसार काम भइरहेको छ । हालसम्म करिब ३० प्रतिशत काम सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो । प्रशोधनपछि निस्कने पानी पिउनबाहेक कृषि तथा सिँचाइमा उपयोग गर्न सकिने बताइएको छ ।
ढुङ्गेधारा–ठुलोपाखा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दिव्यराज श्रेष्ठले फोहोर व्यवस्थापनमा सुधार देखिन थालेको बताउनुभयो । उहाँका अनुसार पहिले अव्यवस्थित फोहोर ढुवानीका कारण बाटोमा फोहोर खस्ने तथा ल्यान्डफिल क्षेत्रमा दुर्गन्ध र झिँगा फैलिने समस्या थियो । अहिले स्रोतमै फोहोर छुट्याएर व्यवस्थापन गर्न थालेपछि सुधार भएको उहाँको भनाइ छ ।
सुकेचौर क्षेत्रमा करिब ७५ रोपनी जग्गामा ढल प्रशोधन केन्द्र निर्माण भइरहेको छ । उक्त जग्गा नगरपालिकाले यसअघि नै ल्यान्डफिल साइट तथा ढल व्यवस्थापनका लागि अधिग्रहण गरेको हो । आयोजनाबाट करिब ८०० घरपरिवार प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।
नगरपालिकाका अनुसार आगामी वर्ष भानुचोकभन्दा माथिल्लो क्षेत्रसम्म ढल विस्तार गर्ने योजना रहेको छ । आयोजना २०८४ असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसले खाँदबारीको सरसफाइ, स्वास्थ्य तथा वातावरणीय सुधारमा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ ।