• २३ असार २०८२, सोमबार

प्रजातन्त्रका सत्र वर्ष

blog

शब्दकोशमा ‘गणतन्त्र’ को अर्थ स्थानीय तहदेखि केन्द्रीय तहसम्म जनताद्वारा निर्वाचित प्रतिनिधिबाट सञ्चालित राजनीतिक व्यवस्था वा जनतन्त्र भनी लेखिएको पाइन्छ । नेपालमा राजतन्त्र हटाई गणतान्त्रिक व्यवस्था लागु भएको १७ वर्ष भएको छ । नेपालमा सङ्घीय (केन्द्रीय) सरकार, सात वटा प्रदेश सरकार र ७५३ स्थानीय तह (सरकार) छन् । 

दोस्रो जनआन्दोलन, २०६२/६३ बाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । जनआन्दोलनपछि संविधान सभा गठन भयो । संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र भनी घोषणा गरेको थियो । सो घोषणासँगै २३८ वर्ष लामो शाहवंश राजतन्त्रको अन्त्य भएको थियो । त्यसयता हरेक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसका रूपमा मनाइँदै आएको छ । संविधान सभाबाट जारी भएको नेपालको संविधान (२०७२) अनुसार सङ्घीयता कार्यान्वयन भइरहेको छ ।

नेपालको प्रामाणिक प्राचीन इतिहासको सुरुवात किराँतकालबाट भएको हो । किराँतका पहिलो राजा यलम्बर हुनुहुन्थ्यो । उहाँले देशको प्रशासनिक व्यवस्थाको आरम्भ गर्नुभएको थियो । किराँतभन्दाअघि गोपाल वंश, महिषपाल वंशको शासन थियो । किराँत शासकलाई हराएर लिच्छवि शासन व्यवस्था स्थापित भएको थियो । लिच्छविकालपछि मल्लकाल आएको थियो । मल्लहरूको शासन व्यवस्था काठमाडौँ उपत्यकाकेन्द्रित थियो । अन्ततः उपत्यकालाई तीन राज्यमा विभाजन गरेपछि मल्ल शासक कमजोर हुन गई छिन्नभिन्न हुन पुगे । गोरखाका राजा पृथ्वीनारायण शाहले देशको एकीकरण गर्नुभयो । त्यहीँबाट शाहवंशीय शासन व्यवस्था लागु भएको थियो । शाहवंशका राजाले श्री ५ पदवी धारण गरेका थिए । 

शाहवंशको शासनकालमा जङ्गबहादुर कुँवर (राणा) प्रधानमन्त्री बन्नुभयो । त्यसपछि उत्तराधिकारी प्रधानमन्त्री बन्ने नियम बसाइयो । त्यसका लागि रोलक्रम जारी गर्ने नियम बनाइयो । इतिहासमा त्यस कालखण्डलाई ‘जहानियाँ राणाशासन’ भनिन्छ । जहानियाँ शासनविरुद्ध क्रान्ति भयो । गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्रीले ज्यानको आहुति दिनुभयो । उहाँहरू सहिद हुनुभयो । क्राान्तिमा होमिएका कैयौँ नेता तथा जनताका छोराछोरीले सर्वस्वसहित जेलनेल भोग्नु पर्‍यो । अन्ततः १०४ वर्षपछि २००७ सालमा राणाशासनको अन्त्य भयो । नेपालमा पहिलोपटक प्रजातन्त्र स्थापना भयो । 

२०१७ सालमा राजा महेन्द्रले प्रजातान्त्रिक व्यवस्थामा प्रतिबन्ध लगाएर पञ्चायती व्यवस्था सुरु गर्नुभयो । पञ्चायती व्यवस्थाविरुद्ध चरणबद्ध क्रान्ति भयो । कैयौँले सहादत पाए भने सयौँ जना जेलनेल भोगे । अन्ततः २०४६ सालको जनआन्दोलनबाट पञ्चायती व्यवस्था खारेज भयो । बहुदलीय संवैधानिक राजतन्त्र लागु भयो । २०४७ सालमा नयाँ संविधान जारी भयो । फेरि २०५२ फागुनदेखि माओवादी जनयुद्ध सुरु भयो । १० वर्षे जनयुद्धमा विद्रोही पक्ष र राज्य पक्षका गरी १७ हजारभन्दा बढीले ज्यान गुमाए । यसैबिचमा २०५८ जेठ १९ गते राजा वीरेन्द्रसहित सम्पूर्ण परिवारको नारायणहिटी दरबारभित्र हत्यो भयो ।

त्यसपछि ज्ञानेन्द्र शाह राजा बन्नुभयो । जनताले उहाँको शासनलाई रुचाएनन् । दोस्रो जनआन्दोलन २०६२/६३ का कारण राजा ज्ञानेन्द्रले राजगद्दी त्याग्न बाध्य हुनु पर्‍यो । दोस्रो जनआन्दोलनको उपलब्धि भनेकै सधैँका लागि राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना हुनु हो । जनताले चुनेका जनप्रतिनिधिमार्फत राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री हुने व्यवस्था छ । जनताका छोराछोरी मुलुकको सर्वोच्च पदमा रहन पाउने व्यवस्था गणतन्त्रबाट सम्भव भएको हो । 

गणेश राई   

  मुना