• १५ वैशाख २०८३, मङ्गलबार

बाँकेका १४ वनमा डढेलो, चार हजार पाँच सय हेक्टर प्रभावित

blog

बाँकेका वन क्षेत्रमा डढेलो नियन्त्रणका लागि बनाइएको फायर लाइन । तस्बिरः सिराज खान

सिराज खान
नेपालगन्ज, वैशाख १५ गते ।
बाँकेका दुई चक्ला वनसहित १४ वटा सामुदायिक वनमा डढेलो लाग्दा करिब चार हजार पाँच सय हेक्टर वन क्षेत्र प्रभावित भएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।

डिभिजन वन कार्यालय बाँकेका निमित्त प्रमुख सुशील सुवेदीका अनुसार गत एक सातादेखि जिल्लाका विभिन्न वन क्षेत्रमा सुरु भएको डढेलोले ठुलो क्षति पुर्‍याएको छ । उहाँले चार हजार पाँच सयभन्दा बढी हेक्टर क्षेत्रफल प्रभावित भएको बताउनुभयो ।

वन डढेलोका कारण ती वनहरूमा रहेका वन्यजन्तुको बासस्थान समेत जोखिममा परेको र नियन्त्रण प्रयास जारी रहेको उहाँले जानकारी दिनुभयो ।

निमित्त प्रमुख सुवेदीका अनुसार शम्शेरगन्ज माथेमा चक्ला वन, भुवरभवानी चक्ला वन, झिँझरी महिला सामुदायिक वन, राप्ती पीडित गुलरी सामुदायिक वनलगायत १४ वटा सामुदायिक वनमा डढेलो लागेको छ । बाहिरी भागका केही स्थानमा डढेलो नियन्त्रणमा आए पनि भित्री भाग र अग्ला भूभागमा लागेको डढेलो नियन्त्रणमा आउन नसकेको उहाँले बताउनुभयो ।

हाल वन कार्यालयसँग रहेको दुई हजार लिटर पानी क्षमताको ट्याङ्कर र १४ जनाको डढेलो नियन्त्रण दस्ताले राजमार्ग आसपासका क्षेत्रमा मात्र आगो नियन्त्रण गर्न सकिएको कार्यालयले जनाएको छ ।

जनशक्ति र स्रोतसाधनको कमीका कारण समयमै डढेलो नियन्त्रण हुन नसक्दा क्षति बढ्दै गएको सुवेदीले बताउनुभयो । उहाँका अनुसार जिल्लामा १४ जनाको डढेलो नियन्त्रण दस्ता परिचालन गरिएको छ ।

बाँकेमा करिब ५० हजार हेक्टर वन क्षेत्र रहेको उल्लेख गर्दै उहाँले वनको भित्री भागसम्म पुग्न सक्ने दमकल आवश्यक रहेको बताउनुभयो ।

बढ्दो खडेरीका कारण वनभित्रको डढेलो अझ फैलिने खतरा रहेको र केही दिनभित्र वर्षा नभए अवस्था झन् जटिल हुने उहाँले चेतावनी दिनुभयो ।

डिभिजन वन कार्यालयले डढेलो नियन्त्रणका लागि निरन्तर चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको र सामुदायिक वन उपभोक्ता तथा पदाधिकारीलाई तालिम समेत दिँदै आएको जनाएको छ ।