गजेन्द्र गुरुङ
खजुरा, वैशाख १५ गते । बाँकेको कोहलपुर नगरपालिकाले वडावासीका लागि विभिन्न रोगको पहिचान गर्न निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
नगरपालिकाले सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको प्राविधिक र विशेषज्ञ सहयोगमा ‘समुदायस्तरमा रोग पहिचान र निदानका लागि स्वास्थ्य शिविर कार्यक्रम’ सञ्चालन गर्न लागेको हो ।
३० वर्ष उमेर समूह माथिका नागरिकहरुमा उच्च रक्तचाप, मधुमेह, मुटुरोग, स्वास प्रस्वाससम्बन्धी दीर्घ रोग, मिर्गौलासम्बन्धी रोगहरु, थाइराइड, बाथरोग लगायतका नसर्ने रोगहरु र स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर र अन्य स्त्रीरोग क्यान्सर लगायतका रोगहरुको विशेषज्ञ चिकित्सकसहितको टोलीले निःशुल्क स्क्रिनिङ सेवा प्रदान गरिने नगरपालिकाले जनाएको छ ।
साथै स्वास्थ्य शिविरमा निःशुल्क भिडिओ एक्सरे तथा निःशुल्क औषधी समेत वितरण गरिने जनाइएको छ । नगरपालिकाका अनुसार नगरका १५ वटै वडामा शिविर सञ्चालन गरिने छ । वैशाख १७ गतेदेखि सुरु हुने शिविर जेठ ३० गतेसम्म सञ्चालन हुनेछ ।
वैशाख १७ गते १५ नम्बर वडास्थित नगर स्वास्थ्य प्रवर्धन केन्द्र, १८ गते १४ नम्बर वडास्थित आधारभूत स्वास्थ्य केन्द्र, २० गते १३ नम्बर वडास्थित श्री नेपाल राष्ट्रिय मावि, २२ गते वडा नम्बर १२ स्थित आधारभूत स्वास्थ्य केन्द्र, २६ गते वडा नम्बर ९ स्थित आधारभूत स्वास्थ्य केन्द्र, २९ गते वडा नम्बर १० स्थित आधारभूत स्वास्थ्य केन्द्रमा स्वास्थ्य शिविर सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।
त्यसैगरी जेठ १ गते वडा नम्बर ८ स्थित आधारभूत स्वास्थ्य केन्द्र, २ गते वडा नम्बर ७ स्थित वडा कार्यालय, ८ गते वडा नम्बर ६ स्थित आधारभूत स्वास्थ्य केन्द्र, ९ गते वडा नम्बर ५ स्थित आधारभूत स्वास्थ्य केन्द्र, १५ गते वडा नम्बर ४ स्थित रझेना स्वास्थ्य चौकी, १६ गते वडा नम्बर ३ स्थित आधारभूत स्वास्थ्य केन्द्र, २० गते वडा नम्बर २ स्थित आधारभूत स्वास्थ्य केन्द्र, २३ गते वडा नम्बर १ स्थित श्री कृष्ण मावि र ३० गते वडा नम्बर ११ स्थित नगर अस्पतालमा स्वास्थ्य शिविर सञ्चालन हुने जनाइएको छ ।
नगरपालिकाले ३० वर्षमाथिका सम्पूर्ण सर्वसाधारण नागरिकलाई उक्त स्वास्थ्य शिविरमा सहभागिता जनाइ निःशुल्क स्वास्थ्य सेवा लिन आग्रह गरेको छ ।