नेत्र शाही
जुम्ला, वैशाख १५ गते । जुम्लामा एक हप्ते निःशुल्क वृहत् योग तथा ध्यान शिविर सुरु भएको छ । चन्दननाथ नगरपालिका जुम्ला र चन्दननाथ योग साधना केन्द्र जुम्लाको आयोजनामा टुडिखेल मैदानमा उक्त योग तथा ध्यान शिविर सञ्चालन गरिएको हो ।
स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरिएको यो शिविर वैशाख १५ देखि २१ गतेसम्म सञ्चालन हुने जनाइएको छ । शिविरमा हरेक दिन बिहान ५ देखि ७ बजेसम्म योग तथा ध्यान अभ्यास गराइनेछ ।
सहभागीहरूलाई दक्ष योगगुरुबाट योग अभ्याससँगै हवन चिकित्सा, जडीबुटी युक्त काढा तथा सिलाजित सेवन गराइनेछ । साथै निःशुल्क स्वास्थ्य परीक्षणसमेत गरिने चन्दननाथ योग साधना केन्द्र जुम्लाका मुख्य योगगुरु नन्दप्रसाद चौलागाईंले जानकारी दिनुभयो ।
उहाँका अनुसार यसअन्तर्गत रक्तचाप, मधुमेह, सुगर जाँच, उचाइ तथा तौल मापन तथा स्वस्थ जीवनशैली सम्बन्धी परामर्श सेवा प्रदान गरिँदैछ ।
आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाका अनुसार यसका लागि दुईवटा स्वास्थ्य जाँच स्टेसनको व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिकसहित अन्य सहभागीका लागि व्यक्तिगत सरसफाइ प्रवद्र्धन गर्न निःशुल्क दाह्री–कपाल काट्ने सेवा पनि उपलब्ध गराइएको छ ।
शिविरमा सहभागीलाई गेडागुडीबाट तयार गरिएको क्वाँटी तथा अमृत भोजन वितरण गरिँदै आएको छ । साथै योग साधना केन्द्रको हलमा जलनेती, कुञ्जल, शंखप्रक्षालन तथा बाफ मसाजजस्ता विविध कार्यक्रम सञ्चालन भइरहेका छन् ।
शिविरको पहिलो दिन दर्जनौँ स्थानीयवासी तथा सरोकारवाला निकायको सहभागिता रहेको थियो । आयोजकले जुम्लाका योगप्रेमी तथा सर्वसाधारण नागरिकलाई शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिन आग्रह गरेका छन् ।
आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाले चन्दननाथ नगरपालिकासँगको समन्वयमा प्रत्येक वर्ष यस्तो शिविर सञ्चालन गर्दै आएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी मिनबहादुर रावलले योग तथा ध्यानले मानव स्वास्थ्यमा महत्वपूर्ण योगदान पुर्याउने भएकाले जुम्लामा यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।