• १५ वैशाख २०८३, मङ्गलबार

रेडियो नेपाल जाँदाको अनुभव

blog

रेडियो भनेको रेडियो तरङ्गको प्रयोग गर्ने दूरसञ्चारको प्रविधि हो । रेडियो प्रविधि वायरलेस अर्थात् बेतार भन्ने गरिन्थ्यो । रेडियो तरङ्ग एक इलेक्ट्रोनिक उपकरणद्वारा उत्पन्न हुन्छ, जसलाई एन्टेनामा जडान गरिएको ट्रान्समिटरद्वारा तरङ्ग प्रसारित गर्छ र रेडियो रिसिभरमा जडान गरिएको अर्को एन्टेनाद्वारा प्राप्त गरिन्छ ।

रेडियोको आविष्कारसँग गुग्लिएल्मो मार्कोनी नाम जोडिएको छ । उनी इटालीका वैज्ञानिक आविष्कारक थिए । हेनेरिज हर्जले पत्ता लगाएको विद्युत् चुम्बकीय तरङ्गको प्रयोग गरेर तारबिनै सन्देश पठाउने प्रविधिको अनुसन्धान गरे । सन् १८९० तिर उनले पहिलो पटक तारबिना सन्देश पठाउन सफल भए । मार्कोनीले मोर्स कोडको प्रयोग गरी सन्देश पठाउने प्रणालीको विकास गरे, जसले समुद्रपारिसमेत सन्देश पठाउन सम्भव बनायो । सन् १९०२ मा उनले अटलान्टिक महासागर पार गरेर पहिलो पटक रेडियोबाट सन्देश पठाउन सफल भए । रेडियोको आविष्कार गरेबापत उनलाई नोबेल पुरस्कार प्रदान गरियो ।

नेपालमा रेडियोको इतिहास राजनीतिक परिवर्तनसँग जोडिएको छ । विसं २००७ मा प्रजातान्त्रिक आन्दोलनको समयमा ‘प्रजातन्त्र नेपाल रेडियो’ नामक रेडियोबाट पहिलो पटक प्रसारण गरिएको मानिन्छ । यस रेडियोले जनतालाई राजनीतिक चेतना फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । त्यो रेडियोले जनतालाई समाचार, विचार र सन्देश सजिलै पाउन मद्दत ग¥यो । जसका कारण सामाजिक र राजनीतिक परिवर्तनमा सहयोग पुग्यो । 

यही प्रजातन्त्र नेपाल रेडियो नामपछि नेपाल रेडियो हुँदै रेडियो नेपाल भयो । यो नाम हालसम्म नै कायम छ । रेडियो नेपाल, नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालयको स्वामित्वमा सञ्चालित सरकारी रेडियो प्रसारण सेवा हो । यसको स्थापना विसं २००७ चैत २० गते भएको हो । रेडियो नेपाल नेपालकै पहिलो राष्ट्रिय प्रसारण संस्था हो । सुरुमा यसको प्रसारण सीमित क्षेत्रमा मात्र भए पनि विस्तारै देशभर फैलियो । रेडियो नेपाल र नेपाल टेलिभिजन दुवै सार्वजनिक सेवा प्रसारण नेपाल अन्तर्गत रहेका छन् । रेडियो नेपालले समाचार, सङ्गीत, शैक्षिक कार्यक्रम सांस्कृतिक कार्यक्रम र जनचेतनामूलक सामग्री प्रसारण गर्दै आएको छ । रेडियो नेपालको प्रसारण अनलाइन, स्थानीय स्टेसन र मोबाइल एपमार्फत उपलब्ध छ । रेडियो नेपाल ७४ वर्ष पुरानो भए पनि यसले हाम्रो जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । 

म रेडियो नेपालको स्टुडियो हेर्न केही महिना अगाडि मेरो बुवासँग गएकी थिएँ । यो सिंहदरबारभित्र रहेको छ । त्यहाँ मैले धेरै स्टुडियो देखेँ । यस्ता स्टुडियोमा बाहिरको हल्ला नसुनिने खालका हुने रहेछन् । मैले त्यहाँ काम गर्ने अङ्कल आन्टीलाई रेडियोका बारेमा सोध्दा उहाँहरूले मलाई रेडियो भनेको के हो, कसरी काम गर्छ भन्ने कुरा प्रस्ट भाषामा बुझाउनुभयो । त्यहाँ मैले ‘लाइभ रेकर्डिङ’ भइरहेको कार्यक्रम पनि देखेँ । त्यहाँ एउटा ठुलो स्टुडियो कोठामा विभिन्न प्रकारका बाजाहरू पनि देखेँ । मैले बुवाको मोबाइलबाट त्यहाँ धेरै तस्बिर पनि खिचेँ । 

रेडियो नेपालको भ्रमण गर्दा मैले रेडियोका बारेमा धेरै नयाँ कुरा जानेँ, बुझेँ र सिकेँ । मेरो जीवनमा निकै नयाँ र भुल्न नसक्ने अनुभवका रूपमा रहेको छ । रेडियोले आज पनि गाउँ गाउँसम्म समाचार, सूचना, गीत, सङ्गीत र सन्देश पु¥याइरहेको छ । इन्टरनेट नभएका ठाउँमा समेत रेडियोले सूचना दिने काम गरिरहेको छ । त्यसैले रेडियो पुरानो भए पनि कहिल्यै पुरानो नहुने माध्यम हो भन्ने मलाई लाग्यो ।   

 मुना