रामकृष्ण बोहरा
बागलुङ, वैशाख १५ गते । बागलुङ नगरपालिका–१४, नारायणस्थान स्वास्थ्य चौकीको भवन ११ महिनामा सम्पन्न गर्ने गरी निर्माण सुरु गरिएको भए पनि दुई पटक म्याद थपिँदा समेत हालसम्म केवल ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।
समयमै भवन निर्माण नसकिँदा तीन दशकअघि बनेको जीर्ण भवनबाट जोखिम मोलेर सेवा दिनुपर्ने बाध्यता कायम रहेको छ । चार वर्षअघि न्यूनतम सेवा मापदण्ड (एमएसएस) मा ८० अङ्क प्राप्त गरी उत्कृष्ट बनेको स्वास्थ्य चौकी अहिले ९२ अङ्क प्राप्त गरे पनि नयाँ मापदण्ड अनुसार सेवा विस्तार गर्न नसक्दा उत्कृष्टता कायम गर्न सकेको छैन ।
२०८० वैशाखमा ११ महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने गरी डि एन्ड जी प्रसाद संयुक्त निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो । तर दुई पटक म्याद थपिए पनि काम पूरा हुन सकेको छैन ।
“भवन अहिलेसम्म ६५ प्रतिशत मात्र सम्पन्न भएको छ । बाहिरी संरचना केही बने पनि भित्री काम धेरै बाँकी छ,” बागलुङ नगरपालिकाका इन्जिनियर सोबिन घर्तीले भन्नुभयो ।
राष्ट्रिय योजना आयोगको एक करोड ७८ लाख रुपियाँ लागतमा निर्माण सुरु गरिएको भवन समयमा सम्पन्न नभएपछि आयोगले ९० लाख रुपियाँ मात्र भुक्तानी गरेको थियो । बाँकी रकम फ्रिज भएको बताइएको छ । स्वास्थ्य मन्त्रालयबाट विनियोजित ३८ लाख रुपियाँ भुक्तानी भइसकेको छ भने बाँकी ५८ लाख रुपियाँ नगरपालिकाको जिम्मामा रहेको छ ।
निर्माण कम्पनीले भने बजेट अभावका कारण काम ढिलाइ भएको दाबी गर्दै आएको छ । “भुक्तानीमा समस्या आएपछि काम ढिलो भएको हो । नगरपालिकाले बाँकी रकम उपलब्ध गराएमा समयमै काम सम्पन्न गर्न सकिन्छ,” ठेकेदार गौरीशङ्कर प्रधानले भन्नुभयो ।
बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले पटक–पटक ताकेता गर्दा पनि ठेकेदारले बेवास्ता र अटेरी गर्दै आएको बताउनुभयो । निर्माण व्यवसायीकै लापरबाहीका कारण समयमा काम सम्पन्न नभएर संरचना जीर्ण बन्दै गएको उहाँको भनाइ छ ।
भवन अभावका कारण सेवा प्रभावकारी बन्न नसकेको स्वास्थ्य चौकीका इन्चार्ज जनस्वास्थ्य निरीक्षक ऋषिराम शर्माले गुनासो गर्नुभयो । “साँघुरो र जीर्ण भवनबाट चाहेर पनि प्रभावकारी सेवा दिन सकिएको छैन,” उहाँले भन्नुभयो, “ठाउँ अभावमा डेङ्गी र हात्तीपाइलेका बिरामीलाई गोप्य रूपमा राखेर उपचार गर्नुपरेको छ ।” स्वास्थ्य चौकीबाट गत वर्ष चार हजार तीन सय बिरामीले सेवा लिएका छन् ।
भवन बनेपछि एक जना मेडिकल अफिसर थप गरी सेवा विस्तार गर्ने वडा कार्यालयले नगरपालिकामा प्रस्ताव गरेको छ । निर्माण सम्पन्न गराउन स्वास्थ्यचौकी व्यवस्थापन समितिले १३ वटा बैठक बसेर पटक–पटक पत्राचार गरे पनि काम सम्पन्न हुन नसकेको वडाध्यक्ष चक्रबहादुर खत्रीले बताउनुभयो ।